खर्च गर्ने पैसा नहुँदा अमेरिकामा फेरि पनि शटडाउन हुँदै, ट्रम्पले ल्याएको बिल भएन पास

  २०८१ पुष ५ गते १३:३३     विकासन्युज

काठमाडौं । संयुक्त राज्य अमेरिका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारसँग सरकारी कर्मचारीलाई तलब दिन पर्याप्त रकम छैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारका लागि कोष जुटाउन समर्थन गरेको विधेयक बिहीबार राति अमेरिकी संसदमा पास हुन सकेको छैन । यसबाट बच्न अमेरिकासँग २४ घण्टाभन्दा कम समय बाँकी छ ।

खासमा अमेरिकी संसदमा बिहीबार राति सरकारी शटडाउनबाट बच्न एक बिल ल्याइएको थियो । उक्त विधेयकलाई ट्रम्पको समर्थन थियो । विपक्षी डेमोक्र्याट सांसदहरूले यो विधेयकको विरोध गर्दै विपक्षमा मतदान गरे । फलस्वरूप यो विधेयक संसदमा पारित हुन सकेन ।

डेमोक्र्याटहरू ट्रम्पलाई उनको नयाँ कार्यकालको पहिलो वर्षमा कुनै पनि वार्ताको लाभ दिन चाहँदैनन् । सोही कारण उनीहरूले यो विधेयकको विरोध गरेका हुन् । ट्रम्प रिपब्लिकन पार्टीबाट विजयी भएका थिए ।

ट्रम्पका सांसदले पनि गरे विरोध

यस विधेयकको विपक्षी डेमोक्र्याट सांसदहरूले मात्रै होइन, ट्रम्पका केही सांसदहरूले पनि विरोध गरेका थिए । यो विधेयक संसदमा १७४-२३५ को अन्तरले अस्वीकृत भएको थियो । ट्रम्पको रिपब्लिकन पार्टीका ३८ सांसदले पनि यो विधेयकको विरोध गरेका छन् ।

यो विधेयक पास गर्न किन महत्त्वपूर्ण ?

खासमा अमेरिकालाई आफ्नो खर्च पूरा गर्न फण्ड चाहिन्छ । यो फण्ड ऋण लिएर पूरा गरिन्छ । यसका लागि अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभमा एउटा विधेयक ल्याइएको छ । हालको विधेयक ट्रम्पले ल्याएका थिए, जसलाई विपक्षीहरूले अस्वीकार गरे । यसको सीधा अर्थ यो हो कि अमेरिकाले खर्च गर्न पैसा पाउने छैन । यो पैसाबाट अमेरिकाले सरकारी कर्मचारीलाई तलब मात्रै दिँदैन, अन्य खर्च पनि गर्न पाउँछ ।

विधेयक पारित गर्न शुक्रबार रातिसम्मको समय

यो विधेयक पारित गर्न शुक्रबार रातिसम्म मात्र समय छ । अर्थात् अमेरिकी सरकारसँग २४ घण्टा आफ्नो खर्च चलाउन पनि पैसा छैन । यदि यो पारित भएन भने अमेरिका ठूलो समस्यामा पर्नेछ । यसको अर्थतन्त्रमा ठूलो नोक्सानी हुनेछ । यसको सबैभन्दा ठूलो असर ट्रम्पमा नै पर्नेछ ।

के छ विधेयकमा ?

ट्रम्पले जनवरी २० बाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन् । यस्तो अवस्थामा सरकार चलाउन पैसा चाहिन्छ । यस विधेयकमा मार्चसम्म खर्चका लागि अमेरिकी सरकारलाई रकम दिनुपर्ने लेखिएको छ । यस विधेयकले प्रकोप राहतमा १०० बिलियन डलर पनि प्रस्ताव गरिएको छ । साथै ऋणको सीमा दुई वर्ष बढाउने लक्ष्य पनि राखिएको छ ।

असर के होला ?

विधेयक पास भएन भने सम्पूर्ण संघीय सञ्चालन ठप्प हुन सक्छ । २० लाखभन्दा बढी सरकारी कर्मचारीले तलब पाउने छैनन् र उनीहरूलाई बिदामा पठाइनेछ । धेरै संस्थाहरू अस्थायी रूपमा बन्द हुनेछन् । यसले अमेरिकाको एयरपोर्टहरूमा ट्राफिक धेरै बढ्नेछ ।

यसैगरी, संघीय सरकारलाई खर्च कटौती गर्न र गैर-आवश्यक सरकारी कर्मचारीहरूलाई अवकाश दिन बाध्य पार्नेछ । यस्तो अवस्थामा  शान्ति सुरक्षा कायम गर्ने अत्यावश्यक निकायका कर्मचारीले मात्रै काम गर्छन् ।

 यसभन्दा पहिला कहिले भएको थियो शटडाउन ?

सन् १९९५-१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको समयमा २१ दिन शटडाउन भएको थियाे ।

२०१३ मा राष्ट्रपति बराक ओबामाको समयमा १६ दिनको शटडाउन भएको थियो ।

२०१८-२०१९ राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा ३५ दिन शटडाउन भएको थियो, जुन सबैभन्दा लामो शटडाउन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.