२०८१ पुष २१ गते १५:२५ बबिता तामाङ
काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरबासीलगायत ललितपुरका विभिन्न वडाहरू हुँदै यात्रा गर्नेहरूलाई छिटो र सहजतालाई मध्यनजर गरी मोटरेबल पुल निर्माण कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाइरहेको छ ।
महानगरले आफ्नै बजेटमा र केही वडाहरूसँग सहकार्य गरेर साना तथा ठूला मोटरेबल र आकाशे पुल निर्माण आयोजनालाई अगाडि बढाउँदै आएको हो ।
महानगरले आगामी १० वर्षसम्मलाई पुग्नेगरी पुल निर्माण कार्यलाई अगाडि बढाएको जनाएको छ । महानगरका अनुसार यही चालु आर्थिक वर्षमा दुई मोटरेबल पुल सञ्चालनमा आइसकेको छ ।
ललितपुर वडा नम्बर २२ बुंगमतीदेखि वडा नम्बर २७ सुनाकोठीलाई जोड्ने आरसीसी पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको हो । यो पुल निर्माणको जिम्मा जय बुद्ध निर्माण सेवा प्रालिले पाएको थियो । निर्माण कम्पनीले ५ करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने पुल पनि निर्माण सम्पन्न भइसकेको छ । यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको हो ।
निर्माणाधीन अवस्थामा रहेका पुल
महानगरपालिकाले महानगरकै दक्षिणतर्फको भेगलाई रिङरोडसँग सजिलै जोड्ने उद्देश्यका साथ मोटरेबल पुल निर्माण आयोजनालाई अघि सारेको जनाएको छ । अहिले पनि हरिसिद्धिबाट धापाखेल जानु पर्यो भने सातदोबाटो आएर फर्किनुपर्छ ।
त्यसरी घुमेर यात्रा गर्नुभन्दा सिधै यात्रा गर्नका लागि महानगरले हरिसिद्धिको इट्टा टायलबाट कान्तिपुर इन्जिनियरिङ कलेज हुँदै वडा न २३, २४ जोडिनेगरी पुल बनाउने योजना बनाएको महानगरका पूर्वाधार विभागका प्रमुख एवं आयोजना व्यवस्थापक (सीडीई) प्रदिप पौडेलले बताए ।
यसका लागि महानगरपालिकाले टेन्डर आह्वान गरिसकेको छ । टेन्डर यही पुस २१ गते खुल्दैछ ।
ललितपुर वडा नं. १४ स्थित नख्खुखोलामा आरसीसी पुल बन्दैछ । यहाँ निर्माण हुन लागेको पुलले वडा नं १४ र २५ लाई जोड्ने छ । साविकका गाविसहरूलाई चक्रपथसँग जोड्नका लागि पुल निर्माण हुन लागेको सीडीई पौडेलले बताए । यो निर्माणले वडा १३, २४, १८,२६ २७ का बासिन्दालाई सहज हुने महानगरले जनाएको छ ।
यो पुल निर्माणको लागि नियाग्रा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीले महानगरसँग चार करोड दुई लाख ६८ हजार ७२८ रुपैयाँमा सम्झौता गरेको छ । सम्झौता २०८० भदौमा भएको थियो । हाल त्यहाँ निर्माणको काम पनि सुरु भइसकेको छ ।
यो पुल आगमी २०८१ फागुन २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ । सम्झौता अवधिमै काम सक्नेगरी द्रूत रूपमा काम भइरहेको निर्माण पक्षले जनाएको छ । सीडीई पौडेलका अनुसार धापाखेलबाट सुनाकोठी जोड्ने कल्भर्ट निर्माणाधीन अवस्थामा छ । यो पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले ठेक्का पाएको छ ।
महागनरपालिकासँग पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले असार १८ गते सम्झौता गरेको थियो । यो पुल २०८२ असार १७ गते सम्पन्न गरिसक्नुपर्ने छ । बीचमा असोजमा आएको बाढी र स्थानीयको अवरोधको कारण काम रोकिएपनि हाल निर्माण कार्य सञ्चालन भइरहेको निर्माण पक्षले जनाएको छ ।
कहाँ-कहाँ बन्दैछन् अपांगमैत्री आकाशे पुल ?
ललितपुर महानगरले अपांगता भएका नागरिकलाई मध्यनजर गरी अपांगतामैत्री आकाशे पुल निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेकाे छ । महानगरले शारीरिक रूपमा अशक्त, बालबालिका र जेष्ठ नागरिक सबैलाई सहज होस् भन्ने हिसाबले अपांगतामैत्री पुल निर्माणलाई प्राथमिकतामा राखेको छ ।
काठमाडौंका सडकहरूमा आकाशे पुल प्रशस्तै भएपनि अपांगमैत्री पुल नबनको अवस्थामा महानगरले नयाँ अभ्यासको थालनी गरेको जनाइएको छ । सीडीई पौडेल लिफ्टसहितको आकाशे पुल नेपालमा पहिलो पटक बन्न लागेको बताउँछन् । पौडेलका अनुसार हाल ललितपुरको कुसुन्तीमा त्यस खालको आकाशे पुल निर्माण भइरहेको छ । उनका अनुसार पुल निर्माणको कार्य लगभग ७५ प्रतिशत सम्पन्न भइसकेको छ । ‘अब पुल निर्माणको २५ प्रतिशतमात्रै काम बाँकी छ । अब केही ट्रष्ट राख्ने काम बाँकी छ । त्यसमा लिप्टसहितको राख्नेछौं,’ उनले भने ।
उक्त स्थानको पुल निर्माणको लागि लामा प्रगति-मनि बुद्ध जेभीले चार करोड ६८ लाखमा सम्झौता गरेको छ ।
अर्को साइकलसहितको आकाशे पुल धोबीघाटमा निर्माण गर्ने महानगरको योजना छ । रिङरोडमा यस्तो खालको पुल बनाउँदा सडक विभागसँग अनुमति लिनुपर्ने भएका कारण त्यसको सहमतिको लागि सडक विभागलाई पत्र पठाइसकेको पनि सीडीई पौडेलले बताए।
उनका अनुसार पाटन अस्पताल अगाडि पनि लिफ्टसहितको अपांगमैत्री आकाशे पुल बनाउने महानगरको योजना रहेको छ । त्यसका लागि विभिन्न सरोकारवालासँग छलफल पनि सम्पन्न भइसकेको छ । महानगरले उक्त ठाउँमा पुल निर्माणको लागि सञ्चय कोष, मानसिक अस्पताल र पाटन अस्पातल र सडक विभाग चार वटा निकायसँग छलफल गरिसकेको पौडेलले जानकारी दिए । ती निकायहरूसँगको छलफल सकारत्मक भएको पौडेलले सुनाए ।
पौडेलका अनुसार पब्लिकलाई समस्या नहुनेगरी पुल निर्माण भइरहेको छ । महानगरले व्यस्त सडकमाभन्दा मान्छेको चहलपहल कम भएको क्षेत्रमा पुल निर्माणलाई प्राथाामिकतामा राखेको छ ।
सीडीई पौडेलले भने, ‘हातीवनमा पुल बनाउने सन्दर्भमा हामीले सडक विभागसँग पनि अनुमति मागेका थियौं, विभागले आफै बनाउँछु भनेपछि त्यहाँ महानगरले पुल निर्माणलाई अगाडि बढाएको छैन । त्यसबाहेक हामीले पुल बनाउँदा अति आवश्यक र मान्छेको चहलपहल अलि कम भएको ठाउँलाई बढी प्राथमिकतामा राखेका छौं ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.