दानाखोला हाइड्रोमा ६ बैंकको ७.४७ अर्ब लगानी, ऋण दिलाएर सर्वसाधारणलाई सेयर दिने

  २०८१ पुष २१ गते ९:३९     विकासन्युज

काठमाडौं । मनाङको नासौं गाउँपालिकामा रहेको डोना खोला (टोपोमा दाना खोला)मा दानाखोला जलविद्युत आयोजना निर्माण गरिने भएको छ । लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।

९ अर्ब ९६ करोड रुपैयाँ लागतमा आयोजना बन्ने लालुपाते हाइड्रोका कार्यकारी अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए । उनका अनुसार विभिन्न बैंकबाट ७ अर्ब ४७ करोड रुपैयाँ (७५ प्रतिशत) र प्रवद्र्धकहरूबाट २ अर्ब ४९ करोड रुपैयाँ (२५ प्रतिशत) रकम व्यबस्थापन गरिनेछ ।

प्रवद्र्धकको पुँजीमध्ये १० प्रतिशत अर्थात् २४.९ करोड रुपैयाँ स्थानीय र २० प्रतिशत अर्थात् ४९.८ करोड रुपैयाँ सर्वसाधारणलाई सेयर जारी गरी ७४.७ करोड रुपैयाँ संकलन गरिनेछ । कम्पनीका अनुसार बाँकी १ अर्ब ७४ करोड रुपैयाँमध्ये हालसम्म १ अर्ब रुपैयाँ संकलन गरी ८३ करोड खर्च भइसकेको छ । उक्त आयोजनामा प्राविधिक जनशक्ति र व्यापारीक घरानाको समेत लगानी रहनेछ ।

स्वपुँजीको प्रवद्र्धकहरूले लगानी गर्ने खुद रकम १ अर्ब ७४ करोडरुपैयाँमा हालसम्म भएको लगानी घटाएर ७४.३ करोड रुपैयाँ चार जना संचालक समूहबाट लगानी संकलन गरि राखीएको छ । र थप लगानी पनि सोही अनुसार गरिने बताइएको छ ।

सानिमा बंैकको नेतृत्वमा बैंकबाट लिइने ७ अर्ब ४७ करोड ऋण लिइनेछ । जसमा सानिमा बंैकले १ अर्ब ९७ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन बैंकले १ अर्ब रुपैयाँ, राष्टिय वणिज्य बैकले १ अर्ब रुपैयाँ, कृषि विकास बैकले १ अर्ब रुपैयाँ, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले १ अर्ब रुपैयाँ र नेपाल एसबीआई बैकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ ।

एचआइडिसिएल र नेपाल एसबीआई बैकले शशर्त हस्ताक्षर गरेकोले जसले अगाडि निर्णय गर्छ उसैबाट ऋण लिइने अध्यक्ष डाँगीको भनाइ छ । आयोजनाको व्यापारिक उत्पादन प्राकृतिक विपत्ती नआएमा २०८४ कार्तिक २ गते रहेको छ ।

उक्त आयोजना नासौं गाउँपालिकाको वडा नं. २, ३ र ५ मा बन्नेछ । जसमा वडा नं. २ को नाँचै गाउँ मुख्य प्रभावित क्षेत्र हो । शतप्रतिशत गुरुङ्ग रहेको उक्त वडामा ४२ घरधुरी रहेका छन । स्थानीय बासिन्दाको अपेक्षा सेयर लगानी र रोजगारी रहेको अध्यक्ष डाँगीले बताए ।

‘कम्पनीले ४२ घरधुरीलाई बैंकबाट ऋण दिलाएर भएपनि सेयर लगानी गराउने र सकेसम्म तालिम गराएर भएपनि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनेछ । प्रतिवद्धता वातावरणीय अध्यन प्रतिवेदन स्वीकृत हुनुपूर्व आयोजित सार्वजनिक सुनुवाई गरेको छ । सोही बमोजिम सहभागी गराउँदै आइएको छ,’ उनले भने, ‘कम्पनीको स्पष्ट नीतिका कारण स्थानीय सर्वसाधारण र जनप्रतिनिधिहरूको सहयोग राम्रो छ ।’

