२०८१ पुष ४ गते १७:२६ विकासन्युज
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको दावी गरेका छन् ।
बिहीबार काठमाडौंमा इप्पानले २५औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
उनले नेपाल जलविद्युतको धनी देश, विद्युत उत्पादनको प्रचुर सम्भावना भए पनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको दावी गरे ।
उनले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए । उनले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले विद्युत निर्यातको लागि भारत र बंगलादेशसँग सम्झौता भए पनि विद्युत उत्पादनको लागि कुनै पनि काम अघि बढ्न नसकेको उल्लेख गरे। उनले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न माग गरे ।
उनले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भए पनि सार्वजनिक लेखा समितिले आईपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइदैन भनेर लगाम लगाउनु जायज नभएको बताए ।
‘नेपाल जलविद्युतको धनी देश, विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश तर हामीले अहिलेदेखि लोडसेडिङ भोग्ने हो कि भन्न थालेका छौँ । भारतले विद्युत नदिने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्छ‚’ उनले भने, ‘१२ महिना मुलुकलाई लोडसेडिङमुक्त गर्न के गर्नुपर्छ भनेर खोज्नुपर्ने दिन आएको छ । विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएको छ तर अगाडि बढ्न सकेको छैन। विद्युत उत्पादनको लागि पीपीए रोकेर बसेको छ ।’
उनले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताए । उनले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारी निकायहरुले लगानी गर्नबाट रोकिरहेकाले त्यसो नगर्न माग पनि गरे।
Copyright © 2024 Bikash Media Pvt. Ltd.