२०८१ पुष १६ गते १६:२१ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा यस समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ ।
बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो ।
तर केही व्यक्तिहरूले ऋणी/जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको थियो ।
प्रहरी कार्यालयमा छलफलका क्रममा खिचिएको भिडियोको आधारमा शाखा प्रबन्धक पक्राउ परेको झुटो समाचार फैलाइएको बैंकले जनाएको छ ।
बैंकले यो जानकारी गलत भएको र ऋण असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ ।
कानुनी प्रक्रियातर्फ नगई बैंकजस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरी वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको छ ।
साथै बैंकजस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा बैंकले अनुरोधसमेत गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.