२०८१ पुष ७ गते १०:०९ नरेन्द्र विष्ट
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय वरपर राहदानी (पासपोर्ट) बनाउने युवाले खचाखच भरिएको छ । युवा मुलुक छोडेर काम र पढाइका लागि विदेसिन भन्दै राहदानी बनाउने लाइनमा छन् ।
देशमा रोजगारी नपाएर परिवार र जन्मभूमि छोडेर विदेसिने युवाहरू दिनप्रतिदिन बढ्दै छन् । कतिपयले देश छोडर परदेशमै स्थायी बसोबासको तादात्म्यता मिलाइरहेका छन् । कतिपय मनग्य कमाएर स्वदेश फर्किने योजना बुन्दैछन् ।
विदेश जानकै लागि पासपोर्ट बनाउनेहरु बिहानै झिसमिसेमा त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर लाइन लाग्छन् । काठमाडौंको नारायणहिटीबाट त्रिपुरेश्वरस्थित सुविधासम्पन्न भवनमा राहदानी विभाग सरेको भएपनि राहादानी बनाउनेको दुःख र सकसमा भने खासै ठूलो परिवर्तन भएको छैन ।
हाल पनि राहदानी विभागमा सेवाग्राहीले पासपोर्ट लिन निकै सास्ती भोग्नुपरेको छ । त्रिपुरेश्वरस्थित विभागबाट राहदानी लिनैका लागि यो पुसको जाडोमा बिहानै ६ बजेदेखि नै सेवाग्राहीको भिड हुने गरेको छ ।
त्रिपुरेश्वरको त्यहीं भीडमा भेटिन्छन्, महेन्द्रनगरका मान धामी । उनले विभाग धाउन थालेको दुई दिन भयो । उनलाई छिटो पासपोट चाहिएको छ । तर उनको हातमा पासपोट परेको छैन ।
‘म आएको पाँच दिन भयो। अझै हातमा पासपोर्ट मिलेको छैन, के गर्ने अब दुई पटक बोलाइसक्यो । प्रिन्टमा हालेको छ भन्छ तर दिएको छैन । भन्नेहरू त पहिलेको भन्दा केही सहज भएको छ भन्छन् । के गर्ने अब धेरै बिजोग भइरहेको छ,’ उनले भने ।
त्यस्तै, दु:ख काठमाडौंका अर्जुन जोशीलाई पनि छ । उनी राहदानी विभाग धाउन थालेको २ दिन भयो । जोशीले गुनासो गर्दै भने, ‘अहिलेसम्म हाम्रो न त पासपोर्ट बनेको छ, न त थाहा छ- कहिलेसम्म बन्छ भनेर ।’
उनीहरू पटकपटक विभागमा पुगेर लाइनमा बस्छन् । पालो आउँदैन । फर्केर जान्छन् । फेरि अर्को बिहान झिसमिसैमा विभागको गेटमा पुग्छन् ।
राहदानी विभागका सूचना अधिकारी किरण गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयमा पर्याप्त मात्रामा आवेदन नदिने गरेका प्रायः सेवाग्राही विभागमै आउने गरेकाले भीड लाग्ने गरेको छ । हरेक दिन विभागमा १ हजारदेखि १४ सयसम्म सेवाग्राही आउने गरेको उनले बताए ।
‘हामीले अनलाइनबाट इनरोल गरेर पालो अनिवार्य लिनुपर्छ । तर, तोकिएको मिति र समयभन्दा अगाडि नै आएर लाइनमा बसेको पनि पाइएको छ । १० बजेदेखि फर्म खुल्छ । आफ्नो पालोमा आएर इनरोलमेन्ट गरे हुन्छ,’ उनले भने ।
हाल कहाँकहाँबाट प्राप्त हुन्छ पासपोर्ट ?