दाना खोला जलविद्युत आयोजनाको बाँध स्थल समुद्री सतहबाट २ हजार ८२१.५ मिटरको उचाइमा रहनेछ । सो बाँध लगत्तै २ वटा इन्टेक हुँदै दाना खोलाको पानी भूमिगत डिसेन्डरमा प्रवेश गर्नेछ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस सुरुङ्ग हुदै पानी १.६ किलोमिटर पेन्स्टक सुरुङ्गमा प्रवेश गर्नेछ । हेडरेस र पेन्स्टकको बीच २४० मिटर लम्बाईको सर्ज सुरुङ्ग रहने छ । पेन्स्टक पश्चात भूमिगत विद्युतगृह र भुमिगत स्वीचर्याड रहने बताइएको छ । विद्युतगृह समुन्द्री सतहबाट १ हजार ८२५ मिटरमा रहेको छ । जसमा ३ वटा पेल्टन टर्वाइन रहने छन र पानी ४१५ मिटर टेलरेस सुरुङ्ग हुँदै मस्र्याग्दी खोलामा छोडिनेछ । यो आयोजना शतप्रतिशत भुमिगत हुनेछ ।

अध्यक्ष डाँगीका अनुसार आयोजनास्थलमा विद्युत गृहको क्याम्प, आर्मी क्याम्प निर्माण सम्पन्न भएका छन । पहुँचमार्ग निर्माण द्रुतगतिमा भइ रहेको छ । आयोजनाका लागी आवश्यक नीजी जग्गा खरिद गरिएको छ । प्राराम्भिक वाताबरणीय परीक्षण अनुसार आयोजनालाई आवश्यक पर्ने ४.८ हेक्टर जग्गा मन्त्रिपरिषदमा जाने प्रकृयामा रहेको छ । नेपालको प्राकृतिक जल सम्पदालाई भरपूर उपयोग गर्न क्यु सिस्टम खुल्ला गर्नुपर्ने अध्यक्ष डाँगीले माग गरे । उक्त आयोजना क्यु ४३.७ अनुसार डिजाइन गरिएको र क्यु ३४.११ अनुसार डिजाइन गर्दा आयोजनाको क्षमता ८३.३ मेगावाट हुने उनको भनाइ छ ।

नेपाल सरकार र भारत सरकारले नितिगत व्यबस्था गरी बीटुबी ब्यापार गर्न सक्ने वातावरण बनाएमा वर्षायाममा ४÷५ महिना ८३.३ मेगावाट उत्पादन गरी १११.९०२ गिगावाट विद्युत भारत निर्यात गर्ने गरी भारतीय कम्पनी मणीकरण पावरसँग ःसम्झौता गरिएको उनले बताए । क्षमता वृद्धि गरी उत्पादन गर्न आयोजनामा थप १ अर्ब ३० करोड रुपैयाँ लाग्ने उनले जनाए । वर्षायाममा भारतीय रूपैया सरदर ४.५० रुपैयाँमा बिक्री गरी वार्षिक थप लगभग ७० करोड रुपैयाँ आय हुनेछ ।

नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता अनुसार हिउँदयाममा ३०.७० प्रतिशत र वर्षायाममा ६९.३० प्रतिशत विक्री गरी पहिलो वर्ष १ अर्ब ७७ करोड रुपैयाँ र ८ वर्ष ३ प्रतिशतका दरले वृद्धि गरी ९ वर्षमा २ अर्ब २० करोड रुपैयाँ प्राप्त हुने अध्यक्ष डाँगीले दाबी गरे । समग्रमा आयोजना लागत ११ अर्ब २६ करोड रुपैयाँ र वार्षिक आय ९ वर्षदेखि ३ अर्ब रुपैयाँ हुनेछ भने मेगावाटको हिसाबले प्रति मेगावाट लागत १३.५ करोड हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.