२०८१ पुष २३ गते ११:२५ लक्ष्मण लम्साल
काठमाडौं । मानिसहरूले कुनै पनि भैपरि आउने दुर्घटनाबाट हुने धनको क्षतिको सुरक्षानका लागि बीमा गरेका हुन्छन् । मानिसहरूले विपदबाट हुने क्षतिबाट बच्न आफ्नो घर, भवन, सवारीसाधन, स्टक सामग्रीहरूलगायतको बीमा गर्ने गर्दछन् । कुनै पनि कारणले बीमा गरिएको सम्पत्तिमा क्षति पुगे त्यसका लागि अध्ययन गर्न बीमा कम्पनीहरूले सर्भेयरलाई खटाउँछन् । बीमा कम्पनीले सर्भेयरलाई उक्त क्षतिको मूल्याङ्कन गर्न खटाउने गर्छन् ।
सर्भेयरले गरेको मूल्याङ्कनका आधारमा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन्छन् । सर्भेयरले सर्भे गर्न घटनाको प्रकृतिअनुसार समय लगाउने गर्दछन् । सामान्य एउटा मोटरसाइकल आगलागी भएको सर्भे गर्दा ४/५ दिनमा नै उनीहरूले सर्भे गरिसक्छन् भने कुनै १० अर्बको हाइड्रोपावरमा बाढी पसेर क्षति भयो भने त्यसका लागि महिनौंमम समय लाग्छ ।
सर्भेयरले यसरी ससानादेखि ठूल्लठूला क्षतिको मूल्याङ्कन गरेवापत बीमा कम्पनीहरूले उनीहरूलाई निश्चित शुल्क (सर्भेयर्स फी) भुक्तानी गर्ने गर्दछन् । सर्भेयरहरूले सर्भे रिपोर्टमा उल्लेख भएको आधारमा बीमा कम्पनीले बीमितलाई दाबी भुक्तानी दिने गर्छन् । र सोही रकमको आधारमा सर्भे शुल्क लिने गर्दछन् । यसर्थ कुनैपनि बीमा कम्पनीले एक वर्षमा सर्भेयर्स फीवापत ठूलो रकम खर्च गरेको हुन्छ ।
तर, त्यसरी भुक्तानी गरेको रकम कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा उल्लेख भने गरेका हुँदैनन् । जीवन बीमा कम्पनीहरूले बीमा अभिकर्तालाई दिएको कमिसन स्पष्टरूपमा विवरणमा उल्लेख गरेपनि निर्जीवन कम्पनीहरूले भने सर्भेयरलाई भुक्तानी गरेको रकम उल्लेख नै गर्दैनन् ।
कम्पनीहरूले उक्त रकम दाबी भुक्तानीमा समावेश गरेर विवरण सार्वजनिक गर्ने गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले सर्भेयर फी कम्पनीहरूले दाबी भुक्तानी शीर्षकमा नै समावेश गरेर सार्वजनिक गर्ने गरेको बताए । तर, यसले गर्दा बीमितले पाएको र कम्पनीले भुक्तानी गरेको रकममा ठूलो भिन्नता आउने गर्दछ ।
मानौं कुनै एउटा घरको आगलागीवापत बीमा कम्पनीले १ करोड क्षति दिने निधो गर्यो । त्यसमा ५ लाख रुपैयाँ सर्भेयर फी पनि सो रकममा जोड्दा दाबी भुक्तानी १ करोड ५ लाख रुपैयाँ हुने भयो । बीमितले १ करोड रुपैयाँ पाँउछ तर कम्पनीले १ करोड ५ लाख रुपैयाँ दिएको देखिन्छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका वाग्लेले बीमितलाई दाबी भुक्तानी दिलाउने प्रक्रियाअन्तर्गतकै कार्यभित्र सर्भे पर्ने भएकाले सर्भे फीलाई दाबी भुक्तानीमा नै समावेश गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको भन्दै विश्वको बजारअनुसार नेपालको पनि बीमा बजार अगाडि बढिरहेकाले नेपालमा पनि सर्भेयरको फी दाबीमा नै समावेश गरिएको पनि स्पष्ट पारे ।
यसका साथै उपनिर्देशक वाग्लेले विश्वमा एउटै फर्म्याटकाे लेखामान होस् भन्ने मान्यता रहेकाले र एनएफआरएसमा पनि सोहीअनुसार सर्भेयर फीका लागि छुट्टै शीर्षक सृजना नगरिएको जनाए ।
