२०८१ पुष १२ गते ११:१३ बबिता तामाङ
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ आउन ४ दिनमात्र बाँकी छ । अंग्रेजी नयाँ वर्षको समयमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुनुपर्ने हो । होटल तथा पर्यटन क्षेत्र चलायमान हुनुपर्ने हो । तर, होटल तथा पर्यटन व्यवसायमा सोचेजस्तो गतिविधि भने हुन सकेको छैन ।
नयाँ वर्षले होटल तथा पर्यटन व्यवसायलाई खासै प्रभाव पार्न सकेको छैन । काठमाडौंका होटलहरू सुनसान छन् । अहिले अफसिजनको कारणले पनि विदेशी पर्यटको आगमनमा कमी आउँदा होटलहरू सुनसान भएको होटल तथा पर्यटन व्यवसायीहरू बताउँछन् ।
नेपाल होटल संघ (हान)का महासचिव साजन शाक्य क्रिसमस र नयाँ वर्षजस्ता चाड विदेशी पर्यटकरूले आफ्नै देशमा मनाउने भएकाले त्यसले नेपालमा खासै चहलपहल नबढ्ने बताउँछन् । महासचिव शाक्यका अनुसार उपत्यकाका होटलमा आन्तरिक पर्यटकको खासै चहलपहल हुँदैन ।
‘धेरैजसो विदेशी पर्यटकहरु नयाँ वर्षमा आफ्नै देशमा परिवार, आफन्तसँग मनाउँछन् । यस सिजनमा बंगलदेश र भारतबाट पयर्टक आउँछन् । त्यहाँबाट आउने पर्यटकमा पनि अहिले कमी छ । सडकको अवस्था र हवाई भाडा महंगिदा छिमेकी मूलुकबाट पर्यटकको संख्या विगतका तुलनामा घट्न पुगेको छ,’ उनले भने, ‘उपत्यकाका ठूला होटलको व्यवसाय भनेकै आन्तरिकभन्दा बाह्य पर्यटकबाट हुने हो । अहिलेको अवस्थामा पनि होटलहरुको अकुपेसन ३० देखि ४० प्रतिशत मात्रै छ ।’
महासचिव शाक्यले काठमाडौंका होटलहरुमा नयाँ वर्षले चहलपहल नल्याएपनि उपत्यका बाहिर भने राम्रै उत्साह हुने बताए । उनका अनुसार नयाँ वर्षमा काठमाडौं बाहिरका स्थानहरु नगरकोट, धुलिखेल, पोखरा, लुम्बिनीमा आन्तरिक पर्यटको चहलपल हुन्छ ।
होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा अंग्रेजी नयाँ वर्षले होटल व्यवसायी उत्साहित हुनुपर्ने अवस्था नभएको सुनाउँछन् । नयाँ वर्ष नजिकिए पनि होटल बुकिङ बढ्न नसकेको उनको भनाइ छ । विश्वभर छाएको आर्थिक मन्दीको प्रभाव होटल व्यवसायमा पर्दा अकुपेन्सी बढ्न नसकेका उनी बताउँछन् । होटलहरुले राम्रो आम्दानी गर्न अकुपेन्सी ८० प्रतिशतभन्दा माथि हुनुपर्ने भएपनि अकुपेन्सी ५० प्रतिशत मात्रै रहेको उनले बताए ।
‘आर्थिक मन्दी छाउँदा संसारभर नै घुम्न र खर्च गर्न निस्किने पर्यटकको संख्यामा कमी छ । आन्तारिक पर्यटकको अवस्था पनि विदेश जाने तर नफर्किने छ । अहिलेको अवस्थामा होटलहरुले व्यवसायबाट जीविकोपार्जन मात्रै भइरहेको छ,’ उनले भने ।
देशको अर्थतन्त्र, अस्थिर राजनीतिलगायतका कारण पर्यटन घट्दै गएको र त्यसको असर होटल क्षेत्रले भोग्नुपरेको उनले दुखेसो गरे । काठमाडौं उपत्यकामा घुम्ने, मनोरञ्जन गर्ने ठाउँ कम हुँदा नयाँ वर्षमा पर्यटकको चहलपहल कम हुने र त्यसले होटल क्षेत्रलाई खासै प्रभाव नपार्ने वरिष्ठ उपाध्यक्ष थापाको भनाइ छ ।
‘नयाँ वर्षमा चहलपहल बढ्ने भनेको चितवनको सौराहा, पोखराको लेकसाइड, लुम्बिनी जस्तो ठाउँमा हो । काठमाडौंमा त्यही वैदेशिक रोजगारीमा जाँदा र आउँदा हामीले सेवा दिन पाउँछौँ,’ उनले भने ।
कुरिनटारमा होटल गोर्खा सञ्चालन गर्दै आएका होटल व्यवसायी महासंघका उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले ठूला होटल तथा रेष्टुरेन्टमा केही चहलपहल बढेको भएपनि साना रेष्टुरेन्टमा चहलपहल नरहेको बताए ।
‘नयाँ वर्ष सुरु हुन लाग्दैगर्दा कुरिनटार क्षेत्रमा केही चहलपहल बढेपनि अरु ठाउँमा सुनसान नै छ, कुरनिटारमा आन्तारिक पर्यटक बढी आउँछन्,’ उनले भने ।
विगतमा भारतीय पर्यटकको बढी आउने गरेको भएपनि यसवर्ष सडक पुर्वाधारका कारण घट्न पुगेको उनको भनाइ छ । उनका अनुसार मन्दिर दर्शन गर्न आउने र फर्किहाल्ने भएकाले होटलहरुको अकुपेन्सी बढ्न सकेका छैन । उनले आफ्नै होटलमा विगतका वर्षका तुलनामा ९० प्रतिशत अकुपेन्सी घट्न पुगेको बताए । नयाँ वर्षलाई लक्षित गरेर त्यहाँका केही होटलले प्याकेजहरु ल्याएका भएपनि धेरैजसो होटलहरु सुनसान नै छन् ।
