२०८१ पुष ४ गते १६:३० विकासन्युज
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूर्ण चुनौति रहेको बताएकी छन् ।
बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
उनले अनुसन्धान परियोजनाहरूका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताइन् । नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरिन् । उनले दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।
नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन् । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको जानकारी दिइन् ।
‘दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण छ । हामीसँग रहेको इन्जिनियर्स नलेजलाई हामीले विज्ञानसँग कसरी जोड्ने भन्ने आवश्यकता छ’, उनले भनिन् ।
मन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरूको आविष्कारमा निर्भर रहेको बताइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.