३१ हजार पर्यटकले भ्रमण गरे अन्नपूर्ण, फस्टायो होटल व्यवसाय

  २०८१ पुष १८ गते ६:५८     विकासन्युज

काठमाडौं । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार ८६६ विदेशी पर्यटक आएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार ४९९ पुरुष, १२ हजार ३६२ महिला र ५ अन्य व्यक्ति रहेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका १ हजार ५६७ पुरुष र २८७ महिला यहाँ आएका थिए । त्यस्तै, अन्य राष्ट्रका १६ हजार ९३२ पुरुष, १२ हजार ७५ महिला र अन्य ५ विदेशी पर्यटक आएका थिए ।

फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताए । कोरोना महामारीले थला परेको यस क्षेत्रमा केही वर्षदेखि क्रमशः पर्यटक बर्सेनि बढ्दै गएको पाइन्छ ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा ९ हजार ६१९ बढी विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा २१ हजार २४७ विदेशी पर्यटक आएका थिए । सोमध्ये १२ हजार ९८१ पुरुष र ८ हजार २६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।

यस केन्द्रका इन्चार्ज गुरुङका अनुसार सन् २०२३ मा १२२ देशका नागरिक यस पदमार्गमा आएका थिए ।

त्यस्तै, सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक यहाँ आएका थिए । सोमध्ये १० हजार ३६४ र ५ हजार ५३६ महिला रहेका केन्द्रले जनाएको छ । सन् २०२२ यसको तुलनामा सन् २०२३ मा ५ हजार ३४७ विदेशी पर्यटक बढी आएका थिए ।

सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा बढी फ्रान्सका २ हजार १२ जना रहेका थिए । केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार ६२७ पर्यटक बढी आएका थिए ।

सन् २०२१ मा १ हजार ५६२ पुरुष र ७११ महिला गरी २ हजार २७३ पर्यटक आएका थिए ।

त्यस्तै, सन् २०२० मा एक हजार ९७६ पर्यटक आएका थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ पर्यटक तथा सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए ।

सन् २०१७ देखि पर्यटक आगमन वृद्धि हुँदै गएकामा सन् २०२० मा कोरोना सङ्क्रमणका कारण पदमार्ग क्षेत्र प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका-७ मनाङे चौतारा हो ।

यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।

साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायत हेर्नका लागि पनि पर्यटक यहाँ आउने गरेका छन् । यस पदमार्गमा पर्यटक आगमन हुँदा यहाँ होटल व्यवसाय फस्टाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.