२०८१ पुष १९ गते १०:०२ विकासन्युज
इलाम । चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त छन् । ‘पुस लागेपछि कटिङ सुरू भएकामा महिनाभरि यत्तिकै हो । सबै व्यस्त छन् । खेताला पाइँदैन’, अधिकारीले भने, ]यो समयमा काँटछाँट मिलाउँदा अब पलाउने मुना राम्रो भएर आउँछ । पहिलो टिपाइ चैतमा हुन्छ ।’
चिया रोपण, मलजल, सिँचाइ र छाँटकाँटमा ध्यान पुर्याउन सक्दा उत्पादन वृद्धि हुने किसान बताउँछन् । ‘चियाको गुणस्तर सुधार गर्न रोपणबाट टिपानसम्म नै किसानले ध्यान दिनुपर्छ ।’ सूर्योदय–७ गोगनेका गणेश भट्टराईले भने, ‘कटिङ बिग्रियो भने चियाको उत्पादन घट्छ । गुणस्तर सुधार गर्न पनि कटिङमा सचेत हुनुपर्छ ।’
चिया कटिङ प्राविधिक ज्ञान र सीप भएकाले मात्र गर्नुपर्छ । सीप भएकालाई रोजगारीको राम्रो अवसर पनि छ । गत वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा इलामका किसानले चिया कटाइसम्बन्धी तालिम प्राप्त गरेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए । उनका अनसार उक्त तालिमले केही दक्ष जनशक्ति तयार भएको छ ।
चियाको काँटछाँट र टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या भएपछि सूर्योदय नगरपालिकाले यहाँ प्राङ्गारिक चिया उत्पादनको अभियान नै चलाइरहेको छ । छ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयले उत्पादन गुणस्तरीय बनाएर विश्वबजारमा निर्यात वृद्धि गर्न किसानलाई प्रोत्साहनका कार्यक्रम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताए ।
चियाको टिपाइ सुधार गर्न नगरपालिकाले यस वर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरेको छ । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सयवटा चिया टिप्ने हातेमेसिन वितरण गरिएको छ,’ उनले भने, ‘चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एण्ड रिसर्चिङ सेन्टर’ पनि भर्खरै सञ्चालनमा आएको छ ।’
‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ नारा नै रहेको छ । विसं २०७५ साउन १ गते नै निषेधित विषादीमुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताए । ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिकउन्मुख अभियान चलाइरहेका छौँ’, उनले भने ।
नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । ‘उत्पादन नै विषादीयुक्त हुँदा चियाखेतीको बजार छैन । किसान व्यावसायिक बन्न सक्दैनन् । विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरका बारेमा हामी संवेदनशील बन्नुपर्छ’, नगरप्रमुख राईले भने ।
अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । ‘असी प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रू एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ’, किसान छविलाल पौडेलले भने ।
नेपाली चियाको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ प्रवर्द्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईँले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताए । नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ ।
सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।
नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान छन् । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालक बताउँछन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्म रू दुई अर्ब ७० करोड ३९ लाख ३६ हजारको चिया निर्यात भएको झापास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क छ । यो समयमा एक करोड २७ हजार २१९ किलो चिया निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ को सोही समय अर्थात् साउनदेखि मङ्सिरसम्म रू एक अर्ब ६४ करोड ७५ लाख ७३ हजारको मात्र चिया निर्यात भएको थियो । सो समयमा ६९ लाख ४० हजार छ सय ६० किलो चिया निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.