सरकारले ४० अर्ब नतिरेपछि निर्माण व्यवसायीहरू सरकारविरुद्ध खनिए

  २०८१ पुष १८ गते १७:२४     विकासन्युज

काठमाडौं । सरकारले निर्माण कार्य गरेबापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल निर्माण व्यवसायीहरू आक्रोसित बनेका छन् । गत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रकम अझै भुक्तानी नभएको भन्दै व्यवसायीहरू सरकारविरुद्ध खनिएका हुन् ।

बिहीबार गरिएको पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफूहरूले रकम भुक्तानी नपाउ्रँदा विकराल अवस्था आएको बताए । सरकारले सात दिनभित्रमा निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्छु भनेर वाचा गरेको भएपनि हालसम्म उक्त रकम भुक्तानी नभएको उनको भनाइ छ ।

‘सरकारले सात दिनमै रकम भुक्तानी गर्छु वाचा गरेको थियो। तर त्यस्ता सात दिन ४ पटक बित्दापनि कुनै खबर आएन,’ उनले भने, ‘हामी आफैं मन्त्रालय जाँदा भुक्तानी नभएको आयोजनाको सूची लिएर आउनुस् भनेर जवाफ दिन्छ । भुक्तानीको आश देखाएर टेर्दै नटेर्ने ।’

उनका अनुसार निमार्ण व्यवसायीहरूले ४० अर्ब भुक्तानी हुन बाँकी छ। आर्थिक वर्ष २०८/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा निर्माण उद्योगका विद्यमान कुनै पनि समस्या सम्बोधन नभएको भन्दै निर्माण व्यवसायीहरुको भुक्तानीका समस्या स्थायी रुपले समाधान हुनुपर्ने माग समेत गरे ।

उनका अनुसार सरकारले साढे ६ खर्बका योजनाहरु सम्झौता गरेको छ । राज्य संयन्त्र चलाउने र कर्मचारीहरुको मिलेमतोमा आफूलाई ट्रयापमा पारिएको बताए ।

उनले भने, ‘बिना बजेटको योजना टेण्डर गराएर हामीसँग सम्झौता गरेको छ। जुन त्यो योजनाको रकमको व्यवस्थापन सरकारले गर्न सकेको छैन ।’

बिना बजेटका टेण्डर आह्वान भएबाट निर्माण उद्योगमा अझै प्रतिकुल अवस्था सिर्जना हुनसक्ने उनको भनाइ छ । आयोजना सञ्चालनमा रहेको तर सरकारी बजेट तथा कार्यक्रमबाट शिर्षक नै नभएका आयोजनाहरु आवश्यक पर्ने बजेटको सुनिश्चितता हुनुपर्ने माग गरे ।

यस्तै, अध्यक्ष सिंहले श्रोत सुनिश्चित नभएका योजनाहरु खारेज नगरे बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने चेतावनी दिए ।

निर्माण उद्योगका समस्या समाधानका लागि महासंघ समेतको प्रतिनिधित्व रहनेगरी तत्काल उच्चस्तरीय आयोग गठन गर्न पनि महासंघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.