काठमाडौं उपत्यकामै सञ्चालनमा रहेको चार तारे होटल मनाङको भने राम्रै अकुपेन्सी देखिन्छ । होटल मनाङका अप्रेसन म्यानेजर मेलिना राईका अनुसार होटलको अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म पुगेको छ । उनका अनुसार अहिले अफसिजन भएकाले विदेशी पर्यटकको चहलपहल छैन । तर, आन्तारिक पर्यटकको चहलपहल राम्रै छ । मनाङ होटल ठमेल क्षेत्रमा भएकाले पनि अकुपेन्सी राम्रो भएको उनले बताइन् ।
उनले भनिन् ‘हाम्रो होटल ठमेल एरियामा भएर पनि होला, साथै यो पूरानो होटल पनि हो, हाम्रा पूराना ग्राहकहरु धेरै हुनुहुन्छ, त्यसले गर्दा चहलपहल राम्रै छ ।’
उनका अनुसार ‘न्यू इयर’ का लागि कोठाहरू पनि बुकिङ भइरहेको छ । ‘न्यू इयर’ को लागि केन्द्रीत गरेर होटल मनाङले लाइभ म्युजिक गर्न लागेको उनले जानकारी दिइन् । उनका अनुसार नयाँ वर्षमा ४० प्रतिशसम्म छुटको व्यवस्था रहेको छ ।
उपत्यका बाहिर बढ्यो चहलपहल
नयाँ वर्ष सुरु हुनै लाग्दा उपत्यका बाहिर भने चहलपहल बढेको छ । पर्यटकीय नगरी पोखरामा पर्यटनलक्षित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् भने केही सुरु हुने क्रममा छन् । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पोखरामा पुस ९ गतेबाट बेलुन महोत्सव सुरु भएको छ । यसले पर्यटकको चहलपहल बढ्न मद्दत गरेको छ भने होटल तथा रेष्टुरेन्टको अकुपेन्सी बढाएको छ ।
त्यस्तै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले पुस १३ गतेबाट सडक महोत्सव सुरु गर्दैछ । यसले पनि पर्यटकको चहलपहल बढ्ने रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) का संयोजक विकास भट्टराईले बताए । पोखराको बाह्य तथा आन्तारिक पर्यटनलाई आकर्षण गर्नको यो महोत्सव सञ्चालन गर्न लागेको उनले बताए ।
उनका अनुसार त्यहाँ यसबाहेक नयाँ वर्षलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । अहिले चलेका होटलहरुको अकुपेन्सी ९० प्रतिशतसम्म पुगिसकेको छ । अरु होटलहरुको अकुपेन्सी पनि उत्साहजनक छ । कतिपय होटलहरुमा जनवरी १ को लागि होटहरु पनि प्रि बुकिङ भइसकेको भट्टराईले बताए ।
संयोजक भट्टराईका अनुसार पूर्वाञ्चाल होटल संघ, विभिन्न रेष्टुरेन्ट व्यवसायीहरुसँग मिलेर नयाँ वर्ष लक्षित प्याकेजहरु पनि ल्याएको छ । होटलहरुले २० प्रतिशतसम्म छुटमा होटल बुकिङ गरिरहेको उनले बताए । यसबाहेक पोखरा रंगशालामा ओपन टेनिस प्रतियोगिता सुरु भइसकेको छ । जहाँ नेपाली मात्रै नभएर छिमेकी मूलुकका खेलाडीहरु पनि उपस्थित छन् । यसले पनि होटल तथा रेष्टुरेन्टमा थप चहलपहल बढेको छ ।
नेपालको अर्को पर्यटकीय स्थल चितवनको सौरहामा पनि नयाँ वर्षको राम्रै चहलपहल बढेको छ । बिहीबारदेखि सौरहामा ‘हाती तथा चितवन पर्यटन महोत्सव’ सुरु भएको छ । यसले होटल तथा पर्यटन क्षेत्रमा राम्रो चहलपहल बढ्ने क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए ।
घिमिरेका अनुसार महोत्सव अविधिभर होटल र रेष्टुरेन्टमा १० प्रतिशत छुट दिने भनेर रेबान र हानले आह्वान गरेको छ । यसबाहेक त्यहाँका स्थानीय तहबाट विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
हरेक नयाँ वर्षको दिनमा चितवनमा होटलहरु भरिराउ हुँदै आएकोले यस वर्ष पनि राम्रै चहलपहल बढ्न उनले बताए । उनले भने,‘ अहिले हाती महोत्सव हेर्नेको भीड बढेको छ, होटलहरुमा बस्ने गरी आउने संख्या कम छ । तर नयाँ वर्षको दिन होटलहरु भरिभराउ नै हुन्छन् ।’
घिमिरेका अनुसार अहिले त्यहाँको होटहरुको अकुपेन्सी समग्रमा ६० प्रतिशतसम्म छ । यो वर्ष सन् २०२३ जस्तो भने सुखद हुन नसकेको उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.