मार्केटिङमा कर्मचारी बढाउँदा निर्जीवन बीमाको व्यापार १७.१७ अर्ब, आक्रामक बन्दै ओरिएन्टल र नेपाल इन्स्योरेन्स

  २०८१ पुष ११ गते १८:०४     विकासन्युज

काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा १७ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको मंसिर मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बढीको व्यापार गरेकाे नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कम्पनीहरूले गत आवको सोही अवधिको तुलनामा ९.२६ प्रतिशतले व्यापार वृद्धि गरेका छन् । गत आवको मंसिर मसान्तसम्म निर्जीवन बीमाको व्यापार १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ थियो ।

यो अवधिमा सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा लुम्बिनीले २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बढीको व्यापार गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको छ ।

यसैगरी, शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड २५ लाख रुपैयाँको व्यपार गर्दा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड ५२ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४० करोड ९ लाख र एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ बढीको व्यापार गरेको छ ।

ओरिएन्टल र नेपाल इन्स्योरेन्सको व्यापार आक्रामक वृद्धि

पछिल्लो ५ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ओरिएन्टल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको व्यापार आक्रामक वृद्धि देखिएको छ । ओरिएन्टलको व्यापार करिब ५५ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्स्योरेन्सको व्यापार ५२.५६ प्रतिशतले वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

ओरिएन्टलले गत आवको मसिंर मसान्तसम्म ७२ करोड ७१ लाख रुपैयाँको व्यापार गर्दा चालु आवको सोही अवधिमा १ अर्ब १२ करोड ६९ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

यसैगरी, नेपालले गत आवको मंसिर मसान्तसम्म ६१ करोड ९१ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले मार्केटिङ गतिविधि बढाएका कारण व्यवसाय आक्रामक तरिकाले वृद्धि भएको जनाएको छ । विगतमा कम्पनीको केही शाखाहरूमा मार्केटिङका कर्मचारी थिएनन् । पछिल्लो समय उक्त शाखामा कर्मचारीहरू थप गरेर मार्केट चलायमान गराउँदा व्यवसाय वृद्धि हुन पुगेको कम्पनीले उल्लेख गरेको छ ।

यस्तै, कम्पनीले गत वर्षहरूकाे तुलनामा मोटर पोर्टफोलियोको व्यापार, कृषि बीमाको व्यापार, विविध पोर्टफोलियोको व्यापार वृद्धि भएको जनाएको छ । यस्तै, कृषि बीमाको लागि कृषि शाखाको पनि विस्तार गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सले ११.२३ प्रतिशत, शिखर इन्स्योरेन्सले १०.४५ प्रतिशत, सगरमाथा लुम्बिनीले १० प्रतिशत, राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले क्रमशः ७.१९ र ७.०६ प्रतिशतले व्यपार वृद्धि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.