२०८१ पुष ५ गते १२:१० विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । उक्त जमातले नै लोडसेडिङको हल्ला फैलाएको उनकाे भनाइ छ ।
उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।
घिसिङले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्योगीहरूले त्यही व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए ।
‘तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ । नेपालयको पूर्वाधार क्षेत्रमा ठूल्ठूला विकासका परियोजनाहरूको काम भइरहेको छ, बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत क्षेत्रको ठूलो विकास हुनेवाला छ । यसका लागि ठूलो लगानी आवश्यक छ । हाम्रा ठूला परियोजनहरुका लागि वैदेशिक लगानी चहिन्छ । लोडसेडिङले उद्योगीहरूको प्रोडक्टिभिटीमा कमी आएको कुरा आएको छ, ’ उनले भने ।
उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरूले दिनुको विकल्प नभएको उल्लेख गरे ।
घिसिङले दुई-चार घण्टा बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए । उनले २४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टाभन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए ।
उनले पूर्वधार विकासको मुख्य मेरुदण्ड जलविद्युत रहेको पनि उल्लेख गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.