२०८१ पुष १२ गते १७:१० विकासन्युज
काठमाडौं । सुजुकी मोटर कर्पोरेशनका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओसामु सुजुकीको ९४ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
निधनको कारण लिम्फोमा बताइएको छ । कम्पनीले शुक्रबार यो जानकारी दिएको हो ।
ओसामुले चार दशकसम्म कम्पनीको नेतृत्व गरे । सुजुकीलाई विश्वव्यापी कम्पनी बनाउन उनकै योगदान थियो । ओसामु सन् १९७८ देखि २०२१ सम्म सुजुकी कम्पनीका अध्यक्ष, चेयरम्यान र सीईओ थिए ।
सुजुकीको नेतृत्वमा कम्पनीको बिक्री ३०० अर्ब येन (१.९ बिलियन) बाट ३ ट्रिलियन येनमा बढ्यो । यो दश गुणा वृद्धि उनको दूरदर्शिताको प्रमाण हो ।
ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गिफु प्रिफेक्चरमा भएको थियो । सुजुकी परिवारकी छोरीसँग विवाह गरेर १९५८ मा उनी सुजुकी मोटर कम्पनीमा आबद्ध भए ।
उनले आफ्नी श्रीमतीको पारिवारिक नाम ‘सुजुकी’ राखेका छन् । उनकी श्रीमती तत्कालीन अध्यक्ष शुन्जो सुजुकीकी छोरी थिइन् । १९७८ मा ओसामु कम्पनीको अध्यक्ष भए । उनले सन् १९२० मा सुजुकी लूम निर्माण कम्पनीको रूपमा सुरु भएको कम्पनीलाई जापानको प्रमुख अटोमेकरहरूमध्ये एकको रूपमा निर्माण गरे ।
धेरै कम्पनीसँग साझेदारी
सुजुकी मोटरले आफ्नो वातावरणीय प्रविधिहरू सुधार गर्न २००९ मा फक्सवागन एजीसँग व्यापार गठबन्धन बनाएको थियो । तर, २०१५ मा नियन्त्रणमा विवाद भएपछि साझेदारी टुट्यो । सुजुकीले पछि २०१९ मा टोयोटा मोटर कर्पोरेशनसँग केस (कनेक्टेड, अटोनोमस, सेयर र इलेक्ट्रिक) प्रविधिहरूप्रति उद्योगको बढ्दो प्रवृत्तिको प्रतिक्रियास्वरूप गठबन्धन बनाएको थियो । यसको उद्देश्य सेल्फ ड्राइभिङ गाडीको सह-विकास गर्नु थियो ।
सुजुकीको नजर दक्षिपूर्वी एसिया
धेरै जापानी अटो उत्पादकहरूले अमेरिका र चीनको बजारमा ध्यान केन्द्रित गरे, सुजुकीले भारत, दक्षिणपूर्व एशिया र हंगेरी जस्ता क्षेत्रहरूमा साना र किफायती कारहरू उत्पादनमा ध्यान केन्द्रित गरे ।
यो रणनीतिले कम्पनीलाई बजारहरूमा सफलता पाउन सहयोग गर्यो । तर, ठूला सवारीसाधनको मागलाई ध्यानमा राख्दै सुजुकी मोटरले २०१२ मा अमेरिकी अटोमोबाइल बजार र २०१८ मा चीनबाट बाहिरियो । यी चुनौतीहरूको बावजुद, कम्पनीले अन्य प्रमुख क्षेत्रहरूमा आफ्नो पकड कायम राखिरह्यो ।
२०२१ सम्म अध्यक्ष
ओसामु सुजुकीले सन् २०१५ मा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो छोरा तोशिहिरो सुजुकीलाई कम्पनीको नेतृत्व हस्तान्तरण गरे । तर, उनले सन् २०२१ सम्म कम्पनीलाई अध्यक्षका रूपमा निर्देशन दिन जारी राखे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.