होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने

  २०८१ पुष ११ गते १३:१५     विकासन्युज

काठमाडौं । वित्तीय समस्यामा रहेको जापानी अटोमोबाइल कम्पनी निसान र होन्डा मोटरबीच मर्जर हुने विषयले यतिबेला अटाेक्षेत्र तातिएको छ । यी दुईबीच मर्जर हुने खबरले निसान मोटरकाे सेयर ऐतिहासिक उचाइमा पुगेको थियो ।

फ्याक्टसेटको डाटाअनुसार निसानका सेयर २३.७ प्रतिशतले वृद्धि भएको हो, जुन सन् १९८५ पछि अहिलेसम्मकै उच्च वृद्धि हो ।

यसैबीच, निसानका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस घोसनले निसाले होन्डासँग मर्जर गरे निसान ‘नरसंहार’ को शिकार हुनसक्ने बताएका छन् ।

सीएनबीसीसँगको कुराकानीका क्रममा उनले भने, ‘होन्डा ड्राइभरको सिटमा हुनेछ भन्नेमा कुनै शंका छैन । मैले निसानको १९ वर्षसम्म नेतृत्व गरें । अहिले यो देख्दा मलाई निकै दु:ख लागेको छ । उनीहरू मर्ज हुन जाँदैछन् । निसान नरसंहारको शिकार हुँदैछ, किनभने निसान र होन्डाबीच पूर्ण नक्कल छ ।’

निसान, रेनिल्ट र मित्सुबिशीको नेतृत्व गरेका घोसनमाथि आर्थिक अपराधको आरोपमा मुद्दासमेत चलेको थियो ।

सम्भावित होन्डा र निसान मर्जरको बारेमा अनुमान यस महिनाको सुरुमा भएको थियाे । दुई कम्पनीहरूले सोमबार एक पत्रकार सम्मेलनमा मर्जर प्रक्रियाबारे आधिकारिक रूपमा वार्ता सुरु भएको पुष्टि गरे ।

हालका प्रस्तावअन्तर्गत एक होल्डिङ कम्पनीले दुवै फर्महरूको अभिभावकको रूपमा काम गर्नेछ र टोकियो स्टक एक्सचेन्जमा सूचीबद्ध हुनेछ । होन्डासँग जसको बजार पूँजीकरण निसानको भन्दा चार गुणा छ । होन्डाले नयाँ संस्थाका अधिकांश बोर्ड सदस्यहरूलाई मनोनयन गर्ने जनाइएको छ । निसानको रणनीतिक साझेदार मित्सुबिशी पनि समूहमा सामेल हुने वार्तामा व्यस्त छ ।

५४ अर्ब डलरको निसान-होन्डा समूहले बिक्रीमा दक्षिण कोरियाको हुन्डाईलाई उछिन्न मद्दत गर्ने जनाइएको छ । बिक्रीको आधारमा विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल उत्पादक कम्पनी जापानको टोयोटा हो । दोस्रोमा जर्मनीको फक्सवागन आउँछ ।

एकीकृत समूहले अटोमोटिभ उद्योगमा पनि एउटा ल्यान्डमार्कको प्रतिनिधित्व गर्ने जनाइएको छ । यो मर्जरले विद्युतीय सवारीसाधनको विकासलाई अघि बढाउन र विभिन्न चुनौतीहरूसँग सामना गर्न सघाउनेछ ।

वैश्विक अटो उद्योग हाल विद्युतीय सवारीसाधन (ईभी) तर्फ रूपान्तरण हुँदै गर्दा धेरै चुनौतीहरूको सामना गरिरहेको छ, जसमा टेस्ला र चीनको बीवाईडीजस्ता कम्पनीहरूको प्रभुत्व छ ।

उदाहरणका लागि फक्सवागनले जर्मनीमा कारखाना बन्द गर्ने र हजारौं जागिर कटौती गर्ने योजना बनाएको छ भने जनरल मोटर्सले हालै आफ्नो सेल्फ-ड्राइभिङ रोबोट्याक्सी कम्पनी क्रुज बन्द गरिसकेको छ ।

होन्डा र निसान दुबैका कार्यकारीहरूले संयुक्त कम्पनीले वर्तमान समस्यासँग जुध्न सक्षम हुने जनाएका थिए । लामो समयका लागि सञ्चालन नाफालाई करिब १९.१ अर्ब डलरमा बढाएर अगि बढ्ने जनाइएको छ ।

निसानले विश्वव्यापी उत्पादन क्षमतालाई पाँचौंले घटाउने र ९ हजार रोजगारी कटौती गर्नेछ ।

होन्डाका सीईओ तोशिहिरो मिबेले केही सेयरधारकहरूले आफ्नो कम्पनीले संघर्षरत निसानलाई समर्थन गरिरहेको महसुस गर्न सक्ने बताएका थिए । उनका अनुसार यदि यी दुई अटोमोबाइल निर्माताहरू आफू स्वतन्त्र रूपमा अडिन सकेनन् भने व्यापार एकीकरण वार्ता ‘साकार हुने छैन ।’

यद्यपि घोस भन्छन्- ‘निसान प्यानिक मोड’मा रहेको र यस्तो परिस्थितिबाट बचाउन ऊ कसैको खोजीमा छ । किनभने तिनीहरू आफैले समाधान निकाल्न असमर्थ छन् ।’

उनले निसान सफल हुनेमा ‘शङ्का’ व्यक्त गरे ।

न्युबर्गर बर्मनका वरिष्ठ उपाध्यक्ष तथा पोर्टफोलियो प्रबन्धक केई ओकामुराले सम्झाैतामा अनवाइन्ड हुने सम्भावना पनि रहेको बताए ।

‘मर्जपछिको एकीकरण एकदमै आवश्यक हुनेछ । जबसम्म यी कम्पनीहरूले जनता, सम्पत्ति र संस्कृतिको हिसाबले आफूलाई पूर्ण रूपमा एकीकृत गर्न सक्षम हुँदैनन्, यी सम्झौताहरूमा अनवाइन्ड हुने सम्भावना हुन्छ । यदि निसान आफ्नो टर्नअराउन्ड कार्यक्रममा नआएमा यो सम्झौता नहुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ,’ ओकामुराले भने ।

यदि निसान र होन्डाबीच मर्जर भएको खण्डमा यो हालसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ उद्योगको मर्जर हुनेछ ।

यसअघि २०२१ को जनवरीमा फियाट क्रिस्लर र फ्रान्सको पीएसए ग्रुप मर्ज भई स्टेलान्टिस बनेको थियो । स्टेलान्टिसको मार्केट क्याप ३८.६७ बिलियन डलर रहेको छ भने निसान र होण्डाको मर्जरपश्चात् ५४ बिलियन डलरको कम्पनी बन्नेछ ।

सम्बन्धित सामग्री : 

होन्डा र निसानबीच मर्ज हुने, हालसम्मकै ठूलो अटोमोटिभ कम्पनी बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.