२०८१ पुष २२ गते १२:४४ विकासन्युज
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ठूलो सेयरधनी प्रभु बैंक बाहिरिएको छ । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत बिहीबार प्रभु महालक्ष्मीको २४ लाख १५ हजार ६ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४६ करोड १७ लाख ४२ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त सेयर प्रतिकित्ता १९१ रुपैयाँदेखि १९१.९५ रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ ।
कम्पनीको सेयर ब्रोकर नम्बर ५९ (दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस)बाट बिक्री भएको छ । साथै, ब्रोकर नम्बर ३८ (दिपशिखा धितोपत्र कारोबार कम्पनी) ब्रोकर नम्बर ७७ (नबिल स्टक डिलर), ब्रोकर नम्बर १४ (नेपाल स्टक हाउस) र ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटिज)बाट खरिद भएको हो ।
कम्पनी स्रोतका अनुसार प्रभु महालक्ष्मी लाइफको सो सेयर प्रभु बैंकले बिक्री गरेर प्रभु क्यापिटलसहित ९ लगानीकर्ताले खरिद गरेका हुन् । क्यापिटलले १०/१२ लाख कित्ता सेयर खरिद गरेको स्रोतको दाबी छ ।
‘हामी पहिला पनि संस्थापक सेयरधनी हौं, उक्त सेयर ९ जनाले खरिद गर्नु भएको छ, साविककै संस्थापक संस्थापकभन्दा सेयर बाहिर गएको छैन, हाल कायम संस्थापक सेयरधनीले नै उक्त सेयर खरिद गर्नु भएको हो,’ स्रोतले भन्यो ।
बैंकले उक्त सेयर गत भदौमा बिक्रीमा राखेको थियो । बैंकले २१ लाख ९६ हजार कित्ता सेयर प्रतिकित्ता २०३ रुपैयाँमा बिक्रीमा राखेको थियो ।
खरिदकर्ताले कम्पनीले वितरण गर्ने बोनस सेयरसमेत प्राप्त गर्ने उल्लेख थियो । सोही अनुसार कम्पनीको सेयर संख्या बढेको र मूल्य १९१ रुपैयाँ हुन आएको स्रोतको भनाइ छ ।
‘बैंक र क्यापिटल एउटै हो, कम्पनीको सेयर राम्रो होला भनेर खरिद गर्न खोजिएको हो, दीर्घकालका लागि सेयर खरिद गरेको हो । क्यापिटलका लागि उक्त सेयर राम्रो नै छ,’ प्रभु क्यापिटल स्रोतले भन्यो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.