३५ हजार फिटको उचाइमा हवाइजहाजको वाईफाईले कसरी गर्छ काम ?

  २०८१ पुष २१ गते १५:०९     विकासन्युज

 

काठमाडौं । संसारभरका विभिन्न एयरलाइन्सले ३५ हजार फिटको उचाइमा यात्रुलाई वाईफाई सुविधा उपलब्ध गराउँदै आएका छन् ।

प्रश्न छ- हवाईजहाज ३५ वा ४० हजार फिटको उचाइमा उडिरहेको छ भने यस्तो उचाइमा वाईफाई कसरी काम गर्छ त ? यसको लागि संकेत कहाँ र कसरी आउँछ ?

अर्को प्रश्न- एयरलाइन्सले फोन स्वीच अफ गर्दा वा फ्लाइट मोडमा टेक अफ गर्नुअघि नै किन वाईफाई सुविधा दिइरहेका छन् ?  यस बारेमा यहाँ संक्षिप्त वर्णन गर्ने प्रयास गर्नेछाैं ।

हवाइजहाजमा प्रयोग हुने इन्टरनेट दुई प्रकारको प्रविधिमा आधारित हुन्छ ।

ग्राउन्ड सिस्टम

उडानमा जडान गरिएको एन्टेनाले जमिनको नजिकैको टावरबाट सिग्नल लिन्छ । यी संकेतहरू जमिनमा टावर नभएको क्षेत्रमा विमान नगएसम्म जारी रहन्छन् । यस प्रविधिमा जमिनमा जडान गरिएका टावरहरूले सिग्नललाई माथितिर प्रक्षेपण गर्छन् । यसमा हवाइजहाजको तल अनबोर्ड एन्टेना जडान गरिएको हुन्छ ।

स्याटेलाइट सिस्टम

नामले नै यस प्रविधिमा वाईफाई सिग्नल स्याटेलाइट (उपग्रह) मार्फत आउने बताउँछ । यस प्रविधिमा भू-स्थलबाट उपग्रहमार्फत विमानमा इन्टरनेट पठाइन्छ । यसमा अनबोर्ड एन्टेना हवाइजहाज माथि लगाइएकाे हुन्छ । आज यो प्रविधि विमानहरूमा वाईफाईको लागि व्यापक रूपमा प्रयोग भइरहेको छ । एलन मस्कको कम्पनी स्टारलिंकले यो प्रविधिमा इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

यसरी पाउँछन् यात्रुले सिग्नल

ग्राउन्ड वा स्याटेलाइट प्रणालीबाट इन्टरनेट सिग्नलहरू विमानमा राखिएका एन्टेनाहरूमार्फत अनबोर्ड राउटरमा पठाइन्छ । यो राउटरमार्फत जहाजमा बसेका यात्रुले आफ्नो फोन, ल्यापटप आदिमा वाईफाई जडान गर्न सक्छन् ।

टेक अफपछि विमान निश्चित उचाइ (लगभग १० हजार फिट) पुगेपछि मात्रै वाईफाई सुविधा प्रयोग गर्न सकिन्छ । उडानमा वाईफाईमार्फत इन्टरनेटको गति जमिनमा उपलब्ध गतिभन्दा धेरै सुस्त हुन्छ ।

मोबाइल डाटा किन प्रयोग गर्न हुँदैन ?

विमानमा मोबाइल डाटा प्रयोगमा रोक लगाइएको छ । यति मात्र होइन, टेक अफ गरेपछि कसैलाई पनि फोन गर्न मिल्दैन । वास्तवमा मोबाइल डाटाले उडान विमानहरूमा धेरै समस्याहरू सिर्जना गर्दछ ।

केही अनुसन्धानले यो विमानको नेभिगेसन प्रणाली, राडार आदिमा समस्या निम्त्याउन सक्ने देखाएको छ । पाइलटको हेडसेटमा पनि समस्या हुन सक्छ र उसले राम्रोसँग सञ्चार गर्न नसक्ने हुन सक्छ, जसका कारण दुर्घटना हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.