२०८१ पुष २१ गते १२:२७ विकासन्युज
काठमाडौं । सिमेन्ट उद्योगहरू लामो समयदेखि समस्यामा रहेको गुनासो गर्दै आएका छन् । विगतमा राम्रो व्यापार गरेर आम्दानी पनि सन्तोषजनक रूपमा गर्दै आएका सिमेन्ट उद्योगहरू पछिल्लो समय खर्च पनि उठाउन नसक्ने अवस्थामा पुगेका हुन् ।
अहिले अधिकांश सिमेन्ट उद्योगहरू घाटामा सञ्चालन भइरहेका छन् । धनुषामा कारखाना रहेको कसमस सिमेन्टले चालु आर्थिक वर्षको पाँच महिनामा २६ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।
विगतमा राम्रो आम्दानी गर्दै आएको कसमस सिमेन्टको व्यापारले पनि अहिले समग्र सिमेन्ट उद्योग समस्यामा रहेको बुझ्न सकिन्छ । यसअघि विकासन्यूजले तयार पारेको ‘६० अर्बको सिमेन्ट व्यापार ३० अर्बमा झर्यो’ शीर्षकको समाचारमा पनि सिमेन्ट उद्योगको व्यापार घटेको उल्लेख थियो । अहिले कसमस सिमेन्टको व्यापारले पनि त्यसलाई थप प्रमाणित गरेको छ ।
पाँच वर्षको अवधिमा कसमस सिमेन्ट उद्योगको सञ्चालन आम्दानी ८३ प्रतिशतले घटेको छ । यसअघि अर्थात् २०२३ मा उद्योगले ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख, सन् २०२१ मा १ अर्ब ३८ करोड र सन् २०२० मा १ अर्ब २९ करोड ५० लाख र सन् १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
१ लाख ६५ हजार मेट्रिक टन क्लिन्कर र ४ लाख २९ हजार मेट्रिक टन ग्रान्डिङ उत्पादन गर्ने क्षमता भएको यो सिमेन्ट उद्योगको सात जना सेयरधनी छन् । यस उद्योगको अध्यक्ष प्रदीपजंग पाण्डे हुन् भने सञ्चालकका रूपमा ध्रुव थापा, हर्षमान श्रेष्ठ र प्रवलजङ पाण्डेले काम गरिरहेका छन् ।
यस उद्योगले ताज सिमेन्ट र कसमस ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगले डेढ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । कसमस सिमेन्टमा आन्तरिक विवाद तथा क्लिन्करको विषयले पनि ठूला व्यापार गुमाउनु परेको बुझिएको छ । अधिकांश सिमेन्ट उद्योगलाई अहिले सकस परिरहेको बेला कसमसलाई पनि त्यो समस्या देखिएको हो ।
कसमसले पछिल्लो समय सरकारको न्यून पुँजीगत खर्च र आर्थिक मन्दीसँगै बढ्दो प्रतिस्पर्धाले सिमेन्ट बिक्री घट्दा व्यापार पनि कम भएको बताएको छ । यस उद्योगले बजारमा आफ्नो प्रभावकारी विस्तार गर्न नसक्दा पनि व्यापार घटेको बुझिएको छ ।
कम्पनीलाई तरलता व्यवस्थानमा ठूलो चुनौती देखिन सक्ने रेटिङ एजेन्सी इक्रा नेपालको विश्लेषण छ । नेपालमा अहिले करिब साढे पाँच दर्जन उद्योगहरू सञ्चालनमा रहेका छन् । ती उद्योगलाई अहिले बैंकको ब्याज तिर्न पनि सकस परेको बुझिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.