एक समय ‘स्पेसएक्स’ बचाउन मस्कले गाडी बेचे, अहिले संसारकै मूल्यवान स्टार्टअप कम्पनी

  २०८१ पुष ८ गते १२:३०     विकासन्युज

काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कको अटो कम्पनी टेस्लाको बारेमा धेरैलाई थाहा छ । यो संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । यसको मार्केट क्याप लगभग १.४ ट्रिलियन डलर छ, जुन विश्वव्यापी अटो उद्योगको लगभग आधा हो ।

तर मस्कको अर्को कम्पनी स्पेसएक्स संसारको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी बनेको छ । यसको मूल्य ३५० बिलियन पुगेको छ । मस्कले मंगल ग्रहमा मानिस पठाउने सपना देखेका थिए र यही मिसनका साथ उनले २००२ मा स्पेसएक्स स्थापना गरेका थिए ।

मस्क रकेट व्यवसायको बादशाह बन्न चाहन्छन् र यसमा उनी धेरै हदसम्म सफल पनि भएका छन् ।

यस कम्पनीको नाममा धेरै रेकर्डहरू छन् र अन्तरिक्ष उद्योगमा स्पेसएक्स ठूलो नामको रूपमा उभिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आज आफ्ना अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउन स्पेसएक्सका रकेटहरू प्रयोग गरिरहेको छ । तर यहाँसम्म आउन स्पेसएक्सको यात्रा त्यति सहज थिएन । कम्पनीले एकपछि अर्को धेरै असफलताको सामना गर्नुपर्‍यो ।

कुनै बेला मस्कले जम्मा गरेको सबै पैसा यसैमा लगानी गरेका थिए । उनले रुसबाट रकेट किन्ने प्रयास पनि गरे तर सफल हुन सकेनन् । उनले आफ्नो सबै पैसा गुमाएका थिए र आफ्नो कार पनि बेच्नु परेको थियो । तर मस्कले कहिल्यै हार मानेनन् । एकदिन आफ्नो सपना पूरा हुनेमा उनी ढुक्क थिए ।

रुसमा अपमान

अमेरिकी व्यापार स्तम्भकार र लेखक एश्ली भान्सले मस्कबारे लेखेको पुस्तक एलन मस्क: टेस्ला, स्पेसएक्स, र एउटा अद्भुत भविष्यको खोज’ मा स्पेसएक्ससँग सम्बन्धित घटना उल्लेख गरेका छन् । यस पुस्तकमा मस्कका उपलब्धिहरू, उनी कसरी टेस्ला, स्पेसएक्स, र अन्य इनोभेटिभ कम्पनीहरूमा संलग्न भए र भविष्यप्रति उनीसँग रहेको महत्त्वाकांक्षाको कथा वर्णन गरिएको छ ।

त्यो बेलामा स्पेसएक्स गठन भएको थिएन । मस्क रकेट प्रक्षेपणमा दुईदेखि तीन करोड डलर खर्च गर्न चाहन्थे । तर विज्ञहरूले यो सम्भव नभएको बताएका थिए ।

मस्कले रकेट प्रक्षेपणको लागत कति लाग्ला भन्ने जान्नका लागि रुस जाने योजना बनाए । उनी रुसबाट आईसीबीएम किन्न चाहन्थे र यसलाई आफ्नो प्रक्षेपण वाहनको रूपमा प्रयोग गर्न चाहन्थे । रकेट र मिसाइलमा एउटै प्रविधि प्रयोग गरिन्छ ।

यस कामका लागि मस्कले जिम क्यानट्रेल नामका व्यक्तिको सहयोग लिएका थिए । क्यान्ट्रेललाई जासुसीको आरोप लगाइएको थियो र सन् १९९६ मा रुसमा नजरबन्दमा राखिएको थियो । यही कारणले उनी रुस जान चाहँदैनथे तर मस्कले उनलाई मनाएरै छाडे ।

सन् २००१ को अक्टोबरमा मस्क, क्यान्ट्रेल र मस्कको कलेज साथी एडियो रेसी मस्को आइपुगे । मस्क र उनको टोलीले रुसीहरूसँग तीन पटक कुरा गरे । तर कुरा हुन सकेन । एक बैठकको दौरान एक रुसी प्रमुख डिजाइनरले क्यान्ट्रेल र मस्कलाई थुके । क्यान्ट्रेल भन्छन्, ‘रुसी प्रमुख डिजाइनरले म र एलनमाथि थुकेका थिए किनभने उसले सोचेको थियो कि हामी बकवास छौं ।’

कसरी गरे कमाल ?

खासमा मस्कले रकेटका लागि २ करोड डलर जम्मा गरेर राखेका थिए । यसबाट तीनवटा आईसीबीएम खरिद गर्न सकिने उनको विश्वास थियो । एक बैठकमा मस्कले रुसीहरूलाई आईसीबीएमको लागत के हुन्छ ? भनेर सोधे । त्यसपछि मस्कले ८० लाख डलर लाग्ने जवाफ पाए । मस्कले यति पैसामा कम्तीमा दुईवटा आउने बताए ।

तर रुसीहरूले यो मूल्यमा मिसाइल वितरण नगर्ने बताए । मस्कले रुसीहरू यस सम्झौताको बारेमा गम्भीर नभएको वा उनीबाट सकेसम्म धेरै पैसा उठाउन चाहेको महसुस गरे । उनी ठूला सपना बोकेर रुस गएका थिए तर रित्तो हात फर्किए । उनी निराश भए तर हार मानेनन् ।

त्यसपछि मस्कले रकेट आफै बनाउने निर्णय गरे । उनले जुन २००२ मा स्पेसएक्सको स्थापना गरेका थिए । तर कम्पनीलाई आफ्नो रकेट सफलतापूर्वक उडान गर्न छ वर्ष लाग्यो । स्पेसएक्स सन् २००८ मा चर्चामा आएको थियो जब यसको रकेट स्याटेलाइटको अर्बिटमा पुग्न सफल भयो ।

सन् २०१० मा स्पेसएक्सको रकेटले एउटा पेलोडलाई अर्बिटमा राख्यो र त्यसपछि सुरक्षित रूपमा पृथ्वीमा फर्कियो । स्पेसएक्सको सफलताको मुख्य कारण यो हो कि कम्पनीले रकेटमा प्रयोग हुने लगभग ८० प्रतिशत सामग्री आफै उत्पादन गर्छ । यसले उत्पादन लागत कम गर्न कम्पनीलाई महत्त्वपूर्ण मद्दत गरेको छ । (एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.