२०८१ पुष १६ गते ८:४९ विकासन्युज
काठमाडौं । पुस १५ मा राष्ट्रिय च्याउ दिवस भव्य रूपमा मनाइयो । विभिन्न कार्यक्रमहरूको आयोजना गरी च्याउ दिवस सम्पन्न मनाइएको हो । २०७६ सालमा च्याउ उत्पादक किसान एकजुट भएर मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ गरेपछि पुस १५ गते राष्ट्रिय च्याउ दिवस तोकेका थिए । त्यसैले किसानहरूले प्रत्येक पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउन थालेका हुन् ।
च्याउ दिवसका अवसरमा च्याउ उत्पादक किसान संघले राजधानीको भृकुटीमण्डपमा सोमबार च्याउ मेला तथा प्रदर्शनी आयोजना गरेक हो । मेलामा ४० वटा स्टलमा च्याउसँग सम्बन्धित विभिन्न वस्तु प्रदर्शनी राखिएका थिए ।
च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्की नेपालमा ३५ हजार किसान च्याउखेतीमा आवद्ध रहेको बताउँछन् । विभिन्न जातका च्याउ उत्पादन र १५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुने गरेको उनले बताए । नेपालको ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रूपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेको उनले बताए । अध्यक्ष कार्कीका अनुसार हालसम्म च्याउको बीउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा छन् ।
हाल दैनिक गोलो च्याउ ८ हजार केजीदेखि १० हजार केजी उत्पादन भइरहेको छ । यस्तै, कन्य च्याउ ४० हजार केजीदेखि ५० हजार केजी उत्पादन भइरहेको कार्कीले बताए । अब १० दिनपछि च्याउको मूल्य सस्तिने उनले जानकारी दिए । बढी उत्पादन भएर लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ । सिताके च्याउ भने न्यून उत्पादन भइरहेको उनले बताए ।
के हो च्याउ ?
च्याउ एक प्रकारको ढुसी हो । तर, सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफै बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागोजस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा ‘माइसेलियम’ भनिन्छ । यिनीहरू कुहिएको वस्तु, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यवर्द्धक खाद्यवस्तु हो । त्यसैले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ ।
नेपालमा हाल गोभ्रे, कन्य, सिताके, दुघे र राजा च्याउको व्यावसायिक रूपमा खेती गरिँदै आएको छ । नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् । तर, यसको अध्ययन, अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमूल्य जातका च्याउको उत्पादन र निर्यातको पर्याप्त सम्भावना हुदाँहुदै सरकारको ध्यान पुग्न नसकेको कार्कीको भनाइ छ ।
नेपालमा च्याउको इतिहास
नेपालमा प्राचीन समयदेखि नै च्याउको उपभोग गरिँदै आएको पाइन्छ । व्यावसायिक रूपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाइन्छ । सर्वप्रथम कन्य च्याउको उत्पादन र अनुसन्धानपश्चात् विसं २०३०/३१ मा गोब्रेच्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको देखिन्छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि विसं २०३७ सालबाट देशका विभिन्न स्थानका किसानलाई च्याउखेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४/३५ सालबाट नै काठमाडौंको बलम्बु, चापागाउँ, दधिकोट हुँदै देशभर च्याउखेती गरिँदै आएको हो । हाल च्याउ उपभोग गर्ने मानिसको संख्या बढ्दै गएपछि व्यावसायिक उत्पादन गर्ने किसानको संख्या पनि दैनिक बढिरहेको संघका अध्यक्ष कार्कीले बताए ।
‘च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्छ, कृषि मन्त्रालयले बीमामा करिब ७५ प्रतिशत अनुदान दिएको छ । तर, च्याउको बीमा गर्न बीमा कम्पनीहरू मान्नु हुँदैन,’ गुनासो गर्दै अध्यक्ष कार्कीले भने, ‘च्याउ उत्पादन गर्न उचित नीति आवश्यक छ । कुन किसिमको च्याउ खेती गर्ने, त्यसको कसरी बजारीकरण गर्ने भन्ने विषयमा सरकारले नीति ल्याउनुपर्छ ।’
साथै च्याउमा नेपाल आत्मनिर्भर बन्नेतर्फ अग्रसर भएको उनको भनाइ छ । तर, राज्यले सहयोगबिना सम्भव नरहेको उनले बताए ।
‘डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसक्यो, दुई/चार वर्षमै आत्मनिर्भर बन्न सक्छौं । सरकारले उचित पहल गरिदिनुपर्छ,’ उनले भने, ‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिएमा मुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्नेछ ।’
कुन वर्ष कति च्याउ आयात ?
च्याउ उत्पादक किसान संघका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० मा १८ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको ७ लाख ४९४ केजी च्याउ आयात भएको थियो । यस्तै, गत आव २०८०/८१ मा १० करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको ३ लाख ८१ हजार ८७१ केजी च्याउन आयात भएको संघको दाबी छ । तर, पछिल्लो समय च्याउ आयात घटेको तथ्याङ्कले देखाएको छ । चालु आव २०८१/८२ को मसिरसम्म १ करोड ९१ लाख ४६ हजार रुपैयाँको ३५ हजार १५५ केजीमात्रै च्याउ आयात भएको देखिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.