पोखरा फाइनान्समा समस्या, स्पष्टिकरण लिने राष्ट्र बैंकको निर्णय

  २०८१ पुष १४ गते १७:०२     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सको वित्तीय अवस्था खराब भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले सुधारात्मक कारवाहीको प्रक्रिया थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्ससँग स्पष्टिकरण लिने निर्णय पनि गरेको छ ।

राष्ट्र बैंकले प्रष्टिकरण सोधेको पत्र आफूले प्राप्त नगरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङले बताए । राष्ट्र बैंकले २०८० पुसमा फाइनान्समा स्थलगत निरीक्षण गरेको र सुधारका लागि आवश्यक निर्देशन दिएको बताउँदै राष्ट्र बैंकका निर्देशनहरू पालना भइरहेको उनले दावी गरे ।

फाइनान्सको खराब कर्जा बढी देखिन आएकाले कर्जा असुलीमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिएको सीईओ गुरुङले बताए । राष्ट्र बैंकको निर्देशन पालना गर्दै कर्जा असुलीमा फाइनान्सले जोड दिँदै आएको उनको भनाइ छ ।

तर तथ्याङ्कमा उनले भनेजस्तो सुधार छैन, बरु फाइनान्सको वित्तीय अवस्था झन् खराब छ । ९ महिनामा फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले वृद्धि भएको उसैले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

२०८० पुस मसान्तमा फाइनान्सको खराब कर्जा कुल कर्जाको ४.७६ प्रतिशत रहेको फाइनान्सले सार्वजनिक गरेको वित्तीय वितरणमा उल्लेख छ । २०८१ असोज मसान्तमा खराब कर्जा १४.४४ प्रतिशत पुगेको छ । ९ महिनामा खराब कर्जा विन्दुगत गणनामा ९.६८ अंकले बढेको छ भने प्रतिशत गणनामा २०३.३६ अंकले बढेको छ ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ करोड ९० लाख घाटा खाएको छ । गत वर्ष पनि नोक्सानमा गएको फाइनान्सको सञ्चित नोक्सानी ६८ करोड रुपैयाँ नाघेको छ । फाइनान्सको पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ ।

फाइनान्सको निक्षेप, कर्जा लगानी लगायतको व्यवसायिक आकार पनि सानो हुँदै गएको छ । ‘संस्थाको सुशासन पनि खराब देखियो, वित्तीय अवस्था पनि खराब छ । अब राष्ट्र बैंकले आवश्यक निर्णय लिँदै जानेछ, ’ राष्ट्र बैंकका उच्च अधिकारीले भने ।

स्थलगत निरीक्षण भएको ११ महिनापछि मात्र फाइनान्सको रिपोर्ट राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएपछि राष्ट्र बैंकभित्रै पनि यति ढिला रिपोर्ट पेश हुनुको कारणबारे सोधखोज भएको छ । ‘फाइनान्सको अवस्था खराब पाइयो । एक वर्षअघि भन्दा अहिले के कति सुधार भयो ? सुधारका लागि के के प्रयास भएका छन् ? लगायतको विषयमा स्पष्टिकरण सोध्ने निर्णय भएको छ,’ स्रोतले भन्यो ।

कोरोना महामारीपछि गण्डकी प्रदेशको पर्यटकीय गतिविधि सुस्त भएको र पर्यटन व्यवसायीहरूले कर्जा तिर्न नसक्दा फाइनान्समा समस्या उत्पन्न भएको सीईओ गुरुङले बताए । ‘पछिल्लो समय हामी अलि दवावमा नै परेका छौं । नयाँ व्यवसाय विस्तारमा भन्दा कर्जा कर्जा असुलीमा जोड दिइरहेका छौं, ’ उनले भने ।

यता नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइसकेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।

के हुन्छ कर्णाली डेभलपमेन्ट बैंकमा रहेको निक्षेपकर्ताको ५.२१ अर्ब ? सेयर कारोबार पनि रोक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.