२०८१ पुष ११ गते १२:५२ विकासन्युज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताए । भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको जानकारी दिए ।
‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । त्यसो भएको हुनाले यसलाई न्युनिकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ’, उनले भने ।
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्युनिकरण गर्न नसकिने बताए । समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्युनिकरणका लागि सहयोगी हुने जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.