२०८१ पुष ७ गते १५:१५ बबिता तामाङ
काठमाडौं । पछिल्लो समय लगानीकर्तामा वित्तीय साक्षरताको ज्ञान बढ्दै गएको भएपनि क्लोजआउटमा परी जरिवाना तिर्ने संख्यामा भने कमी आउन सकेको छैन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म ३४ करोड ९३ लाख ७ हजार ५३४ रुपैयाँ बराबरको सेयर क्लोजआउटमा परेको छ । उक्त रकम बराबरको सेयर क्लोजआउटमा पर्दा लगानीकर्ताबाट ६ करोड ९८ लाख ६१ हजार रुपैयाँ पेनाल्टी (जरिवना) संकलन गरेको सिडिएससीले जनाएको छ ।
पछिल्लो समय वित्तीय सचेतनाका गतिविधि बढेको भएपनि क्लोजआउटमा परी जरिवानामा भने घटेको देखिदैँन । पाँच महिनामै क्लोजआउटमा पर्नेको संख्यामा उच्च वृद्धि भएको सिडिएससीको भनाइ छ । पाँच महिनाको तथ्यांक हेर्ने हो भने चालु आवको अन्त्यसम्ममा क्लोजआउटमा परी जरिवाना तिर्नेको संख्या बढदै जाने देखिन्छ ।
जबकी गत आर्थिक वर्ष २०८०/८१ भरीमा ३३ करोड २६ लाख ३५ हजार ६३८ रुपैयाँ बराबरको सेयर क्लोजआउटमा परेको थियो भने सिडिएससीले लगानीकर्ताबाट ६ करोड ६५ लाख २७ हजार रुपैयाँ जरिवना उठाएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्ताहरूको ४८ करोड ९४ लाख ७४ हजार रुपैयाँको सेयर क्लोजआउटमा पर्दा ९ करोड ७८ लाख ९४ हजार रुपैयाँ जरिवाना तिरेको सिडिएसीको तथ्यांक छ । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताले ४ करोड १७ हजार रुपैयाँ बराबरको पेनाल्टी तिरेका थिए । उक्त वर्ष २० करोड ८९ लाख २८६ रुपैयाँ बरारको सेयर क्लोजआउटमा परेको थियो ।
के हो क्लोजआउट ?
सेयर लगानीकर्ताले सामान्यभन्दा सामान्य कुरामा ध्यान नपु¥याउँदा ठूलो घाटा व्योहोर्नुपर्ने हुन्छ । जान÷अञ्जान र आफ्नै हेलचक्राईँले गर्दा लगानीकर्ताले जरिवानासमेत तिर्नुपर्ने हुन्छ । जसलाई क्लोजआउट भनिन्छ ।
धितोपत्र कारोबारको राफसाफ तथा पछ्र्यौट विनियमाली, २०६९ अनुसार सेयर बिक्रेताले आफूले बिक्री गरेको सेयर समयमै ईडीआईएस (ट्रान्सफर) गर्नुपर्ने हुन्छ । यदि समयमै सेयर ट्रान्सफर नगरे क्लोजआउटमा परिन्छ । कुनै सेयर राफसाफ समयमै बुुझाउन सकेन भने त्यसको २० प्रतिशत पेनाल्टी क्लोजआउटवापत् तिनुपर्ने हुन्छ ।
सिडिएसका कामुमुकायम प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटा लगानीकर्ताले सेयर कारोबारपछि समयमै सेटलमेन्ट नगर्दा क्लोजआउटमा पर्ने गरेको बताउँछिन् । ‘कति लगानीकर्तालाई सेयर कारोबारपछि सेटलमेन्ट गर्नुपर्र्छ भन्ने ज्ञान हुँदैन, कतिले विर्सेका हुन्छन्, यी कारणले क्लोजआउटमा परिन्छ, उनले भनिन् ।’
यसबाहेक बिक्रेताले आफ्नो टिएमएस सिस्टममा कति सेयर छ भन्ने हेक्का नराखी सेयर बिक्री गर्दा क्लोजआउटमा परिन्छ । सिडिएसका अनुसार पुराना भन्दा नयाँ लगानीकर्ताहरु बढी क्लोजआउटमा पर्ने गरिन्छ ।