हाल देशभरका सबै जिल्ला प्रशासन कार्यालयका साथै त्रिपुरेश्वरस्थित राहदानी विभाग विभिन्न इलाका प्रशासन कार्यालयबाट पनि राहदानी प्राप्त गर्न सकिन्छ । राहदानी पाउन पहिल्यै अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । समय बुक गर्नु अगाडि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दिई परिचयपत्र नम्बर अनिवार्य लिनुपर्छ ।
विभागका अनुसार सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार तस्बिरलगायत नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब एक साताभित्र नै राहदानी उपलब्ध हुन्छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिनभित्र राहदानी उपलब्ध हुन्छ ।
जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएकाहरूले मोबाइलमा एसएमएस आएपछि मात्र राहदानी लिन जानुपर्छ ।
‘सुरुसुरुमा राहादानीको कामबारे त्यति जानकारी थिएन । पछिल्लो समय बिस्तारै काम गर्दै गइयो । सबै कुरा बुझ्दै गइयो । अहिले पहिलेको भन्दा सेवा छिटो छरितो भएको छ । मापदण्ड पुरानै छ । ठ्याक्कै यही दिन पासपोर्ट पाइन्छ भन्ने हुँदैन । कहिले ढिला पनि हुन्छ, कहिले छिटो पनि हुन्छ,’ राहदानी विभागका सूचना अधिकारी किरण गुरुङले भने ।
विभागका अनुसार हाल देशका ७७ वटै जिल्लाबाट राहदानी वितरण थालिएको छ । तर, सेवाग्राहीको भीड भने काठमाडौंमा घट्ने संकेत देखिँदैन ।
राहादानी दस्तुरसम्बन्धी व्यवस्था
राहादानी नियमावली, २०७७ को अनुसुची ४ मा उल्लेख गरेको छ । नियम ६ को उपनियम ४ बमोजिम राहादानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा ५ हजार र छैसट्ठी पृष्ठको हकमा १० हजार दिनुपर्ने व्यवस्था थियो ।
यस्तै, नियम ६ को उपनियम (४) बमोजिम राहादानीका लागि विभागमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा १२ हजार र छैसट्ठी पृष्ठको हकमा २० हजार दिनुपर्ने व्यवस्था थियो । यसलाई नेपाल सरकार परराष्ट्र मन्त्रालय राहादानी नियमावली, २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची (४) लाई संशोधन गरी नियम हेरफेर गरेको थियो ।
यो नियम नेपाल सरकारको मन्त्रिपरिषद्ले गत २०८० साल जेठ २४ गतेको निर्णय उक्त नियम हेरफेर गरेको थियो।
विभागले २०८० असार ३ गतेदेखि सेवाग्राहीले विभागबाट ६६ पृष्ठको राहदानी लिँदा १२ हजार र जिल्लाबाट लिँदा ५ हजार दस्तुर तिर्नुपर्ने गरी मूल्य परिवर्तन गरेको थियो।
हाल जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा ५ हजार र छैसट्ठी पृष्ठको हकमा पनि ५ हजार दिनुपर्ने व्यवस्था गरेका छ । यस्तै, विभागमा निवेदन दिँदा चौतिस पृष्ठको हकमा १२ हजार तथा छैसट्ठी पृष्ठको हकमा पनि १२ हजार लिने मन्त्रिपरिषदको बैठकले राहदानी नियमावली २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरिएको उल्लेख छ।
राहदानीको अन्य दस्तुर भने परिवर्तन भएको छैन।
हालसम्म कतिले बनाए पार्सपोट ?
हाल पासपोर्ट बनाउने संख्या उच्च छ । २०६७ सालदेखि ८१ मंसिरसम्ममा विभाग, जिल्ला तथा सेनाको मिसन गरी कुल १ करोड ३३ लाख ९ हजार १६ जनाले पासपोर्ट लिएको राहादानी विभागले जनाएको छ ।
आव २०८१/०८२ मा विभागबाट १ लाख ३३ हजार ९ सय ८० जना र जिल्लाबाट २ लाख ७८ हजार ५ सय ४१ जना तथा सेनाको मिसनका लागि १ लाख ३९ हजार ८ सय ५३ गरी कुल ५ लाख ५२ हजार ३ सय ७४ जनाले पासपोर्ट बनाएका छन् ।
यस्तै, गत आव २०८०/०८१ मा विभागबाट ३ लाख ४६ हजार १ सय ६० जना, यस्तै जिल्लाबाट ८ लाख ६० हजार ६१ र सेनाको मिसनका लागि ३ लाख २० हजार ८ सय २९ गरी कुल १४ लाख ७३ हजार ५० जनाले पासपोर्ट बनाएका थिए ।
यस्तै, आव २०७९/०८० मा विभागबाट ३ लाख ४४ हजार ५ सय ४१ जना र जिल्लाबाट ९ लाख ४२ हजार ४८ त्यसैगरी सेनाको मिसनका लागि १ लाख ७६ हजार ८ सय ५५ गरी कुल १४ लाख ६३ हजार ४ सय ४४ जनाले पासपोर्ट बनाएका छन् ।
गत आव २०७८/०७९ मा विभागबाट २ लाख १६ हजार ८ सय ९२ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट २ लाख १९ हजार ३ सय १९ जनाले लिएका थिए । सेनाको मिसनका लागि ४१ हजार ७ सय ८४ जना गरी जम्मा ४ लाख ७७ अजार ९ सय ९५ जनाले लिएका थिए ।
