२०८१ पुष १२ गते ७:११ विकासन्युज
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो ।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक १ करोड ५० लाख रुपैयाँबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ । काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियानअन्तर्गत १ सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उनले दिए ।
यसैबीच, बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ । दुवै खोलामा पुल निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान गरे पनि ४ करोड ६७ लाख रुपैयाँमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.