२०८१ पुष ७ गते १९:२० विकासन्युज
काठमाडौं । मुलुकमै पहिलो पटक नेपाली चिकित्सकले शरीरमा घाउ नबनाइकन इन्डोस्कोपी प्रविधि (पीओइएम) बाट जटिल शल्यक्रिया गरेका छन् ।
ह्याम्स अस्पतालले भित्र्याएको नयाँ प्रविधि पोएमबाट अकेलेजिया कार्डिया (खाद्य नलीमा खानेकुरा अड्किएर निल्नै गाह्रो हुने समस्या) भएका तीनजना बिरामीको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालले आइतबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै २ जना महिला र १ जना पुरुषको यो प्रविधिबाट सफल शल्यक्रिया गरेको जनाएको छ ।
ह्याम्स अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट रूपमा कार्यरत डा. विवेककुमार पुर्वेको नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए ।
पुर्वेले नेतृत्व गरेको सो शल्यक्रियामा भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. विकास सिंगलको निगरानी तथा ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. नन्दु पौडेल सिलवाल, डा. अजित खनाल तथा एनेस्थेसियोलोजी डा. मुरारी राज उप्रेती र डा. सुरज लामिछाने सहभागी थिए ।
शल्यक्रियापश्चात हाल उनीहरू तीनै जनाको अस्पतालबाट डिस्चार्ज भइसकेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरू तीनै जनाको औषधीको मात्र शुल्क लिएर शल्यक्रिया सित्तैमा गरिएको जनाइएको छ ।
शल्यक्रियाका लागि लागि डा. पूर्वेले चीन गएर २ महिनाको तालिम लिएका थिए । प्रविधि कसरी प्रयोग गर्ने भन्ने विषयमा तालिम लिसकेपछि अब नेपाली चिकित्सकको नेतृत्वले नै शल्यक्रिया सुरु गर्ने अस्पतालले जनाएको छ । डा. पुर्वे इन्डोस्कोपी तथा
ईआरसीपी गर्ने मुलुककै अब्बल ग्यास्ट्रोइन्टरोलोजिस्टमा पर्छन् ।
पुर्वेले हालसम्म ४ हजार भन्दा बढी ईआरसीपी सफलतापूर्वक सम्पन्न गरिसकेकाले उनकै नेतृत्वमा पोएम प्रविधिद्वारा बिरामीहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने अध्यक्ष भण्डारीले बताए । अस्पतालले नेपालमै पहिलो पटक संसारमा विद्यमान नयाँ प्रविधि भित्र्याएर नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्ने अभ्यास गरेको बताएका छ ।
के हो अकेलेजिया कार्डिया ?
यो एक प्रकारको दुर्लभ रोग हो । यो रोग लाग्दा बिरामीलाई खाना निल्न गाह्रो हुन्छ । यो रोगमा खकार र पेटलाई जोड्ने अन्ननलीको तलको माशंपेशी राम्ररी खुल्दैन । जसका कारण व्यक्तिले खाएको कुरा अन्ननलीमै अड्किन्छ । यसलाई सामान्यता अन्ननलीको समस्या भनेर चिनिन्छ ।
नेपालमा पनि यस्तो समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् । यो रोग लाग्दा खाना निल्दा छाती वा घाँटीमा अड्किएको महसुस हुने, पेटबाट खाना फिर्ता आउने, छातीमा जलन वा दुखाइ हुने, तौल घट्ने समस्या देखा पर्छन् । यो रोगको ठोस कारण के हो भन्नेबारे भने यकिन नभएको डा. विवेकले बताए ।
विश्वभरमा करिब १ लाख जनामध्ये एक जनालाई अकेलेजिया कार्डिया हुने गरेको तथ्यांकले देखाएको छ । हालसम्म नेपालमा केही ठूला अस्पतालहरूमा र केही चिकित्सकबाट यस रोगको निदान बेलुन फुलाएर खाद्यनलीको तल्लो भागको हाई टोनमामा खुम्चिएर बसेको मांसपेशीलाई च्यातेर गरिँदै आइएको छ ।
अहिले विश्वमै सर्वोत्तम मानिएको पोएम इन्डोस्कोपी सर्जरी कुनै पनि नेपाली चिकित्सकले आफै गर्ने गरेका थिएनन् ।
पीओइम प्रविधि के हो ?
यो एक प्रकारको अत्याधुनिक इन्डोस्कोपी उपचार हो । जुन अकेलेजिया कार्डिया भएका बिरामीहरूको उपचारका लागि प्रयोग गरिन्छ । यसलाई सरल तरिकामा भन्दा शरीरमा कुनै पनि ठूलो घाउ नबनाएर अथवा बिरामीहरूलाई कष्ट नदिएर गरिने उपचार विधि हो ।
जसमा कुनै ठूलो घाउ नबनाई सानो प्वाल बनाएर इन्डोस्कोपी प्रयोग गरेर उपचार गरिन्छ । अकेलेजिया कार्डिया उपचार गर्दा सबैभन्दा पहिले इन्डोस्कोपीको प्रयोग गरेर अन्ननलीको मांशपशी काटिन्छ । जसले अन्ननलीको तल्लो भाग (लोवर इसोफेगल स्फिन्कटर )लाई रिल्याक्स गराएर खाना निल्न सजिलो बनाउँछ ।
यो प्रविधिबाट उपचार गर्दा सबैभन्दा पहिले बिरामीलाई एनेस्थेसिया दिइन्छ । त्यसपछि मुखबाट पाइप हालेर अन्ननलीभित्र लैजान्छ । त्यसपछि अन्ननलीको भित्तामा सानो चिरा बनाएर समस्या भएको मांशपेशीलाई काटिन्छ र त्यो भागलाई पछि सिलाएर प्रक्रिया पुरा गरिन्छ ।
इन्डोस्कोपी सर्जरी विश्वमै पहिलो पटक जापानको टोकियोमा डा. हाराहिरो ईनाइले सन् २००८ मा सफलतापूर्वक सम्पन्न गरेका थिए । त्यसपश्चात अमेरिकन ग्यास्ट्रोइन्टेरोलोजीकल एशोसिएसनले समेत यस पद्धतिलाई अकेलेजिया कार्डियाको सर्वोत्तम उपचार पद्धतिको रूपमा मान्यता दिएको थियो । तत्पश्चात यस प्रविधिको विश्वव्यापीकरण भएको हो ।
यो विधि पश्चिमी मुलकमा समेत सबै अस्पतालहरूमा उपलब्ध छैन । निश्चित ठाँउहरूमा मात्रै उपलब्ध छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.