२०८१ पुष ८ गते १८:३३ विकासन्युज
काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गामा समेत लगानी गर्न थालेका छन् । जसमध्ये चालु आर्थिक वर्षमा मात्रै ५ कम्पनीले घरजग्गा लगानीका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएका छन् ।
प्राधिकरणका अनुसार नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स, सिटिजन लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा लगानीका लागि अनुमति मागेका हुन् । जसमध्ये नेपाल लाइफले करिब १७ करोड रुपैयाँ खर्च गरेर भवन खरिदसमेत गरिसकेको छ ।
नेपाल लाइफले इटहरी उपमहानगरपालिका- ६ स्थित सन्दीप गौतम, प्रतिभा खनाल र अनन्त सिंहको नाममा रहेको जग्गासहितको भवन खरिद गरेको हो ।
कम्पनीले ९१.५० धुर क्षेत्रफलमा रहेको उक्त भवन १६ करोड ७९ लाख रुपैयाँमा खरिद गरेको र ५६ हजार ८८९ रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १६ करोड ७९ लाख ५६ हजार ८८९ रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ ।
कम्पनीको व्यावसायिक एवं कार्यालय प्रयोजनका लागि कार्तिक २८ गते उक्त जग्गा र भवन खरिद गरेको जनाइएको छ ।
यसैगरी, हिमालयन लाइफले १ अर्ब ६६ करोड रुपैयाँको घरजग्गा खरिदका लागि प्राधिकरणबाट स्वीकृत लिएको छ । हिमालयन लाइफले काठमाडौं आसपासमा घरजग्गामा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।
यसैगरी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब रुपैयाँको घरजग्गा कार्यालय प्रयोजनका लागि खरिद गर्न लागेको छ । त्यस्तै, सिटिजन लाइफले पनि ७० करोड रुपैयाँको घरजग्गा कार्यालय प्रयोजनका लागि खरिद गर्न लागेको जनाइएको छ ।
साथै, नेको इन्स्योरेन्सले पनि ८ करोड रुपैयाँको घरजग्गा कार्यालय प्रयोजनका लागि खरिद गर्न लागेको छ । नेकोले बुटवल क्षेत्रमा आफ्नो कार्यालय बनाउन घरजग्गा खरिद गर्न लागेको जनाएको छ ।
यी कम्पनीहरूले प्राधिकरणबाट चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै उक्त घरजग्गामा लगानीका लागि स्वीकृति लिएका हुन् ।
प्राधिकरणका अनुसार नेको, सानिमा रिलायन्स, सिटिजन र हिमालयन लाइफ गरी ४ कम्पनीले कुल ३ अर्ब ४४ करोड रुपैयाँको घरजग्गा खरिद गर्न अनुमति लिएका हुन् । नेपाल लाइफले भने भवन खरिद गरिसकेको छ ।
कम्पनीहरूले प्राधिकरणबाट अन्तिम स्वीकृति लिएको ६ महिनासम्म पनि घरजग्गा खरिद नगरेमा उक्त स्वीकृति स्वत रद्द हुने प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.