२०२४ मा पर्यटन क्षेत्र : होटलको संख्या बढ्यो, बढेन गतिविधि

  २०८१ पुष १६ गते ११:४६     बबिता तामाङ

 

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सबल बनाउने महत्त्वपूर्ण क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि एक हो । सन् २०१९ मा विश्वभरि महामारीको रूपमा फैलिएको कोभिडले शिथिल बनाएको यो क्षेत्र अहिले पनि पूर्ण रूपमा उठ्न सकेको छैन । यो क्षेत्र विस्तारै लयमा फकिने क्रममा छ ।

पर्यटन क्षेत्रको लागि २०२४ सोचेअनरूप हुन सकेन । विभिन्न नीतिगत समस्या, प्राकृतिक प्रकोपलगायत कारणले यो वर्ष पर्यटन क्षेत्रको लागि चुनौती बनेर नै उभिएको यस क्षेत्रका व्यवसायीहरूको धारणा छ ।

यो वर्ष लक्ष्यअनुरूप पर्यटक पनि भित्रिन सकेको छैन । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार २०२४ को पहिलो ११ महिनामा १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले सन् २०२४ मा १३ लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार डिसेम्बरको अन्त्यसम्ममा ११ लाख २५ हजारसम्म पर्यटक नेपाल भित्रिने देखिएको छ । जुन लक्ष्यभन्दा २ लाख कम भित्रिने भएको हो ।

निर्देशक लामिछानेले २०२३ मा भन्दा यो वर्ष १५/२० प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार २०१९ को तुलनामा ९४ प्रतिशतले पर्यटन क्षेत्रमा रिकभर भएको छ ।

एसिया प्यासिफिकअनुसार ८५ प्रतिशतले रिकभर भएको देखाएको छ । यसरी हेर्दा २०२४ पर्यटन क्षेत्रको लागि सकारात्मक वर्षको रूपमा लिनुपर्ने निर्देशक लामिछाने बताउँछन् ।

२०२४ मा देखिएको चुनौती

२०२४ पर्यटन क्षेत्रको लागि चुनौतीपूर्ण नै रह्यो । त्रिभुवन विमानस्थल दैनिक ८ देखि १० घण्टा बन्द हुँदा पर्यटन आगमनको फ्लोमा ठूलो धक्का लाग्यो ।

निर्देशक लामिछाने उडान कटौती हुँदा हवाई टिकट तेब्बरले महंगो भएको बताउँछन् । लामिछानेका अनुसार अहिले एयरलाइन्सको ३० प्रतिशतले अप्रेसन कस्ट घटेको छ । यसले ४० प्रतिशत पर्यटक आगमनलाई असर पारेको उनले प्रष्ट्याए ।

जुलाईमा पर्यटक बोकेको भारतीय दुई बस दुर्घटना हुन पुग्यो । यस दुर्घटनाले सडकबाट यात्रा गर्न धेरै पर्यटकहरू डराए । जसले गर्दा गत वर्षको तुलनामा यो वर्ष भारतीय पर्यटकको आगमनमा कमी आएको निर्देशक लामिछानेले बताए ।

लामिछानेका अनुसार गत वर्ष कुल पर्यटक आगमनको ३५ प्रतिशत भारतीय पर्यटक नेपाल भित्रिएका थिए भने यस वर्ष १२ प्रतिशत मात्रै पर्यटक भित्रिएको छ । विमान दुर्घटनाको प्रभावले युरोप र अमेरिकाबाट आउने पर्यटको संख्यामा समेत कमी आयो ।

नेपालमा सन् २०२४ मा नयाँ अन्तर्राष्ट्रिय चेन होटलहरू हिल्टन, होलिडे इनलगायत खुलेका छन्, कति खुल्ने क्रममा छन् । यसले नेपालमा पछिल्लो समय ‘क्वालिटी टुरिष्ट’ को आगमन बढेको निर्देशक लामिछाने बताउँछन् । अन्तर्राष्ट्रिय चेन होटल आउनु भनेकै नेपालमा क्वालिटी टुरिष्टको सम्भावना बढेर गएको उनले बताए ।

विश्वमा पछिल्लो समय धनीको संख्या बढेपनि त्यसअनुसार घुम्ने समय कम भएको छ । यसले गर्दा पछिल्लो समय थोरै समयमा धेरै ठाउँ घुम्ने चलन बढेको छ । यसमा सरकारले ध्यान दिनुपर्नेमा त्यो हुन नसक्नु पर्यटन क्षेत्रको लागि चुनौती थपिएको
निर्देशक लामिछाने बताउँछन् ।

