गोल्छा समूह र इन्स्योरबीच सम्झाैता, प्राविधिक सीपमा जोड दिइने

  २०८१ पुष ८ गते १८:२९     विकासन्युज

काठमाडौं । गोल्छा समूहले दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर)परियोजनासँग उद्योग नेतृत्वमा आधारित अप्रेन्टिसशिप कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी साझेदारी गरेको छ ।

गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौताले शिक्षा र रोजगारीबीचको खाडललाई पुर्ने र युवाहरूलाई बजारसँग सम्बन्धित प्राविधिक सीपहरू प्रदान गरेर उनीहरूको रोजगारयोग्यता वृद्धि गर्ने विश्वास लिइएकाे छ ।

सम्झौताले गोल्छा समूहको उद्योगहरूमा अप्रेन्टिसहरूलाई अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, र सूचना प्रविधिजस्ता क्षेत्रहरूमा तालिम दिने, कर्मचारीहरूका लागि स्किल्स अपग्रेडिङ ट्रेनिङ (एसयूटी) मार्फत दीर्घकालीन सिकाइलाई प्रवर्द्धन गर्ने, हरित सीपहरूलाई पाठ्यक्रममा समेट्ने र कार्यस्थल सुरक्षासँगै व्यावसायिक स्वास्थ्य मापदण्डहरू सुनिश्चित गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेको छ ।

इन्स्योर परियोजना नेपाल र स्विट्जरल्यान्ड सरकारहरूको द्विपक्षीय पहल हो । यस परियोजनाले डुअल भेट अप्रिटिसे मोडेल लागू बताएकाे छ । यस मोडेलले प्राविधिक विद्यालयहरूबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगहरूमा व्यावहारिक तालिमसँग एकीकृत गर्ने उल्लेख छ ।

अप्रेन्टिसले प्रशिक्षित कम्पनीभित्र प्रशिक्षकहरूको निगरानीमा व्यावहारिक तालिम लिनेछन्। तालिम पूरा गरेपछि तिनीहरूले सीटीईभीटीद्वारा प्रमाणित प्रि-डिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन्।

अध्यक्ष गोल्छाले यो सहकार्यले नेपाली युवाहरूलाई आजको प्रतिस्पर्धात्मक रोजगार बजारमा सफल हुन आवश्यक सीपहरू प्रदान गर्ने बताए । गोल्छा समूहले विभिन्न क्षेत्रका १०० भन्दा बढी कम्पनीहरू सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.