भ्रष्टाचार मुद्दामा मेयर निलम्बित, नागार्जुन नगरपालिकाको कार्यवाहक मेयर बनिन् सुशीला अधिकारी

  २०८१ पुष १५ गते १२:४९     विकासन्युज

काठमाडौं । नागार्जुन नगरपालिकाको उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बनेकी छन् ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बन भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका बस्नेत नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका थिए ।

बस्नेत निलम्बनमा परेपछि नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी कार्यवाहक मेयर बनिन् ।

अधिकारी पनि दोस्रो पटक उपमेयरमा निर्वाचित भएकी हुन् ।

आयोगले एक हाउजिङ कम्पनी पद्मा मर्चेन्ट र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट मेयर बस्नेतले ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ ।

मेयर बस्नेतले पद्मा मर्चेन्टलाई फाइदा हुनेगरी स्थानीय बासिन्दाहरूलाई निकै कम मूल्यमा जग्गा बेच्न लगाएका थिए । अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए ।

साथै अख्तियारले पद्मा मर्चेन्ट कम्पनी र त्यसका सञ्चालक कँडेलबाट लाभ लिएको आरोपसमेत लगाएको छ ।

अख्तियारका अनुसार कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी अख्तियारको छ ।

अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ ।

अख्तियारले पद्मा कोलोनीका सञ्चालक बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.