२०८१ पुष १४ गते १३:०३ विकासन्युज
काठमाडौं । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको स्थापना गर्ने धिरजलाल हिराचन्द अम्बानी उर्फ धिरुभाई अम्बानीको आज ९२औं जन्मदिन हो । २८ डिसेम्बर १९३२ मा गुजरातमा जन्मेका उनले व्यापारको संसारमा प्रवेश गरेर नयाँ क्रान्ति सिर्जना गरे । धीरुभाई अम्बानीको निधनपछि उनको विरासत अहिले उनका छोराहरू मुकेश अम्बानी र अनिल अम्बानीले सम्हालिरहेका छन् ।
साधारण परिवारमा जन्मेका धीरुभाई अम्बानीले सानै उमेरमा घरको जिम्मेवारी लिन थालेका थिए । जसका कारण उनले १० कक्षासम्म मात्रै पढ्न पाए । त्यसपछि उनले फलफूल र पकाैँडा बेच्न थाले । यसमा खासै सफलता नपाएपछि उनी जेठो दाजु रमणिकलालको सहयोगमा सन् १९४८ मा यमनको अडेन सहर गए । यही सहरमा उनले पेट्रोल पम्पमा मासिक ३ सय भारुमा जागिर खान थाले ।
नोकरीमा मन नगएपछि फर्किए
यमनमा धीरुभाईले काम गरेको पेट्रोल पम्पको कम्पनी उनको कामबाट खुसी थियो । कम्पनीले उनलाई प्रबन्धकसमेत बनाएको थियो । तर काममा उनी खासै सन्तुष्ट थिएनन् । उनी आफ्नै व्यवसाय गर्न चाहन्थे । यमनमा ६ वर्ष काम गरेपछि उनी १९५४ मा भारत फर्किए ।
५०० भारुबाट व्यापार सुरु
धिरुभाई फर्कँदा उनको खल्तीमा ५ सय भारु थियो । यद्यपि त्यसबेला ५०० को मूल्य धेरै थियो ।
भारत फर्किएपछि उनी सपनाको सहर मुम्बई गए । भारत पुगेपछि उनले पोलिस्टरको माग धेरै रहेको थाहा पाए । भारतीय मसला विदेशमा निकै रुचाइन्छ । उनको व्यवसाय यहीँबाट सुरु भयो ।
उनले मुम्बईमा एउटा घरमा भाडा लिए र काका चम्पकलाल दिमानीको सहयोगमा रिलायन्स कमर्शियल कर्पोरेशन कम्पनी खोलेका थिए ।
भाडाको यो कोठालाई उनले अफिस बनाए । एउटा टेबुल, तीनवटा कुर्सी र एउटा लेखन प्याडबाट काम सुरु भयो । उनले अदुवा, बेसार र अन्य मसला पश्चिमी देशमा बेच्न थाले ।
बिस्तारै व्यापार बढ्यो
धीरुभाई अब व्यवसायमा स्थापित भइसकेका थिए । व्यवसायलाई अगाडि बढाउने उनको योजना थियो । सन् १९६६ मा उनले अहमदाबाद (गुजरात) मा कपडा मिल सुरु गरे । यसलाई ‘रिलायन्स टेक्सटाइल्स’ नाम दिइएको थियो । धीरुभाईले विमल ब्रान्ड सुरु गरे । बिस्तारै उनले प्लाष्टिक, म्याग्नम, पेट्रोकेमिकल, बिजुली उत्पादनको व्यवसाय सुरु गरे ।
कम्पनीको नाम परिवर्तन
सन् १९८५ मा धीरुभाईले कम्पनीको नाम परिवर्तन गरी रिलायन्स टेक्सटाइल इन्डस्ट्रिज लिमिटेड राखे । उनले यसको नाम रिलायन्स इन्डस्ट्रिज लिमिटेड राखे । सन् १९९१-९२ मा उनले गुजरातमा पेट्रोकेमिकल्सको कारोबार गर्ने पहिलो प्लान्ट बनाए । त्यसपछि धीरुभाई पेट्रोकेमिकल उद्योगमा प्रवेश गरे । सन् १९९८-२००० मा उनले गुजरातको जामनगरमा विश्वको सबैभन्दा ठूलो रिफाइनरी स्थापना गरे ।
जुलाई २००२ मा धीरुभाइको निधन
धीरुभाई अम्बानीको मृत्यु ६ जुलाई २००२ मा भएको थियो । यसअघि उनले रिलायन्सलाई नयाँ उचाइमा पुर्याएका थिए । उनको निधनको केही समयपछि रिलायन्स इन्डस्ट्रीज उनका दुई छोरा मुकेश अम्बानी र अनिल अम्बानी बीच विभाजित भयो । रिलायन्स इन्डस्ट्रीज आज भारतको सबैभन्दा मूल्यवान कम्पनी हो । यसको लगाम मुकेश अम्बानीको हातमा छ । बीएसईको आधिकारिक वेबसाइटअनुसार कम्पनीको मार्केट क्याप १६.५२ लाख करोड भारु छ । ः
Copyright © 2025 Bikash Media Pvt. Ltd.