२०८१ पुष ७ गते १७:०२ विकासन्युज
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ११ अर्ब बढीको विद्युतीय सवारी (ईभी) आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बढीको ४ हजार ६९७ वटा कार, जीप र भ्यान आयात भएको हो ।
उक्त सवारीहरू आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
कुन देशबाट कति आयात ?
भन्सार विभागका अनुसार सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन् । कुल आयातको ७६.४१ प्रतिशत ईभी चीनबाट आयात भएका हुन् ।
चीनबाट ५० किलोवाटभन्दा कम क्षमताका ८५४ वटा, ५१ देखि १०० किलोवाट क्षमताका २ हजार २९७ वटा, १०१ देखि २०० किलोवाटका ४६० वटा, २०१ देखि ३०० किलोवाट क्षमताका ३ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वाटा ईभी आयात भएका छन् ।
चीनबाट कुल ३ हजार ५८९ वटा इभी आयात भएका हुन् ।
यसैगरी, भारतबाट १ हजार ९६ वटा ईभी आयात भएका छन् । जसमध्ये ५० किलोवाटसम्मका ६३६ वटा र ५१ देखि १०० किलोवाटसम्मका ४६० वटा ईभी भारतबाट आयात भएका छन् ।
जर्मनीबाट १०१ किलोवाट देखि २०० किलोवाटसम्मका ७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २ वटा गरी कुल ९ वटा ईभी आयात भएका छन् भने अमेरिकाबाट १०१ देखि २०० किलोवाट क्षमता भएका १ वटा र सोहि क्षमता भएको १ वटा ईभी दक्षिण कोरियाबाट आयात भएका छन् ।
कति क्षमताका गाडी धेरै आयात ?
विभागका अनुसार ५१ देखि १०० किलोवाट क्षमताका भएका ईभी धेरै नेपालमा भित्रिएका छन् । पछिल्लो ५ महिनामा ५१ देखि १०० किलोवाट क्षमताका २ हजार ७५७ वटा गाडी नेपाल आयात भएका हुन् ।
यसैगरी, ५० किलोवाटसम्मका १ हजार ४९० वटा, १०१ देखि २०० किलोवाटसम्मका ४४३ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ५ वटा र ३ किलोवाटभन्दा धेरै क्षमता भएका २ वटा ईभी नेपाल आयात भएका हुन् ।
याे पनि ः ईभीमा कर छलीः सरकारसँग छैन क्षमता जाँच गर्ने मेसिन
Copyright © 2025 Bikash Media Pvt. Ltd.