केही हप्ताअघि सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गर्‍यो । तत्काल हवाई व्यवसायीहरूले अस्वीकार गरेपनि दिर्घकालीन रूपमा यसको असर पर्यटन क्षेत्रलाई नै पुग्ने निर्देशक लामिछानेको भनाइ छ । खर्च गर्न पैसा भएका ठूला व्यक्तिहरू जसलाई ट्रेकिङ गर्न कम समय छ, त्यस्ताहरूलाई हवाईबाट मात्रै सम्भव भएकाले यसतर्फ पनि सरकारले सोच्नुपर्ने लामिछाने सुनाउँछन् ।

२०२४ मा घटेका दुई दु:खद घटना

२०२४ पनि अरू वर्षजस्तै जहाज दुर्घटनाले निरन्तरता पायो । यो वर्षको जुलाई ९ मा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको थियो । जुन दुर्घटना अन्तर्राष्ट्रिय विमानस्थल नजिक नै भएको हो । दुर्घटनामा पाइलटबाहेक १८ जनाले ज्यान गुमाएका थिए ।

सौर्य जहाज दुर्घटना भएको १५ दिनपछि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीको लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जंगलमा दुर्घटना भएको थियो । जुन दुर्घटनामा चालकसहित पाँच जनाले ज्यान गुमाएका थिए ।

अन्य महत्त्वपूर्ण गतिविधि

२०२४ अर्थात नोभेम्बर ८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको लागि भन्दै दैनिक १० घण्टा उडान बन्द गर्ने निर्णय भयो । हाल भने दैनिक ८ घण्टा बन्द भइरहेको छ । यसले उडानमा ठूलो कटौती भएको छ । जसले गर्दा हवाई भाडा महंगिनुको साथै टिकट पाउन मुस्किल छ । जसको असर पर्यटन क्षेत्रले भोग्नुपरेको छ ।

करिब चार दशकदेखि बन्द अवस्थामा रहेको टिकापुर विमानस्थल पनि यही वर्षबाट सञ्चालनमा आएको छ । नोभेम्बर ३० बाट उक्त विमानस्थल सञ्चालनमा आएको हो । यसबाहेक यस वर्ष अर्को ठूलो घटना नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टचार ठहर गरेको भन्दै चार जनालाई दोषी ठहर भएको छ । जसमा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी ठहर भए ।

यसबाहेक यसै वर्ष नयाँ पर्यटन नीति २०८१ बन्ने क्रममा छ । जुन सन् २०२४ को सकारात्मक पक्ष हो । अर्को नयाँ पर्यटन ऐन मन्त्रिपरिषदबाट पास भएर संसदमा पुगेको छ । यसले पर्यटन व्यवसायीलाई व्यवसाय गर्न सहजीकरण हुने अपेक्षा गरिएको छ ।

सकारात्मक पक्ष

अन्तर्राष्ट्रिय पत्रिका सीएनएले विश्वका उत्कृष्ट एक सय गन्तव्यको सूचीमा बर्दियाको बुरान रिर्सोटलाई समेटेको छ । सीएनएनले संसारका उत्कृष्ट रिर्सोटहरूको सूचीमा नेपालको सिन्तामणि रिर्सोटलाई समेटको छ ।

ट्राभल गाइड लोन्ली प्लानेटका अनुसार २०२५ मा घुम्नै पर्ने विश्वका शीर्ष ३० ट्राभल गन्तव्यको सूचीमा नेपालको तराई क्षेत्रलाई समेटेको छ । त्यस्तै, विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यको रूपमा काठमाडौंलाई समेटेको छ । यी सबै कुराले गर्दा नेपाल घुम्नको लागि उत्कृष्ट गन्तव्य भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश पुगेको छ । नेपालको पर्यटन क्षेत्रको लागि यो सकारात्मक पक्ष हो ।

पर्यटन व्यवसायीको नजरमा सन् २०२४

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष कुमार मणि थपलियाले सन् २०२४ पर्यटन क्षेत्रको लागि उतारचढाव वर्ष भएको बताएका छन् । ‘विभिन्न नीतिगत कारण, अन्तर्राष्ट्रिय विमानस्थल स्तोरोन्ति विस्तारलगायतका कारणले सोचेअनुरूप पर्यटक भित्र्याउन सकेन,’ अध्यक्ष थपलियाले भने, ‘दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा उडान प्रभावित हुन पुग्यो । जसले गर्दा युरोपियन मुलुकसहित छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्या घट्न पुग्यो ।’

