विदेशी पर्यटक बढाउन ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने

  २०८१ पुष १६ गते २०:२१     विकासन्युज

काठमाडौं । सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको काम गरिरहेको बताए ।

नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ मा ११ लाख ४७ हजार २४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । डिसेम्बरमा मात्रै ८९ हजार ७६५ पर्यटक आएका छन् । यो आज बिहानसम्मको तथ्याङ्क हो । थप एक दिनको जोडेर यो वर्ष ११ लाख ५० हजार हाराहारीमा विदेशी पर्यटकको सङ्ख्या पुग्ने बोर्डको विश्वास छ । यसअघि सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए ।

पर्यटनमन्त्री पाण्डेले नेपालको मौलिक पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश भएको बताउँदै उहाँले यही विविधताका बीच एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको धारणा राखे ।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए ।

पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए ।

बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने खाँचो औँल्याए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किंदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे । कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ मा नेपालमा ११ लाख ५० हजार हाराहारी पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालमा ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए ।

कार्यक्रममा बोर्ड कर्मचारी सङ्गठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’को विमोचन गर्नाका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.