२०८१ पुष २० गते १८:२७ विकासन्युज
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको २५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार ६८६ जना र विद्यालय बाहिर रहेका २४९ गरी कूल १५ हजार ९३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत ३ हजार ८६६, कक्षा ७ मा ३ हजार ३३, कक्षा ८ मा ३ हजार एक, कक्षा ९ का २ हजार ९८७ र कक्षा १० का २ हजार ७९९ जना गरी विद्यालय तहमा १५ हजार ६८६ जनालाई खोप लगाइने छ ।
यस्तै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताए । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।
स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.