२०८१ पुष १५ गते १०:५१ विकासन्युज
काठमाडौं । ‘मैले ग्लोबल आईएमई बैंकलाई विश्वका हजार बैंकहरूमध्ये एक बैंक बनाउने भन्ने इच्छा भएको सुनाएको छु । यो खास ठूलो कुरा हो जस्तो लाग्दैन । किनभने पुँजीको आकारको हिसाबले एक/दुई वर्ष नगदको सट्टा बोनस सेयर वितरण गर्ने हो भने विश्वका हजारवटा बैंकमध्येको एक ग्लोबल बैंक भइहाल्छ । धेरैपछि सुरु गरेर पनि नेपालमा एक नम्बरमा भयौं भने अब अलिकति मिहिनेत गरेर उत्कृष्ट हजार बैंकमा ग्लोबललाई पुर्याउने नै हो र त्यो पुग्छ पनि,’ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष एक कार्यक्रममा भनेका थिए ।
उनकै लक्ष्यमा टेवा पुग्ने गरी यस वर्ष पनि बैंकले सेयरधनीलाई लाभांशमा नगद होइन, बोनस सेयर वितरण गर्यो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ खर्ब ११ करोड ५८ लाख रुपैयाँ भएको छ । बैंकको निक्षेप ५२९.३८ अर्ब पुगेकोे छ भने कर्जा लगानी ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ ।
व्यावसायिक रूपमा सञ्चालनमा आएको ग्लोबल बैंक आगामी पुस १८ गते १८ वर्ष पूरा हुँदैछ । स्थापनाको १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न १८ योजनासहित आफ्नो आगामी यात्राको मार्ग तय गरेको छ । जसमा अध्यक्ष ढकालले भने झैं विश्वका हजारवटा बैंकमध्येको एक ग्लोबललाई पुर्याउने हेतुले बैंकका आगामी योजना तथा रणनीति तय गरिएका छन् ।
आगामी दिनमा ग्राहकलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीलाई उचित प्रतिफल दिने बैंकको मुख्य योजना रहेको छ । बैंकका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी आगामी रणनीति तय गरिएका हुन् ।
‘ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राखेका छौं । भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्याउने लक्ष्य लिएका छौं,’ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेलले भने, ‘भरपर्दो र विश्वासिलो डिजिटल बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुने, बैंकको मानव संशाधनको लागत घट्नेछ ।’
यसरी प्रदान गरिने प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालीन मजबुतीकरणमा मद्दत पुग्ने र सेयरधनीहरूलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउन सकिने बैंकको विश्वास छ ।
बैंकका १८ रणनीति तथा योजना
‘सबैको लागि बैंक’ भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलताउन्मुख रहेको बैंकको ठम्याइ छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा कार्यालय, शाखारहित बैंकिङ सेवा, एटीएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत गरी कुल १ हजार १ सय सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठूलो संख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति बैंकको प्राथमिकतामा छ ।
आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैंकले निक्षेपतर्फ चल्ती र बचत खातामा जोड दिँदैछ भने कर्जा प्रवाहतर्फ साना मझौला कर्जा, उपभोग्य कर्जा, सरकारको प्राथमिकतामा राखेका क्षेत्रलाई प्राथमिकता प्रदान गर्ने नीति लिएको छ । त्यस्तै, बैकिङ सेवा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिने छ । बैंकले निक्षेपकर्ता, ऋणी र सेयरधनी तीनै पक्षलाई लाभ हुने गरी बैंकिङ सेवामा जोड दिने भएको छ । जसबाट सेयरधनीहरूलाई उचित प्रतिफल प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधिलाई थप प्रवर्द्धन गरिने बैंकले जनाएको छ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैकिङ इकाई स्थापना गरी कार्यक्रम अगाडि बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रूपमा स्थापित गर्ने/गराउने नीति लिने भएको छ ।
बैंकले थप भ्यालू एडेड सर्भिसेज तथा प्रडक्ट बजारमा पुर्याउने कार्ययोजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रडक्टहरूको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकताअनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैंकले प्रविधिमा आधारित ग्लोबल जुनियर एप तथा सेयरधितो दुर्त कर्जा कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्नेमा सबै अर्थशास्त्री, व्यवसायीबीच समान विचार छ । यही मान्यतालाई आत्मबोध गर्दै बैंकले यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत स्रोतको रूपमा महत्त्व दिएको बैंकले जनाएको छ । यो नीतिलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने बैंकको भनाइ छ ।
मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्य निरन्तर रूपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीनवटै तहका सरकारको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।
विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधारसमेत हो । संसारभर विभिन्न राष्ट्रमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ । आगामी वर्ष यस बैंकमार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्न रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने नीति बैंकले लिएको छ ।
बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालय सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एसियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको बैंकले जनाएको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिकाजस्ता विभिन्न सम्भाव्य राष्ट्रमा शाखा कार्यालय खोली कारोबार गर्ने बैंकको योजना छ । त्यसैगरी, डिजिटल मोनी (इमोनी) कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने बैंकले जनाएको छ ।
बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै, आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडि बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिङ इकाइ गठन गरी आवश्यक पूर्वाधारसमेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवा डिजिटल बैंकिंङको प्रविधिमार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने भएको छ ।
आन्तरिक काम कारवाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने बैंकको नीति रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्नेलगायत कार्डसम्बद्ध सेवा, एलसी/ग्यारेन्टी सुविधा, सेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल यूनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यवसायिक प्रभावकारीता बढाएको विश्वाससहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने बैंकको नीति छ ।
कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्यतालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदानप्रदान गर्ने व्यवस्था मिलाएको छ ।
बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालनमा जोड दिएको जनाएको छ । सङ्घीय सरकार तथा राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीतिअनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ । बैंकले गत आर्थिक वर्षमा मात्र नेपाल सरकारलाई ४ अर्ब ५ करोड रुपैयाँ राजश्व बुझाएको छ । मुलुकले अबलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिएको छ ।
समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षणलगायत एवं विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अबलम्बन गर्नेछ ।
बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्त्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अबलम्वन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रकृयाहरूमा थप पुनरावलोकन गरी आवश्यकताअनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने/गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्षदेखि नै अन्तर्राष्ट्रिय वित्त निगमको एडभाइजरी सर्भिसेस लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएको छ ।
कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रूपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमा नै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्षदेखि नै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिने छ ।
अन्तर्राष्ट्रिय वित्त निकायहरूसँग साझेदारी
बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरू जस्तै- अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई), स्विस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट, ग्लोबल क्लाइमेट पार्टनरसिप फण्ड, केएफडब्लू डेभलपमेन्ट, माश्रेक बैंक जस्ता वित्तीय संस्थाबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आर्थिक वर्षमा समेत बैंकको अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष, एसियाली विकास बैंक (एडीबी), विकास वित्त निगम (डीएफसी), एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) जस्ता निकायबाट आवश्यकता र औचित्यताका आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । उक्त अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको व्यवसायिक सम्बन्धले लगानीको स्रोत प्राप्त गरेको मात्र नभई बैंकको अन्तर्राष्ट्रिय साखमा समेत अभिवृद्धि भएको र बैंकले गरेको स्रोतको उपयोग तथा कार्य सञ्चालनबाट अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरू थप उत्साहित भई बैंकसँग थप कारोबारको लागि अनुरोध गरिरहेका छन् । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडि बढाइने नीति रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.