त्यसबाहेक सन् २०२४ मा हवाई टिकट अचाक्ली महंगो हुन पुग्यो । जसले गर्दा पर्यटकलाई असुविधा पुग्न गएको उनले बताए । उनका अनुसार टिकट महंगो त्यसमा पनि टिकटै नपाउने समस्या पर्यटकले बेहोर्नुपर्दा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह नभएकोमा दु:ख व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे सरकारी निकायदेखि विभिन्न निकायबाट हुनुपर्ने कामकारबाहीमा ढिलासुस्ती हुने प्रवृत्ति सन् २०२४ मा पनि निरन्तरता पाएको बताउँछन् । काठमाडौं–पोखराको सडक नबन्दा यो वर्ष पर्यटकले ठूलो सास्ती खेप्नुपरेको उनले बताए । ‘पर्यटकहरु सबै हवाईबाट यात्रा गर्न असम्भव छ, कति जनाले सडकको यात्रा गर्नुपर्छ । समयमै सडक नबन्दा, चार घण्टामा पुग्ने बाटोमा १० घण्टा लागेको छ, यसले पर्यटन क्षेत्रमा ठूलो चुनौती थपेको छ,’ उनले भने ।

अध्यक्ष पाण्डेको नजरमा पनि प्राकृतिक विपत्ति, हवाई दुर्घटना र विमानस्थल विस्तारको लागि हवाइ उडान कटौती हुँदा पर्यटन क्षेत्रमा जति राम्रो हुनुपर्ने त्यो हुन सकेन ।

साथै यी गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश पुगेको बताएका छन् । २०२४ मा नसोचेको समयमा बाढीपहिरो गयो, बाटोघाटो अवरुद्ध हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल घुम्नको लागि उपयुक्त छैन भन्ने सन्देश पुग्दा पर्यटक आगमन घट्न पुग्यो ।

अध्यक्ष पाण्डे २०२४ मा टानमा नयाँ कार्यसमित बनेको र नयाँ कार्यसमितिले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले अघि बढिरहेको बताए । साथै उनले अब पर्यटन व्यवसायीहरू सरकारले तयार पारेको नीतिमा मात्रै नअल्झेर नयाँ ढंगले अघि बढ्नुपर्ने बेला भएको बताए । उनले नयाँ पर्यटन पोलिसी बन्ने क्रममा भएको हुँदा समग्र पर्यटन क्षेत्रको विकास, पर्यटनमैत्री र आर्थिक क्षेत्रलाई माथि पुर्‍याउने किसिमको आउनुपर्ने सुझाव दिएका छन् ।

लामा एडभेन्चर ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक सन्तवीर लामा २०२४ अर्थतन्त्रलाई जति सहायता हुनुपर्ने त्यो नभएको तर्क राख्छन् । उनले २०२४ परम्परागत ढंगबाट नै समापन भएको बताए ।

‘नेपालको पर्यटन धेरै पुरानो हिसाबको भयो । विगतमा जसरी चल्थ्यो, अहिले पनि त्यसरी नै चलिरहेको छ । २०२४ मा सरकारले नयाँ गन्तव्य पहिचान गरी विकास गर्ने भन्ने कुरा थियो, त्यो नीतिमै सीमित भयो, कार्यान्वन हुन सकेन,’ लामाले भने ।

नेपालमा बेमौसी सिजनमा आएको बाढी, भुकम्पलगायत प्राकृतिक विपत्ति अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश प्रवाह हुन पुगेको लामाले बताए । उनले भने, ‘२०२४ मा रुकुम-पश्चिमा भूकम्प जाँदा अन्तर्राष्ट्रिय बजारमा काठमाडौं बाहिर बाटो नै छैन भन्ने सन्देश गयो । असोजमा आएको बाढीले धेरै ठाउँमा धनजनको क्षति हुन पुग्यो । त्यतिबेला धेरै पर्यटक घट्न पुग्यो । यी विपद्हरू नेपालमा आउँदा अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश प्रवाह हुन पुग्यो । यो गलत सन्देश भने छिमकी राष्ट्रले नै गरेका थिए, त यसको प्रतिवाद नेपाल सरकारले गर्न सकेन ।’

नेपाल पर्वतारोहन संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे कोभिडको समयमा थला परेको पर्यटन सन् २०२४ बाट लयमा फर्केको बताउँछन् । सन् २०२४ मा पर्यटन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकण बढेको र त्यसले पर्यटन क्षेत्रलाई राम्रो भएको उनको भनाइ छ । साथै उनले होटल र एयरलायन्सको संख्यामा उल्लेखनीय वृद्धि हुँदा आउँदा वर्षमा पर्यटन व्यवसायमा सम्भावना बढ्दै गएको सुनाए ।