गत आव २०७६/०७७ मा विभागबाट १ लाख ४१ हजार ३ सय ५ जनाले पासपोर्ट लिएका थिए । यस्तै सबै जिल्लाबाट २ लाख ४४ हजार ५ सय ८७ जनाले लिएका थिए । सेनाको मिसनका लागि १२ हजार ९ सय ५० जना गरी जम्मा ३ लाख ९८ हजार ८ सय ४२ जनाले लिएका थिए।
गत आव २०७५र०७६ मा विभागबाट १ लाख ७१ हजार २ सय ६७ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ३ लाख ३३ हजार ६२ जनाले लिएका थिए । सेनाको मिसनका लागि १० हजार ८ सय १७ जना गरी जम्मा ५ लाख १५ हजार १ सय ४६ जनाले लिएका थिए।
गत आव २०७४/०७५ मा विभागबाट १ लाख ८९ हजार ६ सय ३५ जनाले पासपोर्ट लिएका थिए । सबै जिल्लाबाट ३ लाख २८ हजार ६ सय ५५ जनाले लिएका थिए । सेनाको मिसनका लागि १३ हजार ३ सय ४३ जना गरी ५ लाख ३१ हजार ६ सय ३३ जनाले लिएका थिए।
गत आव २०७३/०७४ मा विभागबाट १ लाख ९२ हजार ३ सय ७५ जनाले पासपोर्ट लिएका थिए । यस्तै सबै जिल्लाबाट ३ लाख ४४ हजार ५ सय ६४ जनाले लिएका थिए । सेनाको मिसनका लागि २० हजार २ सय ४९ जना गरी जम्मा ५ लाख ५७ हजार १ सय ८८ जनाले लिएका थिए।
गत आव २०७२/०७३ मा विभागबाट २ लाख ६९ लाख ९ सय ४४ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ४ लाख ७३ हजार ७ सय ७५ जनाले लिएका थिए । सेनाको मिसनका लागि १ लाख २६ हजार ६ सय ७ जना गरी जम्मा ८ लाख ७० हजार ३ सय ४६ जनाले लिएका थिए।
गत आव २०७१/०७२ मा विभागबाट ४ लाख ५२ हजार १ सय ५५ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ५ लाख ४२ हजार ४ सय ९ जनाले लिएका थिए । सेनाको मिसनका लागि ३ लाख ४२ हजार २ सय ७४ जना गरी जम्मा १३ लाख ३६ हजार ८ सय ३८ जनाले लिएका थिए।
गत आव २०७०/०७१ मा विभागबाट ४ लाख ५० हजार ६ सय ७१ जनाले पासपोर्ट लिएका थिए। यस्तै, सबै जिल्लाबाट ४ लाख २६ हजार ३ सय ८० जनाले लिएका थिए । सेनाको मिसनका लागि १ लाख ३५ हजार ६ सय ८८ जना गरी जम्मा १० लाख १२ हजार ७ सय ३९ जनाले लिएका थिए।
गत आव २०६९/०७० मा विभागबाट २ लाख २९ हजार ४ सय ४ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ३ लाख ४ हजार ५ सय ४९ जनाले लिएका थिए । सेनाको मिसनका लागि ३४ हजार १ सय ७४ जना गरी जम्मा ५ लाख ६८ हजार १सय २७ जनाले लिएका थिए।
गत आव २०६८/०७९ मा विभागबाट २ लाख ६ हजार ६ सय ३९ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट १ लाख ९५ हजार ५ सय १० जनाले लिएका थिए । सेनाको मिसनका लागि ५ हजार ३ सय ८३ जना गरी जम्मा ४ लाख ७ हजार ५ सय ३२ जनाले लिएका थिए ।
गत आव २०६७/०६८ मा विभागबाट १ लाख ६२ हजार ५ सय ५८ जनाले पासपोर्ट लिएका थिए । यस्तै, सबै जिल्लाबाट ९ हजार ठ सय ४७ जनाले लिएका थिए । सेनाको मिसनका लागि १ हजार ४ सय ५७ जना गरी जम्मा १ लाख ७३ हजार ७ सय ६२ जनाले लिएका थिए । विभाग, जिल्ला तथा सेनाको मिसन गरी कुल ६३ लाख ७२ हजार १ सय ५३ जनाले लिएका थिए ।
आकर्षक आम्दानी
विभागले वार्षिक आम्दानी पासपोर्ट वितरण र सिफारिस गरेवापत ६ अर्ब ६५ लाख रुपैयाँ संकलन गरेको जानकारी दिएको छ । यस्तै, राहदानीसम्बन्धी सबै शीर्षकबाट उक्त रकम संकलन भएको गुरुङको भनाइ छ ।
श्रम विभागका अनुसार विदेशिने युवाको संख्या ह्वात्तै बढेको छ । गत वर्षमात्रै विदेसिने युवाको संख्या ७ लाख ४१ हजार २ सय ९७ रहेको थियो भने चालु आर्थिक वर्षको हालसम्म ३ लाख ५३ हजार १ सय ६३ जना विदेसिएका छन् ।
यसरी हेर्दा विकसित देशहरूमा असल भविष्य हुन्छ भन्ने मान्यताले पछिल्लो समय युवालाई तानेको देखिन्छ । शिक्षा, स्वास्थ्य र रोजगार सजिलो र गुणस्तरीय भएकाले सहज जीवनशैलीका लागि नेपाली युवा विदेसिने अभ्यास बढेको जानकारहरु बताउँछन् ।
अधिकांश नेपाली विदेशै बस्ने गरेका छन् भने कतिपय स्वदेश पनि फर्किरहेका छन् । तर, यसको कुनै तथ्यांक सरकार छैन । कुन देशमा कति नेपाली छन् भन्ने विषयको यथेष्ठ जानकारी पनि सरकारसँग छैन ।
के भन्छन् विदेशिने युवा ?
