२०८१ पुष ५ गते १५:३२ विकासन्युज
चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गरे ।
भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३/०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरू तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधि अनुसार केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ४ वटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरु पुरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।
विसं २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन् ।
उनले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरू लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गरिन् । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उनले जानकारी दिइन् । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरू, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उनको भनाई छ।
उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताए ।
घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.