संघका वरिष्ठ उपाध्यक्ष यो वर्ष प्राकृतिक विपत्तिले पूर्वाधारमा पुर्‍याएको क्षतिले धेरै पर्यटकलाई असुविधा हुन पुगेको र त्यसले पर्यटकको आगमनमा चुनौती थपिएको कुरामै जोड दिन्छन् । यसबाहेक नेपालले काठमाडौं, पोखरा, चितवनजस्ता ठाउँलाई मात्रै पर्यटकीय क्षेत्र नभएर देशका विभिन्न ठाउँहरू छन् जसलाई प्रचारप्रचार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

होटल संघ नेपालका महासचिव साजन शाक्य होटल व्यवसायीको लागि सन् २०२४ त्यति सन्तोषजनक नभएको बताउँछन् । यो वर्ष नयाँ होटलहरूको संख्या थपिएपनि त्यसअनुसारको पर्यटक भित्र्याउन नसक्दा सन्तोष मान्नुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

उनले भने, ‘यो वर्ष पाँचतारे होटल नै पाँचवटा भित्रियो, अन्य तारे होटलहरू पनि सञ्चालनमा आएका छन्, यो सकारात्मक पक्ष हो । यसले एकातिर रोजगारी सिर्जना गरेको छ, अर्कोतिर अर्थतन्त्रलाई सहयोग पुगेको छ । तर होटलको संख्या बढेअनुसार अकुपेन्सी बढ्न सकेको छैन ।’

महासचिव शाक्यका अनुसार अहिले होटलहरूको अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै छ । व्यवसायीहरूले सन्तोष मान्नका लागि होटलको अकुपेन्सी कम्तीमा ५० प्रतिशत माथि हुनुपर्छ । सरकारले सडक पूर्वाधारका समस्या समाधान र पर्यटनमैत्री बनाउन सकेको खण्डमा यो क्षेत्रमा आगामी दिनमा राम्रो गर्न सक्ने बताए ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी पर्यटन व्यवसायीको हकहितको लागि सोचेअनुसारको काम नभएको बताउँछन् । चितवनको सडक नबन्दा त्यहाँ आउने पर्यटक घट्न पुगेको उनले बताए ।

‘२०२४ मा हाम्रो लागि सडक चुनौती भएर खडा भयो । काठमाडौं-चितवन होस् चितवन-बुटवल या पोखरा । सडक अवरुद्ध हुन पुग्दा पर्यटकले सास्ती झेल्नुपर्‍यो । सडक, बाढी यति धेरै संवेदनशील कुरा हो यसले पर्यटनलाई धक्का हानिहाल्छ । त्यसले गर्दा पनि यो वर्ष अपेक्षाअनुसार भएन,’ उनले भने ।

अपेक्षाअनुसार पर्यटक नभित्रिँदा चितवनमा पर्यटन व्यवसायीहरू धराशायी अवस्थामा पुगेको उनले बताए । उनका अनुसार यो वर्ष बैंकको ब्याजदर घट्दा त्यसले राहत पुगेपनि धेरै कर्जा हुने व्यवसायीहरुको अवस्था अहिले पनि नाजुक भएको सुनाए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्यमण सुवेदी यो वर्ष ११ लाखभन्दा बढी पर्यटक ब भित्रिनुलाई नराम्रो भन्न नमिल्ने बताउँछन् । तर यसलाई पर्याप्त मान्नुपर्ने अवस्था भने नभएको सुनाउँछन् । उनले भने, ‘जुन हिसाबले धेरै पर्यटक भित्र्याउने अपेक्षा थियो, त्यो गराउन सकेन ।’

केही चार्टड फ्लाइडबाहेक अन्य उडान नियमित गर्न नसकेको उनको गुनासो छ ।

यो वर्ष पोखरामा मात्रै नभएर नेपालमै पहिलो पटक बेलुन फेस्टिबल सुरु हुनु पर्यटन क्षेत्रको लागि ठूलो अवसर रहेको उनले बताए । त्यसबाहेक यो वर्ष लामो समयदेखि आन्तारिक द्वन्द्वमा फसेको नेपाल पर्यटन बोर्डले नयाँ नेत्तृत्व पाएकोमा यो क्षेत्रको विकासको लागि सकारात्मक पक्ष औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.