ललितपुर महानगरको एकद्वार सेवा केन्द्र सञ्चालन, शाखा धाउनुपर्ने बाध्यताबाट मुक्ति

  २०८१ पुष ७ गते १८:३०     विकासन्युज

काठमाडौं । सरकारी कार्यालय भन्नेबित्तिकै मान्छेको दिमागमा ढिला सेवा प्रवाह हुने, झन्झटयुक्त ठाउँ भनेर एक किसिमको ‘माइन्ड सेट’ भइसकेको हुन्छ । हुन पनि सरकारी अस्पताल, मालपोत, भन्सार कार्यालय, यातायात, राजश्वलगायत सरकारी कार्यालयमा जानुपर्‍यो भने सेवाग्राहीले विभिन्न झन्झट बेहोर्नु परिरहेको हुन्छ ।

सरकारी कार्यालयमा सानो काम मिलाउन पनि घण्टौं लाइन लाग्नुपर्ने, एउटा शाखाबाट अर्को शाखा धाउनुपर्दा सेवाग्राही आजित हुन्छन् ।

यसरी बाहिर समाजमा सरकारी कार्यालयप्रतिको गलत सन्देशसमेत प्रवाह भइरहेको अवस्थामा ललितपुर महानगरले सेवाग्राहीलाई सहज र छिटो सुविधा दिने हिसाबले नयाँ अभ्यासको थालनी गरेको छ ।

महानगरले १०६ औं स्थापना दिवसको अवसर पारेर एकद्वार सेवा केन्द्रको उद्घाटन गरेको हो । यो सेवा सुरु गर्ने ललितपुर महानगर पहिलो भने होइन । यसअघि काठमाडौं महानगरले पनि यो सेवाको सुरुवात गरिसककेको छ । यसबाहेक विभिन्न नगर, संघसंस्था र सरकारी कार्यालयले पनि यो सञ्चालन गरिरहेका छन् । ललिपुर महानगरका लागि भने यो नयाँ अभ्यासको थालनी हो ।

केन्द्रबाट प्रवाह हुने सेवा

ललितपुर महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईं सेवाग्राहीले महानगरबाट एकै थलोबाट सहजै र छिटो समयमा गुणस्तरीय सेवा प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याएको बताउँछन् । उनका अनुसार अबको २/३ तीनभित्र केन्द्रबाटै सेवाग्राहीले सेवा लिन सक्नेछन् । अहिले केही प्राविधिक काम सम्पन्न हुन बाँकी रहेकोले एक/दुई दिन ढिला हुने उनले बताए ।

यो सेवा सुचारु भएपछि सेवाग्राहीले विभिन्न शाखा धाउनुपर्ने बाध्यता हटेर जाने सूचना अधिकारी गुरागाईंको भनाइ छ । यसबाहेक यो सेवा केन्द्रको सञ्चालनपछि कतिपय काम कार्यालय नै नआइ सेवा लिन सकिने उनले जानकारी दिए ।

उनले भने, ‘एकद्वार सेवा केन्द्रबाट नगरबासीले सबै सेवा एकै थलोबाट प्राप्त गर्न सक्नुहुनेछ । उहाँहरू एकपल्ट यहाँ आउनुभएपछि पटक-पटक कार्यालय धाउनुपर्ने बाध्यता पनि हटेर जानेछ । साथै कतिपय सेवाहरू यहाँ उपस्थित नभई घरबाटै लिन सक्नुहुनेछ ।’

एकद्वार सेवा केन्द्रका प्रमुख अपिन महर्जनका अनुसार सेवाग्राहीलाई सहज रूपले सेवा प्रदान गर्नका लागि टोकन सिस्टमको व्यवस्था गरेको छ । टोकनअनुसार आफ्नो पालो आएपछि सेवाग्राहीले सेवा लिन सक्छन् ।

केन्द्रमा तीनवटा काउन्टर राखिएको छ । पूर्वाधार निर्माण, वित्तीय व्यवस्थापन, प्रशासनिक तथा अन्य । यी तीनवटा काउन्टरबाट सेवाग्राहीले आवश्यकताअनुसारका सेवाहरू लिन सकिने केन्द्रका प्रमुख महर्जनले बताए ।

उनले भने, ‘यो केन्द्रबाट सबै खालका सुविधा हामी सेवाग्राहीलाई दिन्छौं, यसले सेवाग्राही डकुमेन्ट बोकेर विभिन्न शाखाहरू धाउनुपर्दैन । उहाँहरूको डकुमेन्ट हामीकहाँ आएपछि हामी रुजु गर्छौं र यहीबाट समाधान हुने भए त्यतिखेरै जानकारी दिन्छौं, नभएको अवस्थामा हामीले नै डकुमेन्ट सम्बन्धित शाखामा पुर्‍याइदिन्छौं ।’

‘उतिखेरै सक्ने काम भए केन्द्रबाटै जानकारी आउँछ, समय लाग्ने भए कति समय लाग्छ त्यसबारे सेवाग्राहीलाई जानकारी गराइन्छ । यदि २ घण्टा कुर्नुपर्ने अवस्था आयो भने सेवाग्राही यहाँ कुरेर बस्नु परेन, आफ्नो अरू काम गर्न जान सकिन्छ, यसले अर्को काम पनि सक्ने भयो । काम सकेपछि सक्यो भनेर हामी म्यासेज पठाउँछौं, उहाँहरूले आएर आफ्नो डकुमेन्ट लिएर जान सक्नुहुन्छ,’ उनले थपे ।

यो केन्द्र सञ्चालनमा आएसँगै सेवाग्राहीलाई मात्रै नभएर कार्यालयलाई समेत फाइदा पुग्ने केन्द्रका प्रमुख महर्जनको भनाइ छ । उनका अनुसार यो सुविधाले महानगरलाई कुन फाइल कहाँ छ, कहाँ पुग्यो, कति समयदेखि काम रोकेको हो, कहिले सकिन्छलगायतका जानकारी ट्र्याकिङ गर्न सहज हुन्छ ।

शाखाबाट प्रवाह गर्न अनुमति नभएका सेवाहरु पनि सम्बन्धित शाखा/महाशाखामा पठाइदिनेसमेत केन्द्रबाटै हुन्छ । काम सकेपछि म्यासेजमार्फत सेवाग्राहीले खबर प्राप्त गर्नेछन् । यसबाहेक टोल फ्री नम्बर १८१०५०००२३२ बाट पनि सेवाग्राहीले जानकारी लिन सक्छन् ।

केन्द्रका लागि पाँचजना कर्मचारी

एकद्वार सेवा केन्द्रको लागि महानगरले पाँचजना कर्मचारी छुट्याएको छ । तीनजना काउन्टरमा, एक जना फोन उठाउने र अर्को एक जना डकुमेन्ट सम्बन्धित कार्यालयमा पुर्‍याउने गरी हाललाई पाँचजना कर्मचारी राखिएको सूचना अधिकारी गुरागाईंले बताए । आवश्यकताअनुसार पछि बिस्तारै कर्मचारी बढाउने उनको भनाइ छ ।

सेवाग्राहीले सेवा लिने माध्यमहरू

सेवाग्राहीले तत्कालको लागि यो सेवा आफै नै कार्यालयमा भौतिक उपस्थित भएर लिन सक्नेछन् । यसका लागि केन्द्रले उपलब्ध गराएको टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन सक्छन् । यसबाहेक यसबाहेक केन्द्रले उपलब्ध गराएको टोल फ्री नम्बरमा कल गरेर सेवा लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.