२०८१ पुष १६ गते ११:५४ विकासन्युज
काठमाडौं । नेपाली काँग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताए । पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डोर्याउनुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
उनले काँग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बताए । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको उनको दाबी छ ।
‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ । पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ’, उनले भने ।
नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.