२०८१ पुष ६ गते ११:४७ विकासन्युज
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शतप्रतिशत योगदान दिने बताएका छन् । कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे ।
यस्तै, जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताउँछन् । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले भने ।
खेलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । क्यानकाअनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
जनकपुर र सुदूरपश्चिममध्ये एउटा विजेता र अर्को उपविजेता हुनेछ । तेस्रो कर्णाली याक्स भइसकेको छ भने चौथो चितवन राइनोज भएको छ ।
सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् । शाह अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघको संस्थापक अध्यक्षसमेत हुन् । हाल उनकै नेतृत्वमा सुदूरपश्चिमको धनगढीमा पाँचतारे होटल निर्माणको काम भइरहेको छ । उनी दुई दशक लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । उनले अस्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । उनी कन्सल्टेन्सी सञ्चालकका रुपमा पनि परिचित छन् ।
यस्तै, ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् । उनी पनि उद्योगी नै हुन् । उनको विशाल सिमेन्ट कम्पनी छ । उनी पनि व्यापार र उद्योग क्षेत्रमा सक्रिय छन् । उनको होटलमा पनि लगानी छ । आजको खेल यी दुई व्यवसायीबीचको पनि प्रतिस्पर्धा हो ।
कसले पाउला कार ?
एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार पनि उपहार पाउनेछन् । कार उपहार पाउने खेलाडीको उच्च सम्भावनामा सुदूरपश्चिमका कप्तान अलराउन्डर दीपेन्द्र सिंह ऐरी छन् ।
उनकै नेतृत्वको सुदूरपश्चिमले लिगमा कुल ८ म्याच खेल्दा सातमा जित र एक खेलमा मात्र पराजय बेहोरेको छ । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।
दीपेन्द्रले ८ म्याचमा १६२.६८ को स्ट्राइक रेटमा २ सय १८ रन बनाएका छन् । उनले ६ इनिङ्समा ६.४२ को इकोनमीमा ८ विकेट लिएका छन् ।
कार जित्ने दौडमा जनकपुर बोल्ट्सबाट स्पिनर ललितनारायण राजवंशी पनि छन् । एनपीएलमा सर्वाधिक विकेटकर्ताको सूचीको पहिलो नम्बर वानमा ललित छन् । उनले एनपीएल अवधिभर १६ विकेट लिएका छन् ।
त्यस्तै, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामीलाई पनि कार जित्ने सक्ने सम्भावित सूचीमा राखिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.