सल्लेरीवासीलाई पानीको चिन्ता- हिउँद नआए हुन्थ्यो लाग्छ

  २०८१ पुष १४ गते १०:२५     मनोज अधिकारी

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँदैन । पानीको जोहोमै बित्छ बिहान’, उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो, पानी खोज्न हिँड्यो । बिहान अरु काम गर्न भ्याइँदैन । सरकारले कहिले ठूलो आयोजना ल्याइदेला र आँगनमा धारा बनाउँ जस्तो भएको छ ।’

सल्लेरी गाउँमा ९० परिवारको बसोबास छ । यहाँको मुख्य समस्या खानेपानी नै हो । गाउँमा पानीको स्रोत नहुँदा हिउँदमा हाहाकार हुने गरेको छ । नजिकै कुवा, खोला र खोल्सा छैन । केहीले छिमेकी गाउँबाट निजी लगानीमा पाइप बिछ्याएर पानी ल्याएका छन् भने अधिकांशले गाग्रीमा ओसारेर दैनिकी चलाइरहेका छन् ।

बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद सुरु भएपछि पानी अभावले हरेक वर्ष सताउने गरेको छ । ‘बर्खामा अकासे पानीको भर पर्नुपर्छ । हिउँद त नआए हुन्थ्यो जस्तो लाग्छ । हामी अर्को बर्खाको पर्खाइमा छौँ’, स्थानीय वेदप्रसाद पाण्डेले भने, ‘पल्ला गाउँमा जस्तै सबैको आँगनमा पानीको धारा भए हामी पनि ढुक्कले रोजगारीमा हिँड्न पाउँथ्यौँ । घरमै पानीको धारा बनाउने सपना पूरा नहोलाजस्तो छ ।’

गाउँको बीचमा कक्षा ५ सम्मको सल्लेरी प्राथमिक विद्यालय छ । विद्यालयमा एउटा धारा छ । तर धारोमा पानी आउँदैन । विद्यार्थीले घरबाट बोत्तलमा पानी लिएर पढ्न आउँछन् । पिउन मात्र होइन, शौच गर्न पनि समस्या छ । टिफिन समयमा टाढा धाएर बालबालिकाले पानी ओसार्छन् र प्रयोग गर्छन् ।

‘सकेसम्म विद्यार्थीलाई पानीको अभाव हुन दिएका छैनौँ । तर, बोकेर सधैँ साध्य नहुने रहेछ । हामीलाई पनि गाह्रो छ, अभिभावकलाई पनि गाह्रो छ, हाम्रो गाउँको मुख्य समस्या नै पानी भयो’, प्रधानाध्यापक तारादेव नेम्वाङले भने ।

तीन तहका सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिनुपर्ने स्थानीयको माग छ । ‘सङ्घीयतापछि आधारभूत आवश्यकता पूरा हुन्छ भन्ने सुनेका थियौँ । स्थानीय सरकार सञ्चालन भएकै आठ वर्ष भयो । हाम्रो गाउँमा खानेपानीको समस्या समाधान हुनै सकेन’,  स्थानीय भगिरथ भण्डारीले भने, ‘दुईपटक तीन तहको चुनाव भयो । सबै उम्मेदवार मत माग्न घरघरमा आउनुभयो । हामीले खानेपानीको समस्या सुनायौँ । भोलि नै समाधान गरिदिने जसरी आश्वस्त पार्नुभयो । तर, समस्या ज्यूँका त्यूँ देखिन्छ ।’

फाकफोकथुम–३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको खानेपानी समस्या समाधानका लागि काम सुरु गरिएको बताए । ‘सिङ्गो वडामा पानी पुर्‍याउने उद्देश्यका साथ गत आर्थिक वर्षमा ८२ लाखमा पाँचवटा ‘रिजर्भ ट्याङ्की निर्माण गरेका छौँ’, उनले भने, ‘वडाको केन्द्र रहेको शुक्रबारे बजारमा २० लाख लिटर क्षमता भएको ट्याङ्की र अन्य ठाउँमा एक–एक लाख क्षमताको ट्याङ्की निर्माण भइसकेको छ । यस वर्ष पाइप विस्तारको काम हुनेछ ।’

घरघरमा पुर्‍याउने पाइपका लागि एक करोड बजेट रहेको र अब त्यो ठेक्कामार्फत अघि बढ्ने तयारी रहेको वडाध्यक्ष  लिम्बूको भनाइ छ । नसुवा गैँडे मुहान, मुगेखोला मुहान, लोखरुम्बा खोला मुहानबाट आमचोकमा खानेपानी ल्याउने तयारी रहेको उनले बताए ।

गाउँमा भएको एउटा कुवा बारेर चार परिवारले पानी पाइपमा तानेर प्रयोग गरिरहे पनि पर्याप्त छैन । स्थानीय सन्त लुङ्गेलीले निजी लगानीमा २० एमएमको एक क्वाइल पाइप बिछ्याएर पानी ल्याएका छन् । ‘बिग्ररहन्छ, बनाउन हरेक दिनजसो जानुपर्छ । अरुको हेरी आफ्नो केही सहज जस्तो लाग्छ’, लुङ्गेलीले भने, ‘गाउँमा आयस्रोत छैन । पाइप किन्न सबैले सक्दैनन् । कतिले मेरोबाट थापेर पनि लैजान्छन् । सबैलाई त पुग्दैन ।’ सल्लेरी मात्र होइन यहाँ नजिकैको आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ । पानी अभावले खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न सबैथोकमा समस्या हुने गरेको स्थानीय बताउँछन् ।

खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ । पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकार नै जिम्मेवार बन्नुपर्ने मानवअधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । ‘खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकार लाग्नुपर्छ । सल्लेरी गाउँमा पानी पुर्‍याउन सरकारको ध्यान जानुपर्छ’, उनले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.