सुदूरपश्चिमलाई पराजित गर्दै जनकपुरले जित्यो एनपीएल, १ करोड १० लाख रुपैयाँ पाउने

  २०८१ पुष ६ गते १६:०२     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मद्दतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । जनकपरका ओपनर लाहिरु मिलान्थाले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।

 

बलिङमा सुदूरपश्चिमका सैफ अलि जैब, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३-३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एक-एक विकेट लिए ।

योसँगै जनकपुरले एनपीएलको ट्रफीसहित १ करोड १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.