१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउन राष्ट्र बैंकले फेरि अघि बढायो प्रक्रिया

  २०८१ पुष ७ गते १५:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्ने प्रक्रिया पुनः अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्मबाट विभिन्न १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउन नेपाल राष्ट्र बैंकले पुनः बोलपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकले बैंकहरूको लेखापरीक्षण गराउन इच्छुक विदेशी लेखापरीक्षक कम्पनीलाई बोलपत्र पेश गर्न आह्वान गरेको हो । यसअघि बैंकहरूको लेखापरीक्षण गर्न छनोट भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो ।

लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएकाले छनोट प्रक्रिया रद्द गरेको राष्ट्र बैंकको भनाइ छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा ठूला बैंकको लेखापरीक्षण गर्न लागेको हो । आईएमएफसँगको शर्तअनुसार बैंकहरूले कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् र लोन पोर्टफोलियो रिभ्यूको अध्ययन गर्न लेखापरीक्षण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक योग्यता, अनुभव र क्षमता भएका लेखापरीक्षक कम्पनीले पुस २२ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । छनोट गर्दा व्यक्ति वा संस्थाको योग्यतालाई ५० प्रतिशत, अनभुवलाई ४० प्रतिशत र क्षमतामा १० प्रतिशतसम्म अंक प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, सर्टलिष्टमा पर्न भने ६० अंक ल्याउनुपर्ने हुन्छ ।

राष्ट्र बैंकले यअसघि बोलपत्र आह्वान गर्दा नेदरल्याण्ड, भारत र पाकिस्तानका लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका थिए ।

नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षण सर्टलिष्ट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.