बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, एडिबी र विश्व बैंकबाट ऋण लिने तयारी

  २०८१ पुष २१ गते ७:४७     विकासन्युज

काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ,’ उनले भने ।

प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउँछन् ।

‘सडकखण्ड पुनर्निर्माण गर्न गएिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ,’ उनले भने ।

राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।

उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गर्नुभएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ । यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ ।

पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताए ।

‘हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गथ्र्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ,’ उनले भने । उनका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ ।

बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ । राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड रुपैयाँ लागत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.