२०८१ पुष १४ गते १८:३१ विकासन्युज
नुवाकोट । नुवाकोटको बेलकोटगढी- १ स्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा ६१ लाखभन्दा बढी आम्दानी भएको छ ।
पुस ७ गते मनाएको स्वर्ण जयन्ती समारोहमा खर्च र आम्दानीबारे विवरण शनिबार विद्यालयमा एक कार्यक्रमकाबीच आर्थिक सङ्कलन उपसमितिले सार्वजनिक गरेको छ ।
विद्यालयले समारोहको दौरान खर्च र आम्दानीको विवरण सार्वजनिक गर्दै कुल ६१ लाख ६६ हजार ३९८.५९ रुपैयाँ आम्दानी भएको जनाएको छ । यसमा रसिद आय (आर्थिक सहयोग रसिद) र अक्षयकोषको योगदान पनि रहेको छ भने ७ लाख ५९ हजार ४७४.४ खर्च भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक विकास खतिवडाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले विद्यालयको आर्थिक प्रगति र ६१ लाखको आम्दानीको बारेमा चर्चा गर्दै विद्यालयले हजारौं विद्यार्थीलाई देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउन सक्षम बनाएको र सोही विद्यार्थीहरूले गरेको सहयोगप्रति गर्व व्यक्त गरे ।
उनले विद्यालयको आर्थिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी आगामी दुई वर्षभित्र विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य रहेको बताए ।
आर्थिक सङ्कलन उपसमितिका संयोजकसमेत रहेका खतिवडाले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा र बागमती प्रदेशका सांसद रामप्रसाद ढुङ्गानाको विशेष आतिथ्यमा स्वर्ण जयन्ती सम्पन्र भएको थियो ।
समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पुर्याउने दाता, जग्गादाता, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित कार्यक्रम पनि गरेको थियो ।
आरुखर्क माध्यमिक विद्यालय विसं २०३१ सालको पौष ७ गते औपचारिक रूपमा स्थापना भएको थियो । विद्यालयले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.