टाटा ग्रुपमा ठूलो परिवर्तन, ऋण र दायित्व व्यवस्थापनमा कम्पनीहरु नै जिम्मेवार

  २०८१ पुष २२ गते १२:११     विकासन्युज

 

काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा ग्रुपको होल्डिङ कम्पनी टाटा सन्सले नयाँ वर्षमा ठूलो निर्णय गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार टाटा सन्सले समूहका कम्पनीहरू विशेष गरी टाटा डिजिटल, टाटा इलेक्ट्रोनिक्स र एयर इन्डिया जस्ता नयाँ कम्पनीहरूलाई उनीहरूको ऋण र दायित्वहरू स्वतन्त्र रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

यससँगै टाटा सन्समा बैंकहरूलाई ‘लेटर अफ कम्फर्ट’ र ‘क्रस डिफल्ट क्लज’ दिने चलन बन्द भएको छ । टाटा सन्सले बैंकहरूलाई आफ्नो नयाँ दृष्टिकोणको बारेमा जानकारी गराएको र भविष्यमा इक्विटी लगानी र आन्तरिक स्रोतबाट नयाँ उद्यममा पुँजी छुट्याउने बताएको छ ।

टाटा सन्सले गत वर्ष रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)सँग आफ्नो दर्ता प्रमाणपत्र स्वेच्छाले आत्मसमर्पण गरेको थियो । यसअघि सूचीविहीन रहनका लागि २० हजार करोडभन्दा बढीको ऋण चुक्ता गरेको थियो ।

नयाँ व्यवसायका लागि फन्डिङ लाभांश र टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) बाट लिइनेछ । टीसीएस मार्केट क्यापको आधारमा टाटा समूहको सबैभन्दा ठूलो कम्पनी हो र देशको दोस्रो ठूलो कम्पनी हो ।

टाटा सन्सले बैंकहरूलाई प्रत्येक श्रेणीमा सूचीकृत अग्रणी कम्पनीले मात्र होल्डिङ संस्थाको रूपमा काम गर्ने बताएको छ ।

कस-कसले आफै ऋण व्यवस्थापन गर्ने ?

स्रोतहरूले परम्परागत रूपमा टाटा स्टिल, टाटा मोटर्स, टाटा पावर र टाटा कन्ज्युमर जस्ता पुराना सूचीबद्ध समूहका कम्पनीहरूले आफ्नो ऋण आफै व्यवस्थापन गर्ने बताएकाे छ । तसर्थ टाटा सन्सको अडानमा भएको परिवर्तनले उनीहरूमा खासै प्रभाव पार्ने सम्भावना छैन ।

यद्यपि वर्षौंदेखि टाटा सन्सले सुरु गरेका व्यवसायहरू पुँजी बाँडफाँडका लागि होल्डिङ कम्पनीमा निर्भर रहँदै आएका छन् । स्रोतका अनुसार एक पटक महत्त्वपूर्ण स्तरमा पुगेपछि यी कम्पनीहरूले आफ्नो पूँजी आवश्यकताहरू पनि आफै व्यवस्थापन गर्नेछन् ।

टाटा सन्सले यी कम्पनीहरूलाई केही वर्षभित्रै आफ्नो शीर्ष व्यवसायमा सहभागी गराउनेगरी महत्त्वपूर्ण रकम ल्याएको छ । तर, टाटाका सञ्चालक कम्पनीहरूलाई कर्जा दिन बैंकहरूलाई कुनै समस्या छैन । यसको कारण यी कम्पनीहरूमा टाटा सन्सको महत्त्वपूर्ण हिस्सेदारी रहेको छ ।

बैंकर्सहरूले होल्डिङ कम्पनीको वित्तीय स्थिरता र यसको सहायक कम्पनीहरूमा ठूलो इक्विटी सेयरले स्पष्ट ग्यारेन्टी बिना पनि बैंकहरूलाई आश्वासन दिने बताएका छन् । यही कारणले गर्दा अधिकांश ठूला बैंकहरूले टाटा कम्पनीहरूलाई सबैभन्दा बढी कर्जा दिने गरेका छन् ।

आर्थिक स्थितिमा परिवर्तन

सेप्टेम्बर २०२२ मा आरबीआईले टाटा सन्सलाई माथिल्लो तहको एनबीएफसीको रूपमा वर्गीकृत गरेकाे थियाे । यस श्रेणीमा परेका कम्पनीहरूले तीन वर्षभित्र सूचीकृत हुन आवश्यक छ । टाटा सन्सले यसबाट छुट मागेको छ ।

मार्च २०२३ र मार्च २०२४ बीच टाटा सन्सको वित्तीय स्थितिमा ठूलो परिवर्तन भएको थियाे । कम्पनीको २० हजार ६४२ करोड रुपैयाँ ऋण थियो र अहिले २ हजार ६७० करोड रुपैयाँ नगद छ । मार्च २०२४ मा टाटा सन्सले टीसीएसमा २३.४ मिलियन सेयर बेचेर करिब ९ हजार ३०० करोड रुपैयाँ उठायाे । यो मुख्यतया ऋण तिर्न प्रयोग भएको स्रोतले बताएको छ । (एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.