२०८१ पुष १५ गते १६:५२ विकासन्युज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । उनले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणम बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए ।
उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए । गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गरेको आरोप लगाउँदै बद्मासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।
‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनको ठाउँमा सायद म बोल्दैछु । म गिरिबन्धु टिस्टेटमा उहाँले गरेको बद्मासीलाई पर्दाफास गरेरै छोड्नेछु’, उनले भने ।
अध्यक्ष दाहालले नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धि खोस्न नदिने प्रतिवद्धता जनाए । संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.