सहकारी बैंकका ६ जना सञ्चालक बर्खास्त, ७ जनाको समिति बनाउन राष्ट्र बैंकको निर्देशन

  २०८१ पुष ५ गते १४:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले सातजना सञ्चालकलाई पदबाट हटाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै छजना सञ्चालकलाई सञ्चालकबाट हटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष केबी उप्रेतीसँगै सञ्चालकहरू रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट हटाएको हो ।

बैंकको नवनियुक्त अध्यक्ष महेन्द्र गिरीका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन पालना गरेर उनीहरूलाई पदबाट राजीनामा माग गरेको जानकारी दिए ।

‘राष्ट्र बैंकले ६ जना सञ्चालकलाई छिटो हटाउन निर्देशन दिएको थियो, हामीले राष्ट्र बैंकको निर्देशन पालना गरेका हौं,’ उनले भने, ‘साथीहरूले पनि सहयोग गर्नुभयो ।’

गिरीका अनुसार जीसी र मानन्धरले राजीनामा दिएका थिए । अन्यलाई भने राष्ट्र बैंकको निर्देशनअनुसार नै पदबाट बर्खास्त गर्नु परेको हो । उनीहरू आवद्ध संस्थाले बैंकको ऋण भुक्तान नगरेको कारण राष्ट्र बैंकले सञ्चालकबाट हटाउन निर्देशन दिएको थियो ।

बैंक सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती सहकारीको बचत ठगीको आरोपमा हाल पुर्पक्षका लागि थुनामा छन् । उप्रेती अध्यक्ष रहेको तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारी मिलेर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यी सहकारी संस्थाले बैंकको करिब ६० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको बुझिएको छ ।

राष्ट्र बैंकले राष्ट्रिय सहकमारी बैंकलाई ७ जनाको मात्रै सञ्चालक समिति बनाउन पनि निर्देशन दिएको बुझिएको छ । चार जना सहकारी संस्थाबाट निर्वाचित तथा दुई जना सर्वसाधारणबाट र एक जना विज्ञ गरी कुल ७ जनाको सञ्चालक समिति बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, बैंकले भने ११ जनाको कार्यसमितिका लागि अनुरोध गरेको बुझिएको छ ।

१५ जनाको सञ्चालक समिति रहेको बैंकमा ६ जनालाई सञ्चालक समितिबाट हटाएपछि हाल बैंकको सञ्चालक समितिमा ९ जना रहेका छन् । अब विनियमावली संशोधनपछि के-कस्तो व्यवस्था हुन्छ सोही व्यवस्थाअनसार अगाडि बढ्ने तयारी राष्ट्रिय सहकारी बैंकको छ ।

अध्यक्ष जेलमा, सीईओ चेपुवामा

One comment on "सहकारी बैंकका ६ जना सञ्चालक बर्खास्त, ७ जनाको समिति बनाउन राष्ट्र बैंकको निर्देशन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.