२०८१ पुष १५ गते १३:३७ इन्द्रसरा खड्का
काठमाडौं । काठमाडौंको सिफलमा रहेको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी उपत्यकामा रहेको एक शैक्षिक संस्था हो । यो कलेज सन् २०१० मा स्थापना भएको हो । सुरुमा प्लस टुबाट सञ्चालनमा आएको यो कलेजमा अहिले मन्टेश्वरीदेखि स्कुल, स्नातक र स्नातकाेत्तरसम्म पढाइ हुन्छ ।
अहिले चारवटा फरक-फरक स्थानमा विद्यालय र कलेज सञ्चालनमा छन् । मन्टेश्वरी छुट्टै ब्लक, स्कुल, प्लस टु छुटै ब्लकमा सञ्चालन छ भने त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गरेका कार्यक्रम र लिङ्कन विश्वविद्यालयको कार्यक्रम छुट्टै ब्लकबाट सञ्चालन भइरहेको छ ।
यस्तै, टेक्सास कलेज आफ म्यानेजमेन्ट आईटी अर्को कार्यक्रम छ । टेक्सास इनटरनेसनल नेटवर्कअन्तर्गत सञ्चालनमा आएको यो कलेजले विशेष गरी प्रविधि, व्यवस्थापन र होटल लगायतका विषयमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
स्नातकमा ११ र स्नातकोत्तर ५ वटा कार्यक्रम
यो कलेजले स्नातक र स्नातकोत्तरमा व्यवस्थापन र आइटीका विभिन्न ११ कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्नातकोत्तरमा ५ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । कोर म्यानेजमेन्टमा बीबीए, एमबीए, बीबीएस, बीबीएम, एमबीबीएस जस्ता कक्षाहरू सञ्चालन भइरहेका छन् ।
हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गत बीएचएम एम बिएचएम र आईटी सेक्टरमा त्रिभुवन विश्वविद्यालयको आवद्धतामा बीएससीआइटी र बीसीए, बीबीए, एमबीएम, बीबीएस, बीए, बीएसडब्ल्यू र स्नातकोत्तरमा एमबीएस कार्यक्रम सञ्चालन गरेको छ ।
यस्तै, लिंकन विश्वविद्यालयको आवद्धतामा स्नातकमा बीआइटी, बीएससी, साइबर सेक्युरिटी एण्ड नेटवर्क टेक्नोलोजी, बीएचएम, बीबीए, एमबीए, एमबीएएचएम, एमबीएएचआर कार्यक्रम छन् । यी सबै कार्यक्रममा कोटाअनुसार विद्यार्थीको सङ्ख्या पुरा भएको दाबी कलेजको छ ।
कार्यक्रममा सीट सङ्ख्याअनुसार विद्यार्थी भए पनि यसमा सन्तुष्ट हुने अवस्था भने नरहेको कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ बताउँछन् । स्नातकमा विद्यार्थीको सङ्ख्या पुरा भए पनि मास्टर्समा भने कोटाअनुसार विद्यार्थीको सङ्ख्या छैन । एमबीएसमा ८० जनाको सिटमा ३० जना मात्र भर्ना भएका छन् । एमबीएमा ८० जनामा ३२ जना विद्यार्थी भर्ना भएका छन् ।
विद्यार्थीको अवस्था
अहिले टेक्सासमा स्कुल र कलेज गरी ३ सयभन्दा बढी शिक्षकहरू कार्यरत छन् । प्राचार्य श्रेष्ठका अनुसार करिब २ सय विद्यार्थी मन्टेश्वरीमा छन् भने विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यस्तै, प्लस टुमा २ हजार विद्यार्थी छन् भने २ हजार बढी स्नातक र स्नातकाेत्तर तहमा अध्ययनरत छन् । यो सङ्ख्या हेर्ने हो भने असन्तुष्ट हुनुपर्ने अवस्था छैन । तर, जति संरचना छ त्यसअनुसार भने विद्यार्थी नभएको कलेजले जनाएको छ ।
