विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति, ४ महिनामा काम सक्ने

  २०८१ पुष १९ गते ७:११     विकासन्युज

काठमाडौं । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । बागलुङ जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।

विश्व बैंकको अनुदानमा उक्त सडकको स्तरोन्नति अहिले धमाधम भइरहेको छ । असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ ।

बागलुङ नगरपालिका-७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २.२ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक एकसाथ कालोपत्रका लागि स्तरोन्नति भइरहेको छ ।

तीनवटै सडक एकसाथ कालोपत्र भएमा नगरका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको छ ।

निर्माण व्यवसायीका अनुसार अबको चार महिनामा पूर्वाधारतर्फको काम सकेर कालोपत्रको तयारी गर्ने निर्माण व्यवसायीतर्फका इञ्जिनियर मनोज शर्माले जानकारी दिए । शर्माका अनुसार एक वर्षको ठेक्का सम्झौता रहेको उक्त सडक आगमी असार मसान्तभित्र कालोपत्र सक्नुपर्ने छ ।

‘झण्डै आधा अर्बको ठेक्का एक वर्षमा सक्नुपर्ने निकै चुनौतीपूर्ण काम हो, हामीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिएका छौँ, ६ महिनामै २५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अबको ४ महिनामा पूर्वाधारको काम सक्ने लक्ष्य छ, पूर्वाधार सकिए दुई महिनामा सडक पूरै कालोपत्र गर्न सकिन्छ,’ इञ्जिनियर शर्माले भने, ‘उक्त सडक अहिलेसम्मकै स्तरीय र नमूना हुनेछ, सडक निर्माण अत्यन्तै नमूना भएकाले लागत बढी भएको हो ।’

सडक निर्माणका लागि चाहिने कच्चा सामग्री ढुङ्गा, गिट्टी र बालुवाको आयात बढाएर निर्माणलाई थप तीव्रता दिने निर्माण व्यवसायीकोे भनाइ छ । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तीनवटै सडकको लम्बाइ जम्मा १३ किमी छ ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको अनुदान सहयोगमा नगरपालिकाभित्रका तीन सडक नमूना बनाइने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

नगरपालिका र विश्व बैंकको सम्झौता अनुसार ५८ करोड रुपैयाँ अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्ने उल्लेख गरिएको भए पनि ठेक्का सम्झौतामा जादा ४९ करोड २२ लाख रुपैयाँ पुगेको थियो ।

नगरपालिकाभित्र निर्माण हुने तीन ठूला सडकले विकासको मोडेल पस्कने अपेक्षा गरिएको छ । उक्त सडक प्रविधिमैत्री हुनेछ । उक्त सडकहरू ८ मिटर चौडा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.