धितोपत्र कारोबारको राफसाफ तथा पछ्र्यौट विनियमालीमा क्लोजआउटबारे स्पष्टसँग व्याख्या गरिएको छ । उक्त विनियमालीको परिच्छेद ४ को १९ र २० मा यसबारे व्याखा गरिएको छ । जसअनुसार सिडिएएसले नै क्लोजआउट गर्न सक्ने व्यवस्था गरिएको छ ।
क्लोजआउट समाधानका लागि अक्सन मार्केट
क्लोजआउट समस्याको उपयुक्त विकल्पको रुपमा अक्सन मार्केटलाई लिने गरेको छ । विकसित मूलुकहरुमा यो मार्केट सञ्चालनमा भएपनि नेपालमा भने यो अभ्यासमा आइसकेको छैन । क्लोजआउटको समस्या समाधानको लागि अक्सन मार्केट चाहिने र त्यसको सेटलमेन्टको लागि विनियम संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको लामो समय बित्दा पनि यसमा कुनै कदम अघि बढ्न सकेको छैन । नेप्सेले अक्सन मार्केट सञ्चालनको लागि पाँच वर्षभन्दा अघि कार्यविधिको मस्यौदा तयार गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पठाएको थियो । तर आजको मितिसम्म स्वीकृत हुन सकेको छैन । सिडिएसका कामुमुकायम अनुसार अक्सन मार्केटसम्बन्धमा पछिल्लो समय केही पनि काम अघि बढ्न सकेको छैन ।
यस्तै नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि अहिलेसम्म कुनै प्रगति नभएको बताए । बोर्डले स्वीकृत दिएको अवस्थामा जतिबेला पनि अक्सन मार्केट सञ्चालनको लागि नेप्से तयारी अवस्थामा रहेको उनले बताए ।
अक्सन मार्केट सम्बन्धमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले वेवास्ता गर्दै आइरहेको छ । बोर्डका प्रवक्ता निरञ्जय घिमिरे अक्सन मार्केट स्वीकृति दिने सम्बन्धमा छिट्टै नै प्रक्रिया अघि बढाउने बताए । ‘भर्खरै मात्रै बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुनुभएको छ । अध्यक्ष नहुँदा ठप्प कामहरु अब विस्तारै सुचारु हुने क्रममा छन् । अक्सन मार्केटको सन्र्दभमा पहिला धेरै काम भइसकेको छ, अब स्वीकृति दिने कि नदिने भन्ने बारेमा भने पछि नै थाहा हुन्छ ।’
के हो अक्सन मार्केट ?
दोस्रो बजारमा लिलामीमार्फत सेयर किन्न पाइने विधि नै अक्सन मार्केट हो । अर्थात सेयर बजारमा कारोबारकै दिन आफ्नो धितोपत्र हस्तान्तरण गर्न नसकिएको अवस्थामा वा सेटलमेन्ट गर्न विर्सिएको बेलामा अक्सन मार्केटबाट खरिद गरी शेयर हस्तान्तरण गर्ने नैे अक्सन मार्केट हो । अक्सन मार्केटमा सामान्यतया लगानीकर्ता सहभागी हुँदैनन् । यसमा कारोबारी सदस्य सहभागी हुन्छन् ।
अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले निश्चित मापदण्ड तोकेको हुन्छ । अक्सन मार्केटमा भएको कारोबारको राफसाफ टि प्लस एक दिनमभित्रै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसबाहेक अक्सन मार्केट सञ्चालनमा आउँदा लगानीकर्ताले बेचेको सेयरको पैसा ढिला पाउने समस्याको पनि समाधान हुन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.