तर, अभिभावक, विद्यार्थीको साथले तत्काल विकल्प नै सोच्नुपर्ने अवस्था नरहेको प्राचार्य श्रेष्ठ बताउँछन् । स्कुल तहदेखि मास्टर्ससम्मको पढाइ हुने संस्था भएकाले विद्यार्थी पाउन त्यति समस्या नभएको उनी बताउँछन् । ‘हामीसँग मन्टेश्वरी पढ्ने विद्यार्थी ब्याचलर्ससम्म यहीं पढ्छन्, त्यसैले पनि विद्यार्थी कम हुँदैनन्,’ उनी भन्छन्, ‘तर पहिलेको जस्तो हुँदैन, स्कुल र प्लस टुसम्म विद्यार्थी पाउन सहज भएपनि ब्याचलर्स र मास्टर्समा भने अहिले केही समस्या हुन थालेको छ ।
चुनौतीसँग जुधे पनि कलेज नै बन्द गर्नुपर्ने अथवा तत्काल विकल्प सोच्नुपर्ने अवस्थामा नपुगेको प्राचार्य श्रेष्ठ सुनाउँछन् । उनी भन्छन्, ‘असर परेको छ, तर यो ट्रेण्डलाई नरोक्ने हो भने कलेजलाई मात्र होइन, देशलाई समेत असर पर्ने छ ।’
टेक्सासमा मन्टेश्वरीदेखि भर्ना भएका धेरैजसो विद्यार्थी मास्टर्ससम्म पनि त्यही कलेज पढ्छन् । कतिपय विद्यार्थीहरू अहिले त्यही स्कुलमा शिक्षक भएर काम गरिरहेका छन् ।
यो आफ्नो लागि खुसीको कुरा भएको उनको भनाइ छ । ‘हामीले सिकाएको बच्चा, यही स्कुल हुँदै कलेज पढेर मास्टर्स गरेर अहिले फ्याकल्टीको रूपमा शिक्षक भएका छन्, हामीसँगै हातेमालो गरेका छन् । योभन्दा खुसीको कुरा अरू के हुन्छ ?,’ उनले थपे ।
लगानी धेरै, आम्दानी कम
अन्य क्षेत्रजस्तो थोरै लगानीमा सुरु गर्न सकिने शिक्षा क्षेत्र होइन । यहाँ अरबौंको लगानी आवश्यक पर्छ । टेक्सासले पनि त्यही अनुसारको लगानी गरेको छ । तर लगानी अनुसारको प्रतिफल पाउन निकै गाह्रो छ ।
पहिले यस्तो अवस्था नभएपनि तत्कालको अवस्थामा समस्या रहेको सञ्चालकहरू बताउँछन् । प्राचार्य श्रेष्ठ आफै पनि टेक्सासका लगानीकर्ता हुन् । उनी अहिले कलेजको शैक्षिक व्यवसाय चूनौतीपूर्ण रहेको बताउँछन् । सामान्य स्कुल चलाउँदा पनि चार, पाँच करोडभन्दा बढी नै खर्च लाग्छ ।
जग्गा पनि किनेर लगानी गर्नुपर्छ । काठमाडौंभित्रको कुरा गर्दा ४०/५० करोड जग्गामा मात्र पर्छ । ठाउँअनुसार त्योभन्दा महँगो पनि पर्न सक्छ । बिल्डिङको कुरा गर्दा निर्माण गर्न ८/१० करोड बढी लाग्छ । एउटा सामान्य स्कुलतह मात्र चलाउँदा पनि ४० करोड जग्गामा र १० करोड भवन निर्माणमा राख्ने हो भने ५० करोड जान्छ ।
५० करोडको बैंकको ब्याजमात्र ५० लाख हुन्छ । ‘शिक्षा सञ्चालन गर्न मात्र यो खर्च लाग्छ भने कल्पना गर्न सकिन्छ,’ प्राचार्य श्रेष्ठ भन्छन्, ‘यसरी लगानी गरिएको शैक्षिक संस्थाले विद्यार्थी नै पाउने हो भने लगानी उठाउनसमेत कतिपय लगानीकर्तालाई समस्या परिरहेको छ, कतिपय साथीभाइहरूको गुनासो यस्तै छ ।’
अहिले निकै धेरै संस्थालाई ब्याज पनि आउने अवस्थामा छैन । ‘सयमा १ देखि २ प्रतिशत शैक्षिक संस्थालाई राम्रै भएको होला नभए अधिकांशको अवस्था उस्तै छ,’ उनी भन्छन्, ‘अहिलेको परिस्थिति यति चुनौतीपूर्ण हुँदै गएको छ कि कतिपय सञ्चालकहरूलाई ब्याज तिर्न मुस्किल परेको अवस्था छ, धेरै शैक्षिक संस्था यो पीडाबाट गुज्रिरहेका छन् ।’