उनका अनुसार बीमा कम्पनीहरूले दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीहरूसँग विवरण पेश गर्ने गर्दछन् । यसरी विवरण पेश गर्दा उनीहरूले सर्भेयर फीलाई पनि दाबी शीर्षक नै उल्लेख गरेर पेश गर्दछन् । र सोहीअनुसार पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानीवापतको रकम भुक्तान गर्दछ ।
यस सन्दर्भमा यदि सर्भेयर फीलाई दाबी शीर्षकमा नराख्ने हो भने सर्भेयर फीवापतको रकम पुनर्बीमा कम्पनीसँग दाबी गर्न पाइँदैन । यसले गर्दा पनि सर्भेयर फीलाई दाबी शीर्षकमा नै राखिएको हुनसक्ने उनको अनुमान छ ।
उनले भने, ‘यसमा पहिलादेखि नै त्यस्तै व्यवस्था छ । सोही व्यवस्थाअनुसार हामीले काम गरेका छौं ।’
यदि सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा देखाउँदा केही समस्या आएको खण्डमा त्यसलाई प्राधिकरणले सच्याउन पनि सक्ने उनको भनाइ छ ।
यस्तै, निर्जीवन बीमाका विज्ञ नूरप्रकाश प्रधानले पनि सर्भेयरको फी दाबी भुक्तानी शीर्षकमा उल्लेख गर्नु विश्वव्यापी मान्यता भएको बताए । उनले भने, ‘विश्वका देशहरूमा सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा नै उल्लेख गरेर विवरण सार्वजनिक गर्ने चलन छ । त्यही चलन नेपालमा पनि छ ।’
तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका प्रधानका अनुसार लेखाको सिद्धान्तअनुसार नै दाबी भुक्तानी शीर्षकअन्तर्गत सर्भेयर्स फीलाई समावेश गरिएको हो । एनएफआरएसमा पनि सर्भेयर फी दाबी भुक्तानी शीर्षकमा नै समावेश हुने उनले बताए ।
‘सर्भेयर फी’मा कति हुन्छ खर्च ?
बीमा कम्पनीहरूले बीमितलाई दिएको दाबी भुक्तानीका आधारमा र सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरलाई शुल्क भुक्तान गर्दछन् । मोटर बीमा अन्तर्गत बीमितले पाउने दाबी भुक्तानीका आधारमा सर्भेयरले शुल्क पाउने गर्दछन् भने अन्य पोर्टफोलियोमा सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरको शुल्क भुक्तानी हुन्छ ।
मोटरको हकमा बीमितले ५० हजार रुपैयाँ भुक्तानी पाएको अवस्थामा सर्भेयरले २ हजार ५ सय रुपैयाँ पाउँछ । यसैगरी ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बीमितले पाएको अवस्थामा सर्भेयर शुल्क ५ हजार रुपैयाँ पर्दछ ।
सोही क्रमअनुसार यदि ६० लाख रुपैयाँभन्दा धेरै भुक्तानी भएको खण्डमा ४० हजार रुपैयाँ सर्भेयर शुल्क लाग्छ ।
यसका साथै सर्भेयरले क्षति भएको स्थानमा जाँदा दूरीअनुसार लाग्ने शुल्क, होटलमा बसेको खर्च, फोटोग्राफवापतको खर्च, रिमाेट क्षेत्रमा गएर सर्भे गरेको खर्च आदि शीर्षकमा छुट्टै भत्ता पनि पाउँछन् ।
मोटरबाहेकका पोर्टफोलियोमा ५० हजार रुपैयाँसम्मको क्षति भएको रिपोर्ट आएको खण्डमा सर्भेयरले ७ हजार ५ सय, ५० हजार १ रुपैयाँदेखि १ लाख १ रुपैयाँसम्म दाबी आएको अवस्थामा ९ हजार ७५० रुपैयाँ र ३.९० प्रतिशत सर्भेयरले शुल्क पाउँछन् ।
सोही क्रमअनुसार १ करोड १ रुपैयाँभन्दा धेरै दाबी पेश भएको खण्डमा सर्भेयरले २ लाख ३५ हजार १७० रुपैयाँ र दाबी पेश भएको रकमको ०.६५ प्रतिशत रकम सर्भेयरले शुल्क पाउँछ ।
यसका साथै, होटल खर्च, फिल्ड भिजिट, फोटोग्राफलगायतको भत्ता छँदै छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.