जापानमा भारी हिमपात, दर्जनौँ उडान रद्द

  २०८१ पुष १६ गते १७:०२     विकासन्युज

काठमाडौं । लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मंगलबार दर्जनौँ उडान रद्द गर्यो ।

जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र छ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइडोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवा थिए ।

यसको मुख्य प्रतिद्वन्द्वी एएनएले पनि उत्तरमा खराब मौसमका कारण आठ सय यात्रुलाई प्रभावित पार्दै १४ उडान रद्द गर्यो र आफ्ना ग्राहकहरूलाई सम्भावित ढिलाइ र थप रद्दको चेतावनी दियो ।

होक्काइडोको मुख्य विमानस्थलमा यात्रुहरूले वैकल्पिक उडानहरू सुरक्षित गर्न लामो लाइनहरू बनाए । केहीले सन् २०२५ को स्वागत प्रस्थान कक्षमै गर्ने तयारी गरे ।

‘हिउँ देख्न पाउँदा राम्रो थियो तर म यहाँ फस्छु भन्ने मैले सोचेको थिइनँ’, दक्षिणको ओकिनावा घर जान खोजिरहेका एका व्यक्तिले प्रसारणकर्ता एचटिबीलाई भने, ‘के गर्ने मलाई थाहा छैन । म आज राति विमानस्थलमा बस्नुपर्ने हुन सक्छ ।’

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार होक्काइडो र जापान सागर फर्केका उत्तरी तटरेखाका समुदायहरूले मंगलबार तीव्र हावा र भारी हिमपातको अनुभव गरिरहेका छन् ।

मौसम एजेन्सीका अनुसार सोमबारदेखि होक्काइडोका केही क्षेत्रमा २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी हिमपात भएको छ । जसमध्ये धेरैजसो मंगलबार बिहान परेको थियो र नयाँ वर्षको दिनसम्म हिमपात जारी रहने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनका कारण चरम गर्मीले विश्वका धेरै भागहरू ओगटेसँगै यस वर्ष जापानको गर्मी रेकर्ड सन् २०२३ को बराबर थियो ।

राष्ट्रिय मौसम एजेन्सीका अनुसार १२६ वर्षअघि रेकर्ड सुरु भएदेखि शरद ऋतु सबैभन्दा तातो थियो ।

माउन्ट फुजीको प्रसिद्ध हिउँको टोपी पनि यस वर्ष अहिलेसम्मकै सबैभन्दा लामो अवधिसम्म अनुपस्थित रह्यो । सामान्यतया अक्टोबरको सुरुमा देखिने भए पनि यो नोभेम्बरको सुरुसम्म देखिएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.