अहिले बैंकहरूमा तरलता निकै उच्च छ । आउनुहोस् हामी लोन दिन तयार छौंभन्दा पनि धेरै मान्छे ऋण लिन गइरहेको अवस्था छैन । लगानी गरेअनुसार त्यसको रिटर्न के हुन्छ, सेक्युरिटी के हुन्छ भन्ने कुरा सोच्नुपर्छ । अझ दुई-चार अक्षर पढेका मान्छेले यो विषयमा बढी सोच्नुपर्छ । उनी भन्छन्, ‘ज्ञानकै कारण पनि यस्तो कुरा सोच्न बाध्य हुन्छौं, तर विद्यार्थीलाई न्याय गर्न पनि त्यो जोखिम लिँदै अगाडि बढ्दै गरेको अवस्था हो ।’
६५ प्रतिशत भाडाको भवन र जग्गामा संरचना
शिक्षा क्षेत्रमा १५ वर्षदेखि सेवा दिँदै आएको टेक्सास कलेजको आफ्नै संरचना छैन । अहिले पनि ६५ प्रतिशत जग्गा र संरचना लिजमा छ । त्यसमध्ये ३५ प्रतिशतमात्र विद्यालयको जग्गा र भवन रहेको छ । प्राचार्य श्रेष्ठ अहिलेकै अवस्थाबाट सबै संरचना कलेजको आफ्नै भवनमा सञ्चालनमा आउन समस्या रहेको बताउँछन् ।
कलेज विभिन्न ठाउँमा छरिएर रहेको छ । कतिपय ठाउँमा आफ्नै जग्गा र आफ्नै भवनमा छ भने कतिपय लिजमा लिएको संरचनामा निर्माण भइरहेको छ । उसो त यो कलेजसँग पर्याप्तमात्रामा खेल मैदान पनि अभाव छ । विद्यालय वा कलेज जहाँ पनि विद्यार्थीलाई खेल्ने, रमाउने ठाउँ आवश्यक हुन्छ । तर यो सुविधा टेक्सासँग पनि छैन । बरु संरचना अभावले फेरि नयाँ भवन निर्माणको तयारी भइरहेको छ ।
प्राचार्य श्रेष्ठ भन्छन्, ‘यसका लागि जति ठाउँ भए पनि नपुग्ने रहेछ, हामीसँग विद्यार्थीका लागि चाहिने केही खेलमैदान छन् तर पर्याप्त भने छैन । यो क्षेत्रमा लाग्दा हामी सपना देखेर लागेका हौं, उद्देश्य पनि छ, यो सपनालाई विपनामा परिणत गर्ने योजनाहरू पनि छन् । तर चाहँदाचाँहदै पनि कहिले नहुने, कहिले रोकिनुपर्ने अवस्था छ ।’
पढ्दै कमाउँदै
अहिले नेपाली शिक्षा क्षेत्रमा बहस हुने अर्को कुरा हो- विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवस्था भएन । जसकारण विद्यार्थी विदेसिन थालेका छन् । टेक्सास कलेजले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने अवसर दिएको प्राचार्य श्रेष्ठ बताउँछन् । उनी आफू पनि पढ्दै, पढाउँदै यो ठाउँमा पुगेको बताउँदै नेपालमा पनि गर्न चाहने विद्यार्थीका लागि प्रशस्त ठाउँ रहेको बताउँछन् ।
उनी अन्य देशभन्दा नेपालमा पढ्न, काम गर्न विद्यार्थीका लागि निक सहज रहेको बताउँछन् । शैक्षिक गतिविधिको क्रममा श्रेष्ठ विभिन्न देश पुगेका छन् । त्यहाँको भ्रमण गरिरहदा उनी त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीसँग भेटघाट गर्छन् । उनले केही समय पहिले अष्ट्रेलिया पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूसँग पनि कुरा गरे । तर उनीहरूको अवस्था देखेर दुःख लागेको बताए ।
‘विदेशमा सहज छैन, मैले यस्तोसम्म विद्यार्थी देखेको छु, हप्ता दिनसम्म पुग्ने खाना पकाएर फ्रिजमा राखेर काम गर्छन्, खाने समय नहुँदा बाटैमा खाना खानुपर्ने अवस्था छ,’ उनले भने । उनी विदेश सोचेजस्तो नरहेको भन्दै नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन गर्न आग्रह गर्छन् ।