बैतडीको दोगडाकेदार- १ का ४ युवा एकैसाथ कार्तिकको पहिलो साता कामका लागि यूरोपेली देश रोमानिया प्रस्थान गरे । देशमा बसेर उन्नति गर्न नसकिने निर्णयसहित अध्ययन, व्यवसाय र जागीर छोडेर उनीहरूले सात समुद्रपारि पसिना बगाउने निधो गरेका हुन्।
तिनैमध्येका एक शमशेर विष्टको चाहना यूरोपमा पछिसम्म स्थायी रूपमा बस्न पाइने अनुमति पनि पाइन्छ कि भन्नेमा छ । देश छोड्नुअघि उनले भनेका थिए, ‘भाग्यले साथ दिए रोमानियाबाट यूरोपको अर्को देश छिर्छु, स्थायी आवास अनुमति (पीआर) पाइएला नि !’
यस्तै, धनगढीका किशोर साउदको दैनिकी खल्तीमा हात हालेर यताउता बरालिएर बित्छ । बेरोजगार उनी अहिले पासपोर्ट वैदेशिक रोजगार व्यवसायीलाई बुझाएर विदेशिने दिनको पर्खाइमा छन् ।
‘यता के गरेर बस्ने ? भएका साथीभाइ जति सबै विदेश गइसके, नेपालमा कामै छैन,’ उनी भन्छन् ।
पछिल्लो समय विद्यालय शिक्षा (कक्षा १२) सक्नेबित्तिकै युवाको ध्यान उच्च शिक्षा हासिल गर्नेतिर नभएर, विदेश गएर कमाउनेतिर गइरहेको देखिन्छ ।
देशमा भविष्य नदेखेर बाहिरिँदै
श्रम विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार देशमा रोजगारी सिर्जना तथा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिँगो तन्नेरी पुस्ता नै विदेसिन थालेको हो । जसकारण गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् भने कलेज-विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ ।
‘न त युवा जमात देशमा भविष्य देख्छ, न त बाबुआमा नै उनीहरूलाई यो मुलुकमा राख्न चाहन्छन्,’ ‘उनी भन्छन्, ‘यस्तो लाग्छ कि सिँगो देश नै विदेश गइरहेको छ ।’
गत कात्तिकमा बैतडीको दोगडाकेदारका चार युवा एकैसाथ यूरोपतिर लागे । उनीहरु अब सकेसम्म उतै स्थायी रुपमा बस्ने योजनामा छन् । स्वदेश छोडर विदेश पुगेका उनीहरुको चाहना उतै बस्नेछ ।
पछिल्लो समय विद्यालय शिक्षा (कक्षा १२) सक्नेबित्तिकै युवाको ध्यान उच्च शिक्षा हासिल गर्नेतिर नभएर विदेश गएर कमाउनेतिर गइरहेको देखिन्छ । यसले सिँगो देशको भविश्यमाथि पनि प्रश्न उठाइरहेको छ ।
पूर्वश्रमसचिव केवल भण्डारी युवाले नयाँ अवसर खोज्नु स्वाभाविक भएको बताउँछन् । युवाको आधारभूत चरित्र नै अवसर खोज्दै हिँड्ने भएकाले राम्रो भविष्यका लागि युवाले नेपाल छाड्न खोज्नु स्वाभाविक भएको उनको तर्क छ ।
‘नेपालमा भविष्य नै नभएको होइन । तर, युवाले स्वदेशमा काम गर्न नचाहेको हो, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना भएको छैन, आर्थिक अवस्था कमजोर छ, नेपालमा रोजगारी भए पनि पैसा धेरै नहुँदा युवाहरू नेपाल बस्न चाहँदैनन्, ‘ उनी भन्छन्, ‘जो कोहीलाई पनि भोलिको दिन राम्रो होस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ ।’
युवा नेपालबाट बाहिरिने र श्रम बेच्न मात्रै नहिँडेका पूर्वश्रमसचिव भण्डारीको दाबी छ । विदेशबाट ज्ञान सीप सिकेर दक्ष भएर नेपाल पनि फर्किएको उनी बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.