फेसबुकमा राखेको फोटो, टिकटकमा राखिएको भिडियोजस्तो सहज नभएको भन्दै उनी उनीहरूले भोगेको कुरा सेयर गर्न नचाहेर यस्ता कुरा बाहिर नआउँदा पनि नेपाली विद्यार्थीले यथार्थ थाहा नपाइ विदेश लागेको उनको बुझाइ छ ।
आवश्यकताअनुसार छात्रवृत्ति
सरकारले निजी क्षेत्रका कलेजलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य गर्न भनेको छ । टेक्सास कलेज १० प्रतिशतभन्दा बढी विद्यार्थीलाई कलेजले नि:शुल्क अध्ययन गराइरहेको प्राचार्य श्रेष्ठको दावी छ ।
मानौं हामी कहाँ कुनै विद्यार्थी पढ्दै छ, यहीबीचमा त्यो परिवारको बुवा अर्थात् उनलाई पढाउन खर्च गर्ने सदस्यको निधन भयो भने हामीले बच्चालाई अब पैसा तिर्न सक्दैन भनेर विद्यालयबाट निकाल्ने अवस्था हुँदैन ।
अहिले टेक्सासमा यस्ता घटना भएका धेरै विद्यार्थी छन्, जो अहिले अध्ययन गरिरहेका छन् । ‘हामीले यस्ता बच्चालाई ब्याचलर्समात्र होइन, मास्टर्ससम्मै पढाएका छौं । जुन १० प्रतिशत छ, यो त नि:शुल्क गर्छौ । त्योभन्दा बाहेक अन्य निकाय पनि हामीसँग ठोकिएका हुन्छन, कसैले अनुरोध गर्छन्, हामीले त्यस्ता विद्यार्थीलाई पनि स्कुल कलेजमा अध्ययन गराउँछौं, ’ उनले भने ।
कलेज सञ्चालनमा आएको १५ वर्षमा पैसाको अभावले एक जना पनि परीक्षाबाट वञ्चित भएको अवस्था छैन । तर, निजी कलेजको कुरा गर्दा आयस्रोतको बाटो नै विद्यार्थीले तिर्ने शुल्क नै हो ।
सरकार र निजी क्षेत्रकाे सहकार्य आवश्यक
प्राचार्य श्रेष्ठ विभिन्न समस्या बीचमा रहेको देश पनि शिक्षा, स्वास्थ्यमा अगाडि बढेको बताउँदै भगवानले उपहार दिएको नेपालको अवस्था यस्तो हुनु दुःखद रहेको बताउँछन् । यो विषयमा जब सरकारले कुरा बुझ्दैन तबसम्म यस्तै समस्या रहने उनको दाबी छ । ‘सरकार र निजी क्षेत्र एक अर्काका सहयात्री हुन्,सँगै गुड्नुपर्छ,’ उनी थप्छन्, ‘जबसम्म यी दुबै क्षेत्र सँगै अघि बढ्दैनन् तबसम्म अवस्था यस्तै रहने छ ।’
टोयोटा गाडीका कारण अहिले जापान कुन ठाउँ पुगेको छ, टाटा गाडीको कम्पनीले भारतका लाखौं मान्छेले रोजगार पाएका छन्, हुण्डाईका कारण साउथन एसियामा लाखौं मान्छेले सेवा पाइरहेका छन् । यस्ता उदाहरण थुप्रै छन् । निजी कम्पनीले राष्ट्रका लागि योगदान पुर्याएका छन् । जुन ठाउँमा सरकार पुग्न सकेको हुँदैन, त्यो ठाउँमा निजी क्षेत्रले आफ्नो मिहिनेत खर्चेर रोजगार सिर्जना गरेको छ ।
यस्तै यो टेक्सास कलेजमा पनि ३ सय बढी व्यक्तिले रोजगार पाएका छन् । तर सरकारी तवरबाट निजी क्षेत्रलाई अगाडि बढ्ने त्यो किसिमको वातावरण सिर्जना गरेको पाइँदैन ।
‘जुन दिनसम्म हामीले राम्रो सेवा दिन्छौं, त्यो दिनसम्म हामी टिक्छौं, जुन दिन गुणस्तर सेवा दिन सक्दैनौं, त्यो दिन हामी आफै सिद्धिन्छौं । यसकारण निजी क्षेत्रले आफ्नो तर्फबाट जहिले बेस्ट दिने प्रयास गरिरहन्छ,’ उनी भन्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.